जन सरोकारबिशेष

नारायणीको बाढीले क्रुज बगाएर पुलमा अड्कायो, पुल जोखिममा

केही दिनयताको अविरल वर्षापछि नारायणी नदीमा आएको बाढीले नवलपुरको गैँडाकोटमा किनारमा राखिएको ‘राइनो क्रुज’ बगाएर नारायणी पुलको पिलरमा अड्काएपछि पुलको सुरक्षामा गम्भीर जोखिम उत्पन्न भएको छ।

बाढीका कारण देशका विभिन्न स्थानमा सडक तथा राजमार्ग अवरुद्ध हुनुका साथै बस्तीसमेत डुबानमा परिरहेका बेला नारायणी पुलमा क्रुज अड्किएपछि थप जोखिम बढेको हो।

नारायणी नदीको बहाव तीव्र भएपछि किनारमा राखिएको क्रुज बगेर पुलको पिलरमा अड्किएको हो। क्रुज पुलको पिलरमै अड्किएपछि पिलरमा क्षति पुग्न सक्ने र पुलको संरचना कमजोर हुनसक्ने जोखिम रहेको स्थानीय प्रशासनले जनाएको छ।

नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले क्रुज पुलको पिलरमा अड्किएपछि पुलको सुरक्षामा गम्भीर चुनौती थपिएको बताउनुभयो।

उहाँका अनुसार तीव्र बहावका कारण क्रुजलाई तानेर निकाल्ने सम्भावना कम रहेकाले क्रेनको सहायताले क्रुजलाई टुक्र्याएर नदीबाट हटाउने विषयमा छलफल भइरहेको छ।

“क्रुजलाई तान्न सक्ने अवस्था देखिएको छैन। क्रेनको सहायताले फुटाएर हटाउन सकिन्छ कि भनेर छलफल भइरहेको छ,” रानाले भन्नुभयो।

क्रुज हटाउन सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको उहाँले बताउनुभयो। तर रात परिसकेको र नारायणी नदीको बहावसमेत उच्च रहेकाले तत्काल उद्धार तथा हटाउने काममा चुनौती रहेको उहाँको भनाइ छ।

इलाका प्रहरी कार्यालय गैँडाकोटका इन्चार्ज प्रहरी निरीक्षक लक्ष्मण गिरीले गत भदौ १० गतेको विनाशकारी भोटेकोशी बाढीमा समेत नबगेको क्रुज अहिले नारायणीको बाढीले बगाएको बताउनुभयो। क्रुज पुलको पिलरमा अड्किएपछि पिलर भाँचिन सक्ने जोखिम बढेको उहाँले बताउनुभयो।

५० करोड लगानीमा सञ्चालनमा आएको थियो क्रुज

नवलपुरको गैँडाकोटस्थित नारायणी नदीमा गत माघ १८ गतेदेखि ‘राइनो क्रुज’ सञ्चालनमा आएको थियो। नवलपुर तथा आसपासका पर्यटकीय क्षेत्रलाई नयाँ र सम्भावनायुक्त गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित करिब ५० करोड रुपैयाँ लगानीमा राइनो वाटर इन्टरटेनमेन्ट प्रालि र होटल रिभर क्राउन प्रालिले संयुक्त रूपमा क्रुज सञ्चालनमा ल्याएका थिए।

होटल रिभर क्राउन प्रालिका प्रबन्ध निर्देशक दीपक ढुंगेलका अनुसार साढे दुई तले क्रुज ९५ फिट लामो र २१ फिट चौडा छ। यसको पूर्ण क्षमता दुई सय जनासम्म भए पनि एकपटकमा १५० जनालाई सेवा दिने गरी सञ्चालन गरिएको थियो।

बाढी र पहिरोले सडक तथा बस्ती प्रभावित

अविरल वर्षापछि देशका विभिन्न नदी तथा खोलामा आएको बाढी र पहिरोका कारण सडक तथा राजमार्गमा समेत यातायात प्रभावित भएको छ। कतिपय स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएका छन् भने केही ठाउँमा बाढीले सडक कटान गर्नुका साथै पुल, कल्भर्ट तथा अन्य पूर्वाधारमा क्षति पुर्‍याएको छ।

तराई तथा नदी तटीय क्षेत्रमा बाढी बस्तीमा पस्दा घरहरू डुबानमा परेका छन्। नदी तथा खोलाको जलस्तर बढेपछि आसपासका बस्तीमा जोखिमसमेत बढेको छ। लगातारको वर्षाका कारण भिरालो भूभागमा पहिरोको जोखिम बढेकाले पहाडी तथा मध्यपहाडी क्षेत्रका विभिन्न सडकखण्डमा यातायात सञ्चालन प्रभावित भएको छ।

बाढी र पहिरोका कारण सडक अवरुद्ध भएपछि यात्रु तथा मालवाहक सवारीसाधन बाटोमै रोकिनुपर्ने अवस्था आएको छ। सम्बन्धित निकायले अवरुद्ध सडक खुलाउने तथा जोखिमयुक्त क्षेत्रमा यातायात सञ्चालन सहज बनाउने प्रयास गरिरहेका छन्।

लगातारको वर्षाले नदी तथा खोलाको बहाव अझ बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दा तथा यात्रुलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। विशेषगरी बाढीले कटान गरेका सडक, जोखिममा रहेका पुल तथा नदीको बहाव बढेका स्थानमा आवतजावत नगर्न सुरक्षा निकायले आग्रह गरेको छ।

पछिल्लो मौसमी अवस्थाले एकैपटक सडक, पुल, बस्ती र अन्य भौतिक पूर्वाधारमा जोखिम बढाएकाले वर्षा र बाढीको अवस्था सामान्य नहुँदासम्म उच्च सतर्कता आवश्यक देखिएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.