संस्कृति

थारू स्वाद अब गाउँको भान्साबाट बजारसम्म

भापमा पाकेको तातो ढिक्री, तराईका खोलानाला र सिमसारमा पाइने घोंघी, अनदीको भात, भक्का तथा स्थानीय कुखुरा, हाँस र सुँगुरको मासु ।

थारू समुदायको मौलिक जीवनशैली, संस्कृति र परम्परासँग जोडिएका यी परिकार अब गाउँघर र चाडपर्वमा मात्र सीमित छैनन् । परम्परागत स्वाद र पहिचान बोकेका थारू परिकारलाई व्यावसायिक रूपमा बजारमा पुर्‍याउने क्रम बढ्न थालेको छ ।

थारू समुदायको खानपान उसको सामाजिक तथा सांस्कृतिक जीवनको महत्वपूर्ण हिस्सा मानिन्छ । स्थानीय रूपमा उपलब्ध अन्न, तरकारी, माछा, घोंघी तथा अन्य सामग्री प्रयोग गरी तयार गरिने परिकारमा थारू समुदायको प्राकृतिक वातावरणसँगको सम्बन्धसमेत झल्किन्छ ।

चामल र चामलको पिठोबाट तयार हुने ढिक्री, अनदीको भात तथा भक्का यस समुदायका विशिष्ट परिकारमा पर्छन् भने घोंघी, गङ्गटा तथा स्थानीय कुखुरा, हाँस र सुँगुरको मासुले थारू खानाको छुट्टै स्वाद र पहिचान बनाएका छन् ।

यिनै मौलिक परिकारलाई व्यावसायिक रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले शनिबारदेखि दाङको घोराहीमा थारू समुदायका परम्परागत खानाका परिकार उपलब्ध हुने गरी ‘ढिक्री घर’ सञ्चालनमा ल्याइएको छ ।

थारू समुदाय संस्कार, संस्कृति, खानपान र रहनसहनका दृष्टिले समृद्ध भए पनि पछिल्लो समय परम्परागत खानपानको मौलिकता र प्रयोग घट्दै गएको भन्दै त्यसको संरक्षण तथा प्रवर्द्धनका लागि ‘ढिक्री घर’ सञ्चालन गरिएको सञ्चालक रोशन रत्गैयाले बताउनुभयो ।

बजारमा विभिन्न समुदायका सांस्कृतिक खानपान र रेस्टुरेन्टको उपस्थिति बढे पनि थारू समुदायको मौलिक खानपान अझै व्यावसायिक रूपमा पछाडि रहेको उहाँको भनाइ छ । “हाम्रा परम्परागत परिकारलाई गाउँ र चाडपर्वमा मात्र सीमित नराखी बजारसम्म पुर्‍याउन आवश्यक छ,” उहाँले भन्नुभयो ।

ढिक्रीदेखि घोंघीसम्म

‘ढिक्री घर’मा चामलको पिठोबाट बनाइने ढिक्रीसहित घोंघी, अनदीको भात, भक्का, सुँगुरको मासु, हाँसको मासु, स्थानीय कुखुराको मासु, गङ्गटा लगायत थारू समुदायमा प्रचलित विभिन्न परिकार उपलब्ध हुने सञ्चालक जितेन्द्र चौधरीले बताउनुभयो ।

“थारू समुदायको पहिचानका रूपमा जुन–जुन खाना छन्, ती सबै खानालाई हामीले उपलब्ध गराउने छौँ,” उहाँले भन्नुभयो, “यसले हाम्रो खानपानलाई व्यावसायिक बनाउन मात्रै होइन, सांस्कृतिक पहिचान जोगाउन पनि मद्दत पुग्ने अपेक्षा लिएका छौँ ।”

थारू समुदायमा ढिक्रीलाई विशेष महत्वका साथ खाने गरिन्छ । चामलको पिठोबाट तयार गरिने ढिक्री सामान्यतः भापमा पकाइने भएकाले तेलको प्रयोग कम हुन्छ ।

त्यसैले यो थारू समुदायको परम्परागत खानामध्ये एक विशिष्ट परिकारका रूपमा परिचित छ । त्यस्तै घोंघी, भक्का र अनदीको भातले थारू समुदायको स्थानीय कृषि, प्राकृतिक स्रोत र मौलिक खानपानसँगको सम्बन्ध देखाउँछन् ।

परिकारसँगै संस्कृति संरक्षण

घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले थारू समुदायको महत्वपूर्ण परिकार ढिक्रीलगायतका खानालाई व्यावसायिक बनाउनु सांस्कृतिक संरक्षणसँग जोडिएको बताउनुभयो ।

थारू समुदायका परिकार स्वास्थ्यका दृष्टिले पनि उपयुक्त भएकाले पछिल्लो समय अन्य समुदायका मानिसले समेत रुचाउन थालेको उहाँको भनाइ छ । परम्परागत खानालाई व्यावसायिक बनाउँदा संस्कृति संरक्षणसँगै स्थानीयस्तरमा रोजगारी र आम्दानीको अवसरसमेत सिर्जना हुने उहाँले बताउनुभयो ।

दाङमा पछिल्लो समय थारू समुदायका परिकारलाई व्यावसायिक बनाउने अभ्यास बढ्दै गएको छ । केही समयअघि घोराहीमा कविला रिसोर्ट, दङ्गीशरणमा थारू होमस्टे तथा तुलसीपुरमा थारू मिन्हीघरलागायतका व्यवसाय सञ्चालनमा आएका छन् । यस्ता व्यवसायले थारू समुदायको खानपानलाई पर्यटक तथा अन्य समुदायका मानिससम्म पुर्‍याउन सहयोग गरिरहेका छन् ।

परम्परागत परिकारको बजारीकरणमा तालिम

लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले थारू समुदायलाई परम्परागत परिकार तयार गर्ने तथा त्यसलाई व्यावसायिक रूपमा प्रवर्द्धन गर्ने विषयमा तालिम दिन थालिएको बताउनुभयो ।

दाङसहित विभिन्न जिल्लाका थारू समुदायलाई परम्परागत परिकारको संरक्षण, तयारी र बजारीकरणसम्बन्धी तालिम प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।

थारू परिकारको व्यावसायिक विस्तारले एकातिर पुस्तौँदेखि चलिआएको मौलिक खानपानलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न सहयोग पुग्ने देखिन्छ भने अर्कोतर्फ स्थानीय उत्पादन, पर्यटन र रोजगारीसँग जोडेर यसलाई आम्दानीको माध्यम बनाउन सकिने सम्भावना बढेको छ । यसरी थारू समुदायको भान्सामा सीमित मौलिक स्वाद क्रमशः बजारको पहिचान बन्न थालेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.