भदौ २८ गते बिहान ६ बजेसम्म निषेधाज्ञा तथा कर्फ्यु
जेनजी आन्दोलनका कारण अस्तव्यस्त भएको राजधानी काठमाडौ उपत्यकाको शान्ति सुरक्षा कायम गर्न नेपाली सेनाले भदौ २८ गते बिहान ६ बजेसम्म निषेधाज्ञा तथा कर्फ्यु घोषणा गरेको छ ।
नेपाली सेनाले बुधबार साँझ एक विज्ञप्ति जारी गरी नागरिकको जनधनको सुरक्षाका लागि यसअघि जारी भएको निषेधाज्ञा तथा कर्फ्यु आदेशलाई निरन्तरता दिनुपरेको बताएको छ ।
विज्ञप्तिमा भनिएको छ, “पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाका लागि जारी भएको निषेधाज्ञा तथा कर्फ्यु आदेशलाई निरन्तरता दिनुपर्ने आवश्यकता देखिएकोले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका जिल्ला सुरक्षा समितिहरूबाट व्यवस्था गरिएको छ ।”
अत्यावश्यक कार्यका लागि भदौ २७ गतेको बिहान ६ देखि ११ बजेसम्म तथा साँझ ५ बजेदेखि ७ बजेसम्म खुल्ला रहने जनाएको छ ।
निषेधाज्ञा तथा कर्फ्युको दौरान समेत अत्यावश्यक सेवाका (एम्बुलेन्स, शवबाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै, खाद्यान्न, ग्यास लगायतको इन्धन, दुध, तरकारी, पानी, सञ्चार प्रदायक कम्पनी र औषधि ओसारपसार गर्ने) सवारी साधनहरू सञ्चालन गर्न सकिने जनाइएको छ ।






प्रतिक्रिया राख्नुहोस्