धक्काहरू थेग्दै विश्व अर्थतन्त्र, जोखिम र अनिश्चितता उच्च : आईएमएफ प्रमुख
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)की प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले विश्व अर्थतन्त्रले अपेक्षाभन्दा राम्रो आर्थिक धक्का थेग्ने क्षमता प्रदर्शन गरिरहेको भए पनि जोखिम र अनिश्चितता उच्च रहेको बताउनुभएको छ।
न्युयोर्कमा आइतबार कतार इकोनोमिक फोरमको विशेष संस्करणअन्तर्गत आयोजित संवाद कार्यक्रममा बोल्दै जर्जिएभाले विश्व अर्थतन्त्रसामु मुद्रास्फीति नियन्त्रण, ऋणको बढ्दो लागत र एआईमा भइरहेको लगानीसँग जोडिएका वित्तीय जोखिम प्रमुख चुनौतीका रूपमा रहेको बताउनुभयो।
“मुद्रास्फीति जिद्दीपूर्ण बनेको छ। यसको छिट्टै समाधान हुने हामीले अपेक्षा गरेका छैनौँ। यसको अर्थ धेरै केन्द्रीय बैंकहरूले मौद्रिक नीति थप कडा बनाउनुपर्ने हुन्छ,” उहाँले भन्नुभयो।
विश्वका विभिन्न मुलुकले मूल्य स्थिरता कायम गर्न मौद्रिक नीति कडा बनाइरहेका बेला त्यसको प्रत्यक्ष असर ऋणको लागतमा परेको उहाँले बताउनुभयो। वित्तीय अनुशासन र सरकारी खर्च व्यवस्थापन आवश्यक छ भन्नेमा विश्वभर पर्याप्त समझदारी बने पनि त्यसअनुसारको कार्यान्वयन भने पर्याप्त हुन नसकेको जर्जिएभाले बताउनुभयो।
एआई लगानीमा बढ्दो जोखिम
जर्जिएभाले एआई क्षेत्रमा भइरहेको तीव्र लगानीले विश्व अर्थतन्त्रमा नयाँ अवसर सिर्जना गरे पनि यससँगै वित्तीय जोखिमसमेत बढिरहेको बताउनुभयो। विशेषगरी ऋणको अत्यधिक प्रयोग र एउटै लगानी अर्को लगानीलाई वित्तपोषण गर्ने प्रकारको चक्रीय वित्तीय संरचना जोखिमपूर्ण हुन सक्ने उहाँको भनाइ छ।
“एआईले निराश बनायो किनभने हामीले यसबाट निकै ठूलो अपेक्षा गरेका छौँ र ती अपेक्षा पूरा भएनन् भने त्यसबाट उत्पन्न निराशाले वित्तीय प्रणालीमा ठूलो धक्का पुर्याउन सक्छ,” जर्जिएभाले चेतावनी दिनुभयो।
एआईसँग सम्बन्धित वित्तीय जोखिम मुख्यतः अमेरिकामा केन्द्रित भए पनि यसको प्रभाव अमेरिकामै सीमित नरहने उहाँले बताउनुभयो।
एआईको विश्वव्यापी आपूर्ति शृंखलामा एसिया र युरोपका धेरै मुलुक तथा कम्पनीहरू जोडिएकाले प्रविधि क्षेत्रमा आउने ठूलो उतारचढावले विश्व अर्थतन्त्रका अन्य क्षेत्रमा समेत असर पार्न सक्ने उहाँको भनाइ छ।
आईएमएफले आगामी अक्टोबरमा सार्वजनिक गर्ने विश्व अर्थतन्त्रसम्बन्धी नयाँ प्रक्षेपणमा विश्व अर्थतन्त्रका जोखिम उच्च नै रहने जर्जिएभाले बताउनुभएको छ।
तीन प्रतिशतको आर्थिक वृद्धि पनि ठूलो उपलब्धि
विश्व अर्थतन्त्रले पछिल्ला वर्षमा युद्ध, ऊर्जा संकट, व्यापारिक तनाव र अन्य आर्थिक धक्काहरूको सामना गरिरहेको उल्लेख गर्दै जर्जिएभाले करिब ३ प्रतिशतको विश्व आर्थिक वृद्धि कायम रहनुलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गर्नुभयो।
“हामीले भोगिरहेका सबै किसिमका धक्कालाई ध्यानमा राख्दा करिब ३ प्रतिशतको आसपास आर्थिक वृद्धि कायम रहनु ठूलो उपलब्धि हो,” उहाँले भन्नुभयो।
आईएमएफले जुलाईमा सार्वजनिक गरेको विश्व आर्थिक दृष्टिकोणअनुसार २०२६ मा विश्व अर्थतन्त्रको वृद्धि ३ प्रतिशत र २०२७ मा ३.४ प्रतिशत रहने प्रक्षेपण गरेको छ। तर औसत वृद्धिदरले विश्वका सबै अर्थतन्त्रको समान अवस्था भने प्रतिनिधित्व गर्दैन।
