संयुक्त राष्ट्र महासभा बैठकमा सहभागी हुनु आफ्नो ‘कानुनी अधिकार’ भएको इरानको भनाइ
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले शनिबार न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ८१औँ महासभा (यूएनजीए) सत्रमा सहभागी हुनु इरानको ‘कानुनी अधिकार’ भएको बताउनुभएको छ।
“न्यूयोर्कमा उपस्थित हुनु इरानी प्रतिनिधिहरूका लागि कुनै आकर्षणको विषय होइन। तर, यो त्यस्तो महत्वपूर्ण मञ्च हो, जसलाई छाड्न हुँदैन। महासभाको सत्रमा इरानको सहभागिता कानुनी अधिकार हो, कसैले हामीलाई प्रदान गर्ने कृपा होइन। इरान संयुक्त राष्ट्रसंघका ५० संस्थापक सदस्य राष्ट्रमध्ये एक हो,” बघाईले सरकारी टेलिभिजन आईआरआईबीसँगको अन्तर्वार्तामा भन्नुभयो।
“इरानी जनताको पक्ष र अधिकारबारे विश्वलाई जानकारी गराउन यस महत्वपूर्ण अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुनु इरानी जनताका प्रतिनिधिका रूपमा हाम्रो दायित्व हो,” उहाँले भन्नुभयो। उहाँले इरानी प्रतिनिधिमण्डललाई महासभामा सहभागी हुन रोक्न ‘अर्को पक्ष’ले उपलब्ध सबै उपाय प्रयोग गरिरहेको आरोप लगाउनुभयो।
यस्तो “अवरोध र नकारात्मक प्रचार”ले इरानलाई महासभामा सहभागी हुने र आफ्ना धारणा सार्वजनिक गर्ने आफ्नो वैध अधिकारबाट पछि हट्न बाध्य पार्न नसक्ने उहाँले बताउनुभयो।
अमेरिकाले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन इरानको ‘मुख्य प्रतिनिधिमण्डल’लाई भिसा जारी गर्ने जनाएको छ। अमेरिकी विदेश मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा अमेरिकाले आयोजक राष्ट्रका रूपमा रहेको दायित्वअनुसार भिसा जारी गर्ने उल्लेख गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “यो प्रतिनिधिमण्डल गत वर्षको तुलनामा सानो छ।”




प्रतिक्रिया राख्नुहोस्