जन सरोकार

निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक

निर्माण व्यवसायीले समयमा काम नगर्दा लमजुङको बिचौर–भुम्लीचोक–फुलाङ्गिरी–जोर्ने–गौडाभञ्ज्याङ सडकको करिब आठ किलोमिटर खण्ड अलपत्र परेको छ ।

निर्माण सुरु भएको तीन वर्ष बितिसक्दा पनि उक्त सडकखण्डको भौतिक प्रगति करिब ४७ प्रतिशत मात्र भएको सडक डिभिजन कार्यालय दमौलीका सूचना अधिकारी राजेन्द्र कार्कीले बताउनुभयो ।

“समयमा निर्माण व्यवसायीले काम नगरेका कारण सडक निर्माणमा ढिलाइ भएको हो । अहिले पनि कामले अपेक्षित गति लिन सकेको छैन,” उहाँले भन्नुभयो ।

निर्वाचन क्षेत्र रणनीतिक सडकअन्तर्गत अघि बढाइएको उक्त सडकको ताजी–ठूलोकाभ्रे खण्डलाई दुई लेनमा कालोपत्र गर्ने काम भइरहेको छ । सडक स्तरोन्नतिको जिम्मा सर्व उद्धार–ज्वान्दनबा–अंशुबी जेभीले पाएको छ ।

रु ४० करोड लागत अनुमान गरिएको उक्त सडक निर्माणका लागि रु २८ करोड ६५ लाखमा ठेक्का सम्झौता भएको हो । सम्झौताअनुसार विसं २०७९ असार २३ गतेदेखि निर्माण सुरु गरी २०८२ असारमा सम्पन्न गर्नुपर्ने थियो । निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि २०८२ पुससम्म म्याद थप गरिएको थियो ।

थपिएको समयमा काम सम्पन्न हुन नसकेपछि निर्माण व्यवसायीले २०८४ असारसम्म म्याद थपको माग गरेको थियो । सडक डिभिजन कार्यालयले २०८३ चैतभित्र निर्माण सम्पन्न गर्नुपर्ने गरी नयाँ मिति निर्धारण गरेको छ ।

“निर्माण व्यवसायीले २०८४ असारसम्म म्याद थपको माग गरेको थियो । तर २०८३ चैतभित्र काम सक्ने गरी म्याद थप गर्ने निर्णय भएको छ,” उहाँले भन्नुभयो ।

सूचना अधिकारी कार्कीका अनुसार सो सडकमा करिब ८०० मिटर आरसिसी ढलान गर्नुपर्नेमा हालसम्म ६५० मिटर सम्पन्न भएको छ । सडकका संरचना निर्माण, माटो सम्याउने, कटिङ गर्ने, सडक चौडा बनाउनेलगायतका काम पूरा भएको उहाँले बताउनुभयो । हालसम्म रु १३ करोड १३ लाख भुक्तानी भइसकेको छ ।

दूधपोखरी गाउँपालिका अध्यक्ष धनप्रसाद गुरुङले सडक निर्माणमा भइरहेको ढिलाइका कारण स्थानीयवासीले लामो समयदेखि समस्या भोग्दै आएको बताउनुभयो । उहाँले सडक निर्माण समयमै सम्पन्न गर्न सम्बन्धित निकाय र निर्माण व्यवसायीलाई ताकेता गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

उहाँका अनुसार सडक निर्माण सम्पन्न नहुँदा गाउँपालिकाका विभिन्न वडाका बासिन्दालाई आवतजावतमा समस्या हुनाका साथै स्थानीय उत्पादनको बजारीकरणमा कठिनाइ भइरहेको छ ।

दूधपोखरी गाउँपालिका–३ का वडाध्यक्ष श्याम गुरुङका अनुसार, रणनीतिक महत्वको सडक भए पनि निर्माणले गति लिन सकेको छैन । गत वैशाखदेखि  सडकमा खासै काम नभएको उहाँको भनाइ छ ।

वडाध्यक्ष गुरुङका अनुसार सडकमा केही कामदार परिचालित भए पनि निर्माण व्यवसायीले पारिश्रमिक नदिएको गुनासो आएको छ ।

सडकको अवस्था जीर्ण हुँदा सवारी सञ्चालन तथा स्थानीयवासीको आवतजावतमा समस्या भइरहेको उहाँले बताउनुभयो । सडक डिभिजन कार्यालय दमौलीले सडक निर्माणमा पर्याप्त ध्यान नदिएको उहाँको गुनासो छ ।

सडक निर्माण सम्पन्न भएपछि दूधपोखरी गाउँपालिकाका विभिन्न वडाका साथै आसपासका ग्रामीण क्षेत्रका बासिन्दालाई आवतजावत गर्न सहज हुने छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.