अर्थबिशेष

बाढीका कारण विद्युत् प्रणालीमा गम्भीर असर

केही दिनदेखि भैरहेको अविरल वर्षापछि आएको बाढी र पहिरोले विद्युत प्रसारण लाइनमा फाल्ट आउनुका साथै विद्युत् उपकरणमा क्षति र केही लाइनमा ओभरलोड हुँदा विद्युत् आपूर्तिमा अवरोध भएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार विभिन्न विद्युत् उत्पादन, प्रसारण तथा लोड अवरोधकाकारण विद्युत् प्रणाली प्रभावित भएको छ।

मन्त्रालयका अनुसार बाढीको सबैभन्दा बढी प्रभाव पोखरा क्षेत्रमा परेको छ। कुस्मा–न्यू बुटवल २२० केभी प्रसारण लाइनमा फाल्ट आउँदा करिब २०० मेगावाट विद्युत् प्रभावित भएको छ। त्यस्तै, रौघाङ–दाना १ र २ प्रसारण लाइनमा समस्या आएपछि करिब १५५ मेगावाट विद्युत् प्रभावित भएको छ।

बाढीका कारण कालीगण्डकी, अपर मादी, सुपर मादी, सिक्लेस–नामर्जुङ, सेती नदी–करुवासेट, अपर दोर्दी र मोदीलगायतका जलविद्युत् आयोजनाको उत्पादन तथा विद्युत् आपूर्ति प्रभावित भएको मन्त्रालयले जनाएको छ। पोखरा क्षेत्रका विभिन्न आयोजनाबाट मात्रै ४०० मेगावाटभन्दा बढी विद्युत् क्षमता प्रभावित भएको छ।

रौघाट क्षेत्रमा पनि न्यू बुटवल–कुस्मा २२० केभी प्रसारण लाइनमा फाल्ट आउँदा करिब ११० मेगावाट विद्युत् प्रभावित भएको मन्त्रालयले जनाएको छ। उक्त लाइन बिहान ९ः५० बजेसम्म पुनः सञ्चालनमा ल्याउने अपेक्षा गरिएको थियो।

बुटवल क्षेत्रमा पनि प्रसारण लाइन प्रभावित

बुटवल क्षेत्रमा न्यू भरतपुर–न्यू बुटवल २२० केभी प्रसारण लाइनमा रुख ढलेपछि फाल्ट आएको थियो। उक्त लाइन बिहान ९ः५१ बजे चार्ज गरिएको जनाइएको छ।

यस्तै, चापर–पथलैया १३२ केभी प्रसारण लाइन आउट हुँदा कावासोती सबस्टेसनमा करिब एक घण्टा लोड कटौती गर्नुपरेको थियो। सुनवल–मैनिया तथा बुटवल सबस्टेसनअन्तर्गतका उद्योगतर्फ समेत विद्युत् आपूर्ति प्रभावित भएको र करिब ५० मेगावाट लोड कटौती गरिएको मन्त्रालयले जनाएको छ।

हेटौंडा क्षेत्रमा पनि विद्युत् आपूर्तिमा असर

हेटौंडा क्षेत्रमा बाढीका कारण १३२ तथा ६६ केभी प्रसारण लाइनमा समस्या देखिएको छ। माण्डु ६६ केभी प्रसारण लाइन प्रभावित हुँदा करिब ३२ मेगावाट विद्युत् प्रभावित भएको मन्त्रालयले जनाएको छ।

कावासोती–भरतपुर १३२ केभी प्रसारण लाइनअन्तर्गत भरतपुर सबस्टेसनमा सीभीटी जलेपछि विद्युत् आपूर्तिमा समस्या आएको थियो।

त्यस्तै, सिमरा सबस्टेसनमा करिब २० मेगावाट, अमलेखगञ्ज, परवानीपुर र वीरगञ्ज क्षेत्रका उद्योगमा करिब ८० मेगावाट तथा काम्ने सबस्टेसन र उद्योगतर्फ करिब २५ मेगावाट विद्युत् आपूर्ति प्रभावित भएको मन्त्रालयले जनाएको छ।

काठमाडौंमा पनि केही समय विद्युत् अवरोध

बाढी तथा प्रसारण प्रणालीमा देखिएको समस्याको प्रभाव काठमाडौंमा समेत परेको छ। पाटन सबस्टेसनमा बिहान ९ बजेदेखि ९ः१० बजेसम्म करिब १० मिनेट विद्युत् अवरोध भएको थियो। टेकु क्षेत्रमा पनि सोही अवधिमा करिब १० मिनेट विद्युत् आपूर्ति प्रभावित भएको मन्त्रालयले जनाएको छ।

पाटन क्षेत्रमा पथलैया लाइन र केएल–१ स्युचाटार ६६ केभी लाइन एकै समयमा ओभरलोड भएपछि समस्या देखिएको थियो। बाढीका कारण एमआरएस इमर्जेन्सी सप्लाईसमेत प्रयोग गर्नुपरेको जनाइएको छ।

यस्तै, कावासोती सबस्टेसनमा बिहान ८ बजेदेखि ९ः१५ बजेसम्म २० मेगावाट तथा हरदी सबस्टेसनमा सोही अवधिमा २५ मेगावाट लोड कटौती गरिएको थियो।

सिमरा सबस्टेसनमा बिहान ६ बजेदेखि १० बजेसम्म २० मेगावाट तथा अमलेखगञ्ज, परवानीपुर र वीरगञ्जका उद्योगमा बिहान ६ः०१ बजेदेखि ८० मेगावाट लोड कटौती गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार बाढीका कारण जलविद्युत् आयोजनाको उत्पादनमा अवरोध आउनुका साथै प्रसारण लाइनमा फाल्ट, विद्युत् उपकरणमा क्षति र विभिन्न स्थानमा ओभरलोडको समस्या देखिएको छ।

विशेषगरी पोखरा–बुटवल २२० केभी प्रसारण करिडोर तथा पथलैया आसपासका १३२ केभी प्रसारण लाइनमा आएको अवरोधले पश्चिम तथा मध्य नेपालको विद्युत् आपूर्तिमा उल्लेखनीय असर पारेको मन्त्रालयले जनाएको छ।

भोटेकोशी बाढीबाट यसअघि नै प्रमुख जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा क्षति पुगेको अवस्थामा पछिल्लो बाढी र पहिरोका कारण थप प्रसारण तथा आपूर्ति संरचना प्रभावित भएपछि मुलुकको विद्युत् प्रणालीमा दबाब बढेको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.