नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विशेष महाधिवेशनबाट स्थापित नेतृत्वले अघि बढाउन लागेको १५औँ महाधिवेशनको प्रक्रिया अवैधानिक रहेको दाबी गर्दै त्यस्तो प्रक्रियाबाट पार्टीलाई कमजोर बनाउने प्रयास भए आफू मुकदर्शक भएर नबस्ने चेतावनी दिनुभएको छ।
गगन थापाको नेतृत्वमा रहेको नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने कार्यतालिका सार्वजनिक भई प्रक्रिया अघि बढाएको छ ।
भदौ ३० गते मंगलबार अपिल जारी गर्दै देउवाले पार्टीको विधि, विधान, पद्धति, परम्परा र केन्द्रीय समितिका निर्णयविपरीत विशेष महाधिवेशनबाट आएको समूहले एकपक्षीय रूपमा महाधिवेशनको प्रक्रिया अघि बढाउन खोजेको आरोप लगाउनुभएको हो।
उहाँले उक्त समूहले आयोजना गर्ने महाधिवेशनमा सहभागी नहुन कांग्रेसका नेता तथा कार्यकर्तालाई आग्रहसमेत गर्नुभएको छ। देउवाले विशेष महाधिवेशनको वैधतासम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा अन्तिम फैसला नआउँदै त्यसै आधारमा महाधिवेशन प्रक्रिया अघि बढाउनु कानुनी, संवैधानिक र राजनीतिक दृष्टिले उचित नहुने बताउनुभएको छ।
उहाँका अनुसार सर्वोच्च अदालतको पूर्ण इजलासले पुनरावलोकनको निस्सा प्रदान गरिसकेको अवस्थामा विशेष महाधिवेशनको वैधतामाथि गम्भीर संवैधानिक तथा कानुनी प्रश्न रहेको स्पष्ट हुन्छ।
एकातर्फ अदालतमा मुद्दा विचाराधीन राखेर अर्कोतर्फ त्यसको अन्तिम निरूपण नहुँदै महाधिवेशनको प्रक्रिया अघि बढाउनु उपयुक्त नहुने उहाँको तर्क छ।
देउवाले पार्टीभित्र लामो समयदेखि योगदान गरेका नेता तथा कार्यकर्ता र बहुसंख्यक सदस्यलाई बेवास्ता गरेर अघि बढ्ने प्रयासले कांग्रेसलाई बलियो बनाउन नसक्ने बताउनुभएको छ।
उहाँले विगतमा पनि कांग्रेसले जटिल राजनीतिक तथा आन्तरिक समस्या एकता, सहमति र सहकार्यबाट समाधान गर्दै आएको स्मरण गराउनुभएको छ।
‘पदको लोभ छैन, तर पार्टी कमजोर हुँदा चुप बस्दिनँ’
देउवाले आफूलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ नरहेको स्पष्ट पार्दै पार्टी र राज्यले आफ्नो अनुभवको आवश्यकता महसुस गरे जीवनको अन्तिम क्षणसम्म जिम्मेवारी निर्वाह गर्न तयार रहेको बताउनुभएको छ।
देशभरका महाधिवेशन प्रतिनिधिबाट विधिवत् सम्पन्न १४औँ महाधिवेशनबाट निर्वाचित सभापतिका रूपमा १५औँ महाधिवेशन सम्पन्न गरी नेतृत्व हस्तान्तरण गर्नु आफ्नो वैधानिक, राजनीतिक तथा नैतिक दायित्व भएको उहाँको भनाइ छ।
“नेपाली कांग्रेसको विधान र नेपालको संविधानबमोजिम महाधिवेशन गर्ने पर्याप्त समय बाँकी हुँदाहुँदै सहमतिबिना हतारमा पार्टीलाई कमजोर र विभाजित गर्ने गरी अवैधानिक रूपमा अधिवेशन अघि बढाइएमा म पार्टीलाई कमजोर गर्ने कार्यको मुकदर्शक भएर बस्न सक्ने छैन,” देउवाले अपिलमा भन्नुभएको छ।
उहाँले विशेष महाधिवेशनको आवश्यकता र त्यसपछि सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामले विशेष महाधिवेशन पक्षधर नेतृत्वले गरेको लोकप्रियताको दाबीलाई समेत पुष्टि नगरेको दाबी गर्नुभएको छ। निर्वाचन परिणामबाट पाठ सिकेर पार्टीलाई एकताबद्ध बनाउनेतर्फ लाग्नुपर्ने उहाँको आग्रह छ।
भोटेकोशी बाढीमा एकजुट हुन अपिल
