राजनीति

‘प्रमुख भन्सार विन्दुहरूमा सुविधायुक्त गोदाम–घरको व्यवस्थासहित व्यापार सहजीकरण गर्नुपर्छ’

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले मुलुकका प्रमुख भन्सार विन्दुहरूमा सुविधायुक्त गोदाम घरको व्यवस्थासहित तेस्रो मुलुकबाट हुने व्यापार–व्यवसायको क्षेत्रमा आवश्यक सहजीकरण गरी लागत घटाउन सक्दो प्रयास गर्ने बताउनुभएको छ ।

आपूर्ति मन्त्रालयअन्तर्गत नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको ५३औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले विशेषगरी तेस्रो मुलुकसँगको आयात–निर्यात कारोबार प्रक्रियालाई निजीक्षेत्रमैत्री बनाउँदै व्यापार प्रवर्द्धनमा सहयोगीको भूमिका निर्वाह गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गर्नुभयो ।

राज्य संयन्त्रअन्तर्गतका समान कार्यप्रकृतिका विभिन्न संस्था तथा निकायलाई एकआपसमा गाभ्ने र असान्दर्भिक संस्थाहरूलाई खारेज गर्ने नीति सरकारको रहेको स्पष्ट गर्दै उहाँले परिवर्तित सन्दर्भमा व्यापार प्रवर्द्धनका क्षेत्रमा क्रियाशील संस्थालाई अझ सुदृढ र प्रभावकारी बनाई व्यापार–व्यवसाय विस्तार गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

गोदाम व्यवस्था कम्पनी लिमिटेडका महाप्रबन्धक प्रेमराज भण्डारीले भारतको कोलकाता र हल्दिया पोर्ट तथा नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, वीरगञ्ज, विराटनगर, काँकडभिट्टा, भैरहवा, तातोपानी/सिन्धुपाल्चोकलगायतका प्रमुख भन्सार विन्दुमा गोदाम घरको व्यवस्थासहित भन्सार जाँचपास प्रक्रियामा आवश्यक सहजीकरण गर्दैै आएको स्पष्ट गर्नुभयो ।

आयोजक संस्थाका अध्यक्ष छविराज पन्तको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख भन्सार अधिकृत डा टोपराज पाण्डेले तेस्रो देशसँगको आयात–निर्यात प्रक्रियालाई सहजीकरण गर्ने प्रमुख दायित्व रहेको संस्थालाई थप सुदृढीकरण गर्दै विस्तार गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

तेस्रो देशबाट हुने सामान आयात–निर्यात प्रक्रियाअन्तर्गत भन्सार जाँचपासमा सहजीकरणको भूमिकासहित बीमा तथा गोदाम घरको सुविधा उपलब्ध गराएवापत सामान्य शुल्क लिन पाउने अधिकार सो संस्थालाई रहेको जानकारी गराइयो । यसैगरी नेपाल सरकारबाट प्राप्त रु एक करोड पूँजीसहित विसं २०२८ मा स्थापना भएको आत्मनिर्भर सो संस्थामा ७२ जना कर्मचारी दरबन्दीसहित रु ५८ करोड बंैक मौज्दात रहेको सो अवसरमा बताइयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.