बर्दिबासमा बस दुर्घटना : दुईजनाको मृत्यु, २६ घाइते
बर्दीबासमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । यसै गरी दुर्घटनामाा परी २६ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ ।
समाचार अनुसार बर्दिबासको खयरमाराबाट काठमाडौंतर्फ जाँदैगरेको ना ६ ख १४६४ नम्बरको यात्रुबस शुक्रबार विहान खयरमारास्थित लक्ष्मीनारायन माध्यमिक विधालयको पर्खाल भत्काउँदै नरिवलको रुखमा ठोकिएर दुर्घटना भएको हो ।
जिल्ला ट्राफिक प्रमुख लक्ष्मीराज जोशीका अनुसार बसको ठक्करबाट खयरमारा १० का ६५ वर्षिय पैदलयात्रु चुल्हाई चौधरीको घटनास्थलमै मृत्यु भएको छ । त्यस्तै उपचारको क्रममा बसमा सवार ईश्वरपुर १२ का १० वर्षिय प्रमिस खडकाको शुभ स्वस्तिक अस्पतालमा मृत्यु भएको छ ।
घाइतेहरुलाई बर्दीबासस्थित शुभ स्वस्तिक अस्पतालमा भर्ना गरिएको छ । अस्पतालका चिकित्सकले दिएको जानकारीअनुसार घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ ।
अस्पताल प्रमुख प्रदीप कार्कीका अनुसार बालक खडकाको टाउकोमा गहिरो चोट लागेको छ । दुर्घटनाको कारण स्पष्ट हुन सकेको छैन ।
प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिका कारण चालकले सन्तुलन गुमाउन गएका कारण दुर्घटना भएको हुनसक्छ । ट्राफिक प्रमुख जोशीले बसका सबै स्टाफ फरार रहेकाले उनीहरुको खोजी भइरहेको बताउनुभयो ।




प्रतिक्रिया राख्नुहोस्