राजनीति

इभी सुरक्षाका लागि छुट्टै शिक्षा आवश्यक

विद्युतीय सवारी साधन (इभी)मा आगलागी र दुर्घटनाका घटना बढेपछि संसदमा चालकलाई लक्षित गरी ‘इभी सेफ्टी एजुकेशन’ लागू गर्न माग गरिएको छ ।

सांसद पुकार बमले इभीको प्रविधि, ब्याट्री र आकस्मिक सुरक्षाबारे चालकलाई अनिवार्य जानकारी दिनुपर्ने भन्दै सरकारले विशेष सुरक्षा शिक्षा कार्यक्रम ल्याउनुपर्ने माग गर्नुभएको हो ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद बमले नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग तीव्र रूपमा बढिरहेको भए पनि यसको सुरक्षित सञ्चालन, जोखिम पहिचान तथा दुर्घटना न्यूनीकरणबारे पर्याप्त सचेतना आवश्यक रहेको बताउनुभयो ।

उहाँले सडक सुरक्षासँगै इभीको प्रविधि, ब्याट्री, चार्जिङ प्रणाली तथा आकस्मिक अवस्थामा अपनाउनुपर्ने सुरक्षाका उपायबारे चालकलाई जानकारी दिनुपर्नेमा जोड दिनुभयो ।

नेपालमा विद्युतीय सवारीसाधन तुलनात्मक रूपमा नयाँ भएकाले चालक तथा प्रयोगकर्तालाई लक्षित गरी ‘इभी सेफ्टी एजुकेशन’ लागू गर्नुपर्ने उहाँको माग थियो ।

सांसद धनञ्जय रेग्मीले भोटेकोशी बाढी जलवायु परिवर्तनका कारण भएको विषयमा पर्याप्त प्रमाण तथा अध्ययन उपलब्ध रहेको बताउनुभयो । इसिमोडलगायत निकायका अध्ययन तथा अनुसन्धानले समेत जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको प्रभाव पुष्टि गरेको उहाँको भनाइ थियो ।

विश्वव्यापी तापक्रम वृद्धिले हिमाली क्षेत्र प्रभावित भइरहेको उल्लेख गर्दै उहाँले प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न संयुक्त राष्ट्रसङ्घको महासभा सहभागिताका क्रममा जलवायु तथा हिमालका मुद्दामा नेपालको साझा धारणा प्रस्तुत गर्नुपर्ने बताउनुभयो ।

सांसद माधवबहादुर थापाले पाल्पाको सिद्धबाबा क्षेत्रमा हुने दुर्घटना न्यूनीकरणका लागि निर्माणाधीन सुरुङमार्गको काम तीव्र गतिमा अघि बढाउन तथा वैकल्पिक सडकको निर्माण र मर्मत गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद दीपककुमार शाहले महोत्तरीमा विकास निर्माणको माग गर्ने क्रममा भएको झडपको छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गर्नुभयो ।

सांसद लालविक्रम थापाले इटहरीको शिरबाट बग्ने खोला भत्किएर बजार क्षेत्र जलमग्न भएको जानकारी गराउँदै सम्भावित जोखिम रोकथामका लागि तत्काल आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.