राजनीति

आन्तरिक रोजगारीमा सबल बन्न सके मुलुक आत्मनिर्भर बन्छ : मन्त्री यादव

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारी र आन्तरिक रोजगारीलाई सँगसँगै लैजानुुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

श्रम तथा रोजगार कार्यालय मधेस प्रदेशले सप्तरीको रूपनी गाउँपालिका–५ स्थित रहेको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा आज आयोजना गरेको निर्माण उद्योगमा काम गर्ने श्रमिकहरूको लागि व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी एकदिने सचेतनामुलक कार्यक्रममा उहाँले आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

“आन्तरिक रोजगारीतर्फ सर्वसाधारणलाई आकर्षित गर्न धेरै कामहरू गर्नुपर्नेछ । रोजगारदाता र श्रमिक एक अर्काको पूरक भएकाले यी दुवै पक्षलाई सबल बनाउन आवश्यक छ”, मन्त्री यादवले भन्नुभयो, “वैदेशिक रोजगारीसँगै आन्तरिक रोजगारीमा सबल बन्न सके हाम्रो मुलुक सबल र आत्मनिर्भर बन्छ ।”

तीन दिनसम्म वैदेशिक रोजगारी सम्बन्धित गुनासा, समस्या सुन्न जिल्ला प्रशासन कार्यालय सप्तरीमा ‘हेल्प डेक्स’ राखेकाले यससम्बन्धी समस्या त्यहाँ गएर राख्न उहाँले आग्रह गर्नुभयो ।

मन्त्री यादवले भन्नुभयो, “वैदेशिक रोजगारीमा एजेन्टले गर्दै आएको ठगी न्यूनीकरण भए पनि यसको अन्त्यका लागि वैदेशिक रोजगार सम्बन्धित ऐन संशोधन गरेर ‘डिजिटल सिस्टम’ बनाउँदै छौँ ।”

श्रमिकहरू, स्थानीय बुद्धिजीवी तथा स्थानीय सरोकारवालाहरूको उपस्थित रहेको कार्यक्रममा राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविण, रूपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवलगायत पालिकाका प्रमुखहरू, सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, सप्तरीका प्रहरी प्रमुख एसपी रूपक खड्कालगायतको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.