युद्ध तथा ऊर्जा संकटको प्रभाव ऊर्जा आयातमा निर्भर र कमजोर अर्थतन्त्रमा बढी परेको छ भने एआईमा आधारित लगानीले प्रविधि आपूर्ति शृंखलामा जोडिएका मुलुकमा आर्थिक गतिविधि बढाइरहेको आईएमएफले जनाएको छ।
भूराजनीतिक तनावले थपेको आर्थिक दबाब
विश्व अर्थतन्त्रको पछिल्लो अवस्था आर्थिक नीतिले मात्र नभई भूराजनीतिक घटनाक्रमले समेत प्रभावित गरिरहेको छ। विशेषगरी मध्यपूर्वको द्वन्द्व, ऊर्जा आपूर्तिको जोखिम, समुद्री व्यापारिक मार्गमा उत्पन्न अवरोध र अमेरिका–चीनलगायत प्रमुख अर्थतन्त्रबीचको व्यापारिक तनावले विश्व आपूर्ति शृंखलामा अनिश्चितता बढाएको छ।
आईएमएफले पनि मध्यपूर्वमा पुनः तनाव बढेमा वस्तु तथा ऊर्जा मूल्यमा थप अस्थिरता आउन सक्ने, वित्तीय अवस्था कडा हुन सक्ने र खाद्य तथा ऊर्जा सुरक्षामा दबाब बढ्न सक्ने चेतावनी दिएको छ।
यससँगै विश्व अर्थतन्त्रमा सार्वजनिक ऋणको भार पनि उच्च बन्दै गएको छ। आईएमएफका अनुसार विश्वव्यापी सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादनको करिब १०० प्रतिशतको आसपास पुगेको छ र आगामी दिनमा अझ बढ्ने जोखिम छ। उच्च ऋण, बढ्दो ब्याजदर र कमजोर वित्तीय स्थानले विशेषगरी विकासशील तथा न्यून आय भएका मुलुकलाई थप दबाबमा पार्न सक्ने आईएमएफले जनाएको छ।
‘विखण्डित विश्व’ भए पनि परस्पर निर्भरता कायमै
विश्व क्रमशः आर्थिक र भूराजनीतिक रूपमा विभाजित हुँदै गएको चर्चा भइरहे पनि मुलुकहरूबीचको परस्पर निर्भरता अन्त्य नभएको जर्जिएभाले बताउनुभयो।
“विश्व विभाजित बन्दै गएको विषयमा धेरै चर्चा भइरहेको छ। वास्तवमै विश्व पहिलेभन्दा कम एकीकृत भएको छ। तर पनि हामी एकअर्कामा निर्भर र सहकार्य गर्ने विश्वमै छौँ,” उहाँले भन्नुभयो।
व्यापारिक तनाव, संरक्षणवादी नीति र आपूर्ति शृंखलाको पुनर्संरचनाले विश्व अर्थतन्त्रमा विखण्डन बढाइरहेको भए पनि ऊर्जा, प्रविधि, वित्त, उत्पादन र व्यापारका क्षेत्रमा मुलुकहरूबीचको अन्तरनिर्भरता अझै गहिरो रहेको उहाँको भनाइ छ।
हालैका अन्तर्राष्ट्रिय आर्थिक छलफलहरूमा पनि व्यापारिक विखण्डन, संरक्षणवाद, भूराजनीतिक तनाव, ऋण तथा वित्तीय जोखिमलाई विश्व अर्थतन्त्रका प्रमुख चुनौतीका रूपमा औँल्याइएको छ।
ऊर्जा आपूर्तिमा आएको धक्काको सामना गर्न विभिन्न मुलुकले आवश्यक समयमा तीव्र कदम चालेकाले विश्व अर्थतन्त्रमा तत्काल ठूलो संकट नदेखिएको जर्जिएभाले बताउनुभयो।
उहाँले संकटका बेला सरकार तथा केन्द्रीय बैंकले समयमै लिने नीतिगत निर्णयको महत्त्वसमेत औँल्याउनुभयो। “हामी सावधान र सतर्क हुनुपर्छ। जोखिम उच्च छन् र अनिश्चितता नै नयाँ सामान्य अवस्था बनेको छ,” उहाँले भन्नुभयो।
यसरी हेर्दा अहिलेको विश्व अर्थतन्त्र एउटै कारणबाट उत्पन्न संकटभन्दा पनि भूराजनीतिक तनाव, ऊर्जा असुरक्षा, मुद्रास्फीति, उच्च ऋण, व्यापारिक विखण्डन र तीव्र प्रविधिगत परिवर्तन एकैपटक देखापरेको जटिल संक्रमणकालबाट गुज्रिरहेको देखिन्छ।
आईएमएफका अनुसार यस्तो अवस्थामा मूल्य स्थिरता, वित्तीय अनुशासन, ऋण व्यवस्थापन र अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ बनाउनु विश्व अर्थतन्त्रका लागि महत्त्वपूर्ण हुनेछ।




प्रतिक्रिया राख्नुहोस्