२०२८ को उत्तराधिकारीबारे ट्रम्प अझै अनिर्णीत, भान्स र रुबियो चर्चामा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२८ को राष्ट्रपतीय निर्वाचनमा उपराष्ट्रपति जेडी भान्सलाई समर्थन गर्ने वा नगर्ने विषयमा तत्काल कुनै निर्णय लिनु हतार हुने बताउनुभएको छ।
आयरल्यान्डको श्याननबाट ‘एयर फोर्स वन’ चढ्नुअघि सञ्चारकर्मीसँग कुराकानी गर्दै ट्रम्पलाई सन् २०२८ को राष्ट्रपतीय दौडमा भान्सलाई समर्थन गर्न तयार हुनुहुन्छ कि भनेर सोधिएको थियो।
जवाफमा उहाँले भन्नुभयो, “अहिले नै हतार हुन्छ। मेरो विचारमा उहाँ उत्कृष्ट हुनुहुन्छ। हामीसँग धेरै उत्कृष्ट व्यक्तिहरू छन्। हामीसँग, जसरी भनिन्छ, उम्मेदवारका लागि निकै ठूलो आधार (डीप बेन्च) छ।”
भान्सका लागि सबैभन्दा बलियो प्रतिस्पर्धी को हुन सक्छ भन्ने प्रश्नमा ट्रम्पले सबै सम्भावित उम्मेदवार राम्रो रहेको बताउँदै भान्सले पनि उत्कृष्ट काम गरिरहेको उल्लेख गर्नुभयो।
गत अगस्टमा ‘द वासिङ्टन पोस्ट’ले ओभल अफिसमा दाताहरूसँग भएको निजी भेटका क्रममा ट्रम्पले भान्सको सम्भावित उम्मेदवारीबारे केही स्पष्ट धारणा राखेको समाचार प्रकाशित गरेको थियो। त्यस क्रममा ट्रम्पले सहभागीहरूलाई “अन्ततः हामीले जेडीलाई निर्वाचित गर्नुपर्छ” भन्नुभएको समाचारमा उल्लेख थियो।
समाचारका अनुसार ती निजी अभिव्यक्तिले ट्रम्प भान्सलाई भविष्यमा समर्थन गर्न सकारात्मक रहेको संकेत गरे पनि उहाँले उत्तराधिकारीका विषयमा अन्तिम निर्णय भने गरिसक्नुभएको थिएन। त्यसबेला ट्रम्पले भान्ससँगै विदेशमन्त्री मार्को रुबियोलाई पनि सम्भावित उत्तराधिकारीका रूपमा मूल्याङ्कन गरिरहनुभएको उहाँका सल्लाहकारहरूले बताएका थिए।
त्यस अवधिका आन्तरिक छलफलमा ट्रम्पले आफ्ना सहयोगीहरूसँग भान्स र रुबियोबीच तुलना गर्दै पटक–पटक प्रश्न गर्ने गरेको तथा ‘मरीन वन’ हेलिकोप्टर यात्राका क्रममा समेत कर्मचारीसँग अनौपचारिक रूपमा उनीहरूबारे धारणा लिने गरेको जनाइएको छ।
अगस्टमा ट्रम्पका एक प्रमुख सल्लाहकारले राष्ट्रपतिले निजी रूपमा भान्सले ‘मेक अमेरिका ग्रेट अगेन’ (मागा) आन्दोलनको नेतृत्व सम्हाल्ने निष्कर्षमा पुगेको बताएका थिए। तर रिपब्लिकन पार्टीका केही नेताहरूले यस्तो निष्कर्ष निकाल्न अझै हतार हुने बताएका छन्।
उनीहरूका अनुसार ट्रम्पले विभिन्न दृष्टिकोणलाई खुला रूपमा विचार गर्ने भएकाले अन्तिम निर्णय आगामी नोभेम्बरमा हुने अमेरिकी कंग्रेसको मध्यावधि निर्वाचनको परिणामले समेत प्रभावित गर्न सक्छ।
यसबीच, सन् २०२८ को राष्ट्रपतीय निर्वाचनलाई लिएर रिपब्लिकन पार्टीभित्र विभिन्न समूह र धारहरू बन्न थालेका छन्। दाता तथा राजनीतिक कार्यकर्ताहरू सम्भावित उम्मेदवारअनुसार विभिन्न पक्षमा उभिन थालेका छन्।
उपराष्ट्रपति भान्सले पनि आफ्नो राजनीतिक समयतालिका खुला राख्नुभएको छ। उहाँले औपचारिक रूपमा राष्ट्रपतिको उम्मेदवारी दिने वा नदिने विषयमा आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनपछि निर्णय गर्ने संकेत गर्नुभएको छ।
यता विदेशमन्त्री मार्को रुबियोले सन् २०२८ को राष्ट्रपतीय महत्वाकांक्षाबारे प्रत्यक्ष टिप्पणी गर्नुभएको छैन। यद्यपि, ट्रम्पले भान्स र रुबियो दुवैलाई उच्च मूल्याङ्कन गर्दै आएको उहाँका निकटस्थहरूको भनाइ छ।
यसले रिपब्लिकन पार्टीको भविष्यको नेतृत्वका लागि प्रतिस्पर्धा बढ्दै गए पनि भविष्यमा एउटै चुनावी ‘टिकट’ मा दुवै नेता रहने सम्भावनासमेत खुला राखेको छ।
स्रोत : एएनआई





प्रतिक्रिया राख्नुहोस्