राजनीति

कार्यवाहक सभापति र विशेष महाधिवेशनको माग अस्वीकृत

जेनजी आन्दोलनपछि बसेको नेपाली कांग्रेस कार्यसम्पादन समिति बैठकमा महामन्त्री गगन थापा लगायत केही नेताले तत्काल कार्यवाहक सभापति तोक्न र विशेष महाधिवशेन बोलाउन प्रस्ताव गर्नुभयो ।

पार्टी उपसभापति पूर्णबहादुर खड्काले कार्यसम्पादन समिति बैठक सुरू गर्नासाथ महामन्त्री थापाले कार्यवाहक सभापति तोकेर नियमित वा विशेष महाधिवेशन गर्नुपर्ने कुरा राख्नुभयो ।

थापाको यो प्रस्तावलाई कांग्र्रेसमा देउवा पक्षका नेताहरुले अस्वीकार गरेपछि तत्काल कसैलाई पनि कार्यवाहक सभापति नदिने र विशेष महाधिवेशन पनि नगर्ने निर्णय गरेको हो ।

बैठकले तत्काल कसैलाई कार्यवाहक सभापतिको जिम्मेवारी नदिने र विशेष महाधिवेशन पनि नगर्ने निर्णय गरेको सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिनुभयो ।

जेनजी प्रदर्शनको क्रममा आन्दोलनकारीको कुटपिटबाट गम्भीर भएर उपचाररत सभापति शेरबहादुर देउवा स्वस्थ भएपछि सबै विषयमा कुराकानी गरिने बैठकले निर्णय गरेको छ ।

यी विषयमा सभापति शेरबहादुर देउवा स्वस्थ भएपछि केन्द्रीय समिति बैठक बोलाउने र त्यही बैठकमा छलफल गर्ने निर्णय भएको सहमहामन्त्री यादवले बताउनुभयो ।

बैठकले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा घुसपैठ भएको निष्कर्ष निकालेको छ । आन्दोलनको क्रममा घुसपैठ भएकाले अर्बौँ मूल्य बराबरको निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनी गरेको जनाएको हो ।

बैठकले सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी गर्ने घटनाको गहिरो छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्ने निर्णय पनि कांग्रेसले गरेको छ ।

त्यस्तै बैठकले केन्द्रीय समिति बैठक दशैं तिहारपछि बोलाउने निर्णय गरेको सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.