गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव सम्बन्धित परिवारजनलाई हस्तान्तरण गरिएको छ ।
चिलिमे जलविद्युत् कम्पनीका प्रबन्ध निर्देशक बाबुराजा महर्जनले भोटेकोशी नदीमा बाढी आउँदा केन्द्रमा कार्यरत इन्जिनियर सन्तोष पाण्डे, इलेक्ट्रिक सुपरभाइजर मीनराज मोक्तान, चौकीदारद्वय श्यामबहादुर थापामगर र तिलकबहादुर थापामगर तथा नेपाल विद्युत् प्राधिकरणका कर्मचारी लाक्पा तामाङको शव पहिचान भई परिवारजनलाई हस्तान्तरण गरिएको बताउनुभयो ।
सो विद्युत् केन्द्रको सुरुङको बाहिरी भागदेखि करिब १५० मिटरभित्र रहेको ‘कन्ट्रोल रुम’ क्षेत्रमा बुधबार अपराह्न उहाँहरूको शव फेला परेको थियो ।
प्रबन्ध निर्देशक महर्जनका अनुसार केन्द्रभित्र फेला परेका शव नेपाली सेनाका हेलिकप्टरमार्फत नुवाकोट लगेर हस्तान्तरण गरिएको हो । उद्धारका लागि नेपाली सेनाका बाहिनीपतिको कमाण्डमा भारतीय सेना, सशस्त्र प्रहरी बल र प्राधिकरणका कर्मचारी खटेको थियो ।
भोटेकोशी नदीको सतहबाट २० मिटर उचाइमा रहेको सुरुङभन्दा करिब ८५ मिटर माथिसम्म पुगेको बाढीले सुरुङ पुरिएको तथा ११ वाट क्षमताका दुई वटा टर्वाइनसहित सम्पूर्ण संरचना ध्वस्त भएको प्रबन्ध निर्देशक महजर्नले जानकारी दिनुभयो ।
यसै गरी, रसुवाका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले खोज तथा उद्धारसहित राहत वितरण कार्य जारी रहेको, क्षतिको विवरण सङ्कलनका लागि एक महिनाको समय तोकी कार्यादेशसहित २५ सदस्यीय समिति गठन भएको छ ।
यसै गरी नदीमाथि तुइन तथा फड्के निर्माण भई आवतजावतलाई सहज बनाएको र बाढीपछिको सम्भावित हैजा तथा विपद्जन्य महामारीलगायत रागको रोकथामका लागि आवश्यक औषधिसहित जनशक्तिको व्यवस्था गरेको बताउनुभयो ।




प्रतिक्रिया राख्नुहोस्