भारी वर्षाका कारण इशिकावा प्रान्तमा छ जनाको मृत्यु, दुई बेपत्ता
जापानको मध्य इशिकावा प्रान्तमा भारी वर्षाका कारण नोटो क्षेत्रमा पहिरो खस्दा छ जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् ।

स्थानीय प्रहरी र दमकल विभागले वाजिमा सहरको सुरुङ नजिकबाट १० जनालाई उद्धार गरिएको बताएको छ । नयाँ वर्षको दिन गएको भूकम्पका कारण क्षति पुगेको सुरुङ नजिकै पुनःनिर्माणको काम भइरहेको बेले सो स्थानमा पहिरो गएको थियो ।
वाजिमामा पहिरोमा पुरिएर दुई महिला मृत फेला परेका छन् भने खोलाबाट निकालिएका एक जनाको पनि मृत्यु भएको पुष्टि भएको छ । सुजु सहरमा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको पुष्टि भएको अधिकारीहरूले बताएका छन्।
त्यस्तै नोटो टाउन र सुजु सिटीमा खोला बगाउँदा दुई जना बेपत्ता भएका छन् । यसैबीच, प्रहरी र दमकल विभागका अधिकारीहरूले वाजिमाका चार बासिन्दाहरू नदीको किनारमा रहेका घरहरू बगाउँदा बेपत्ता भएको बताएका छन् ।
गत जनवरी १ मा गएको भूकम्पमा वजिमामा ठूलो क्षति पुगेको थियो । भूकम्पपीडितका केही अस्थायी आवास अहिले बाढीले डुबानमा परेका छन् ।
इशिकावा सरकारका अनुसार बाढीका कारण धेरै भवनहरू डुबानमा परेका छन् सडक अवरुद्ध छ भने करिब छ हजार घरहरू बिजुली विहीन भएका छन्
प्रभावित क्षेत्रका केही मानिसहरु सञ्चार सेवा विहिन भएको अपरेटरहरूले बताएका छन् । बाढी पहिरोको खतराको बीच वजिमामा र सुजुका साथै नोटो सहरका बासिन्दाहरूलाई घर छोडेर सुरक्षित स्थानमा जान आदेश दिएको अधिकारीहरूले बताएका छन् ।
इशिकावाकोे निगाता र यामागाता प्रान्तका बासिन्दाहरूलाई सुरक्षित स्थानमा जान आदेश दिएको विपद् व्यवस्थापन बिभागले जनाएको छ ।
शुक्रबार साँझदेखि आइतबार राति १० बजेसम्म वाजिमामा करिब ५ सय मिलिमिटर वर्षा भएको मौसमविदले जनाएको छ । सुजु सहरमा पनि करिब ४०० मिलिमिटर वर्षा भएको छ । दुबै तथ्याङ्कहरू सेप्टेम्बरको औसत वर्षाको दोब्बरभन्दा बढी र एजेन्सीले रेकर्ड राख्न थालेदेखिकै उच्च हो।
जापानको मौसम विभागले शनिबार इशिकावाका लागि ‘जीवन नै धराप’ भन्दै उच्च स्तरको चेतावनी जारी गरेको थियो । आइतबार चेतावनीको स्तर घटाएर नियमति खालमा झारिएको थियो । सोमबार मध्याह्न सम्म पनि मुसलधारे वर्षा हुने सक्ने भन्दै अधिकारीहरूले स्थानीयहरूलाई सतर्क रहन आग्रह गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्