जन सरोकार

बिग्रिएका सडकबारे गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा

पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको सडक डिभिजन काठमाडौँले उपत्यकाभित्र बिग्रिएका सङ्घीय सडकको मर्मतलाई प्रभावकारी बनाउन ‘सडक सुझाव एप’ सञ्चालनमा ल्याइएको छ ।

पूर्वाधार विकासमन्त्री सुनील लम्सालको निजी सचिवालयका अनुसार काठमाडौँ उपत्यकाभित्रका नागरिकले सङ्घीय सडकअन्तर्गतका बिग्रिएका सडकको मर्मतसम्बन्धी गुनासा तथा सुझाव एपमार्फत दर्ता गर्न सकिने जनाएको छ ।

एपमार्फत दर्ता गरिएका गुनासाको समाधान प्रक्रिया र अवस्थासमेत नागरिकले प्रत्यक्ष रूपमा हेर्नसक्ने व्यवस्था गरिएको छ । गुनासा सम्बोधन भएपछि त्यसको जानकारीसमेत एपमार्फत प्राप्त हुने सडक डिभिजन कार्यालय काठमाडौँले जनाएको छ ।

हाल ‘सडक सुझाव एप’मार्फत काठमाडौँ उपत्यकाभित्र सङ्घीय सडकअन्तर्गत रहेका करिब ४७२ किलोमिटर सडकसम्बन्धी गुनासो तथा सुझाव दर्ता गर्न सकिनेछ ।

सङ्घीय सडकअन्तर्गत नपर्ने सडकका सम्बन्धमा भने उक्त सडक कुन निकायको जिम्मेवारीमा पर्छ भन्ने जानकारीसमेत नागरिकलाई उपलब्ध गराइने सडक डिभिजन कार्यालय काठमाडौँले जनाएको छ ।

सडक मर्मतसम्बन्धी गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै एपलाई देशव्यापी रूपमा विस्तार गर्ने तयारी अघि बढाइएको छ । आगामी दुई हप्ताभित्र ललितपुर र भक्तपुरलाई एपमा समावेश गरी सेवा विस्तार गर्ने र क्रमशः देशभर सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.