देउवाले आफ्नो अपिलको सुरुवात नै हालै भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै गर्नुभएको छ।
उहाँले बाढीमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता व्यक्तिको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिन सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ।
प्राकृतिक विपत्तिको यस कठिन घडीमा राजनीतिक विचार, धार्मिक आस्था वा भौगोलिक सीमाको भेदभाव नगरी खोज, उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणमा सम्पूर्ण नेपाली एकजुट हुनुपर्ने उहाँको आग्रह छ। कांग्रेसका सबै तहका नेता तथा कार्यकर्तालाई समेत आ–आफ्नो स्थानबाट विपद् प्रभावितलाई सहयोग गर्न उहाँले निर्देशन दिनुभएको छ।
नेपालले सामना गरिरहेको विपत्तिमा मित्रराष्ट्र, अन्तर्राष्ट्रिय सहयोगी निकाय तथा विभिन्न संघसंस्थाबाट प्राप्त सहयोगप्रति उहाँले आभार व्यक्त गर्दै आगामी दिनमा समेत आवश्यक सहयोग र सहकार्यका लागि अपिल गर्नुभएको छ।
देउवाले २०७२ सालको भूकम्प र त्यसपछि आएको कोभिड–१९ महामारीको समयमा राजनीतिक दल, नागरिक समाज र सञ्चारमाध्यमलगायत सबै पक्ष एकजुट भएर विपत्तिको सामना गरेको स्मरण गर्दै भोटेकोशी बाढीपछिको पुनःस्थापना र पुनर्निर्माणमा पनि त्यस्तै राष्ट्रिय एकताको वातावरण बनाउन सरकारलाई आग्रह गर्नुभएको छ।
‘तीन दशकअघिको नेपाल र आजको नेपाल हेरौँ’
मुलुकमा केही भएन भन्ने आलोचनाप्रति देउवाले विगत तीन दशकमा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, मानव संसाधन विकास, गरिबी न्यूनीकरण तथा नागरिक पहुँचका क्षेत्रमा भएको परिवर्तनलाई तुलनात्मक रूपमा हेर्न आग्रह गर्नुभएको छ।
उहाँले सीमित स्रोतसाधनका बाबजुद नेपालले हासिल गरेको प्रगतिलाई वस्तुगत रूपमा मूल्याङ्कन गर्नुपर्ने बताउँदै विगत ३५ वर्षको राजनीतिक संक्रमण र त्यस क्रममा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी)लगायत दलले निर्वाह गरेको भूमिकाको समेत वस्तुगत समीक्षा आवश्यक रहेको उल्लेख गर्नुभएको छ।
यद्यपि, प्राप्त उपलब्धिमै सन्तुष्ट भएर बस्ने अवस्था नरहेको उहाँको भनाइ छ। सुशासन, रोजगारी सिर्जना, आर्थिक समृद्धि, विकास र नागरिकको राज्यप्रतिको विश्वास अझ सुदृढ गर्न नयाँ सोच, ऊर्जा र प्रतिबद्धतासहित अघि बढ्नुपर्ने उहाँले बताउनुभएको छ।
आगामी महाधिवेशनमा एकताका लागि अपिल
देउवाले कांग्रेसभित्रको वर्तमान मतभेद अन्त्य गरी एकताबद्ध भएर आगामी मंसिर २१, २२ र २३ गते हुने १५औँ महाधिवेशनको तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ।
विशेष महाधिवेशनबाट आएको समूहले आयोजना गर्ने महाधिवेशनमा सहभागी नहुन आग्रह गर्दै उहाँले कांग्रेसको ऐतिहासिक विरासत कुनै व्यक्तिको महत्वाकांक्षा वा नियोजित प्रयासबाट कमजोर हुन नसक्ने बताउनुभएको छ।
उहाँले कांग्रेसको आन्तरिक विवाद समाधानका लागि एकता, सहमति र सहकार्यलाई बलियो बनाउनुपर्नेमा जोड दिँदै पार्टीलाई एकताबद्ध बनाउने अभियानमा सबै नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकको साथ र सहयोगका लागि अपिल गर्नुभएको छ।





प्रतिक्रिया राख्नुहोस्