बिशेषराजनीति

मलेसियाको रोजगारीमा दलाल राजविरुद्ध प्रधानमन्त्री शाह

मलेसियाको वैदेशिक रोजगारीमा देखिएको सिन्डिकेट, दलालतन्त्र र विचौलियाका कारण नेपाली श्रमिकले भोग्दै आएको समस्या अन्त्य गर्न प्रधानमन्त्री वालेन्द्र शाहले मलेसियाली प्रधानमन्त्री अनवर इब्राहिमको ध्यानाकर्षण गराउनुभएको छ ।

नेपाल र मलेसियाबीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउन दुवै देशले ठोस पहल गर्नुपर्नेमा प्रधानमन्त्री शाहले जोड दिनुभएको हो ।

मंगलबार मलेसियाका प्रधानमन्त्री इब्राहिमसँग भएको टेलिफोन वार्तामा प्रधानमन्त्री शाहले मलेसियाको रोजगारी क्षेत्रमा रहेको सिन्डिकेट तथा विचौलियातन्त्रका कारण श्रमिकहरू समस्यामा परेको विषयलाई प्रमुखताका साथ उठाउनुभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिनुभयो ।

प्रधानमन्त्री शाहले मलेसियाको रोजगारी प्रक्रियामा देखिएको यस्तो प्रवृत्ति आफू र आफ्नो सरकारलाई स्वीकार्य नभएको स्पष्ट पार्दै यसको स्थायी समाधानका लागि दुवै देशका श्रम मन्त्रालयबीच प्रत्यक्ष समन्वय र वार्ता आवश्यक रहेको बताउनुभएको थियो ।

“हामीलाई सिन्डिकेट र विचौलियातन्त्र मन पर्दैन र यो कुनै पनि हालतमा स्वीकार्य छैन । यसले श्रमिकहरूलाई मारमा पारेको छ,” प्रधानमन्त्री शाहले मलेसियाली समकक्षी इब्राहिमसँग भन्नुभएको थियो, “त्यसैले दुवै देशका श्रममन्त्रीलाई प्रत्यक्ष वार्तामा बस्न र यो समस्या सधैँका लागि हटाउन आवश्यक कदम चाल्न आग्रह गर्दछु ।”

नेपालबाट ठूलो संख्यामा श्रमिक मलेसिया जाने गरे पनि वैदेशिक रोजगारीको प्रक्रियामा विभिन्न तहका बिचौलिया र अनावश्यक शुल्क असुलीले श्रमिकमाथि आर्थिक भार थपिँदै आएको गुनासो रहँदै आएको छ । यस्तो अवस्थाले वैदेशिक रोजगारीलाई मर्यादित र पारदर्शी बनाउने सरकारको नीतिमाथि समेत प्रश्न उठाउँदै आएको छ ।

प्रधानमन्त्री शाहले श्रमिकको हितलाई केन्द्रमा राखेर रोजगारी प्रक्रियालाई पारदर्शी बनाउन तथा सिन्डिकेट र विचौलियातन्त्र अन्त्य गर्न दुवै देशबीच प्रभावकारी संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिनुभएको हो ।

प्रधानमन्त्री शाहको धारणालाई सकारात्मक रूपमा लिँदै मलेसियाली प्रधानमन्त्री इब्राहिमले आफू पनि सिन्डिकेट र विचौलिया प्रथाको विपक्षमा रहेको बताउनुभएको थियो ।

इब्राहिमले यस विषयमा आफ्ना श्रममन्त्रीलाई तत्काल नेपाली समकक्षीसँग समन्वय गरी आवश्यक काम अघि बढाउन निर्देशन दिने प्रतिबद्धता व्यक्त गर्नुभएको प्रधानमन्त्री शाहले बताउनुभएको छ ।

“यस्तो गलत र शोषणकारी परिपाटीको म पनि पूर्णविरुद्धमा छु । म तुरुन्तै हाम्रा श्रममन्त्रीलाई यस विषयमा नेपाली समकक्षीसँग छलफल गरी ठोस निकास निकाल्न निर्देशन दिन्छु,” इब्राहिमले भन्नुभएको थियो ।

नेपाल र मलेसियाबीचको श्रम सम्बन्धलाई थप व्यवस्थित बनाउँदै श्रमिकको अधिकार, पारिश्रमिक, रोजगार प्रक्रियाको पारदर्शिता र वैदेशिक रोजगारीमा हुने शोषण नियन्त्रणका विषयमा दुई देशबीच निरन्तर संवाद हुँदै आएको छ ।

पछिल्लो टेलिफोन वार्तामा भने प्रधानमन्त्री शाहले विशेषगरी सिन्डिकेट र विचौलियातन्त्रलाई श्रमिक समस्याको प्रमुख विषयका रूपमा उठाउनुभएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.