जापानबिशेष

बाढीपीडितको सहयोगार्थ जापानमा ‘पेन्सनपट्टा’ प्रदर्शन हुँदै

गत भदौ १०  गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट पीडितहरुको सहयोगार्थ जापानमा लोकप्रिय नेपाली चलचित्र ‘पेन्सनपट्टा’ प्रदर्शन हुने भएको छ। चलचित्र प्रदर्शनबाट प्राप्त आम्दानीको केही हिस्सा सहयोगस्वरूप उपलब्ध गराइने जनाइएको छ।

न्यू आईटी भेञ्चर/एनआईटीभी समूह र तमु धिं जापानको आयोजना तथा प्रस्तुतिमा आगामी अक्टोबर १२, २०२६ मा जापानको राजधानी टोकियोमा चलचित्र प्रदर्शन गर्न लागिएको हो।

आयोजकका अनुसार मेगुरो कुमिन सेन्टर, २–४–३६ मेगुरो, मेगुरो–कु, टोकियो १५३–००६३ मा चलचित्र प्रदर्शन गरिनेछ। पहिलो प्रदर्शन दिउँसो १ बजे र दोस्रो प्रदर्शन अपराह्न ४ः३० बजे हुनेछ। टिकटको मूल्य ३ हजार येन निर्धारण गरिएको छ।

टिकट अनलाइन बुकिङका साथै टोकियोका विभिन्न नेपाली रेस्टुरेन्ट तथा हलाल फुड पसलबाट समेत खरिद गर्न सकिने व्यवस्था गरिएको छ। प्रदर्शनकै दिन कार्यक्रमस्थलबाट पनि टिकट उपलब्ध हुने आयोजकले जनाएको छ।

भोटेकोशी बाढीबाट रसुवा र आसपासका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको अवस्थामा जापानमा रहेका नेपाली समुदायबाट राहत तथा पुनःस्थापनाका लागि विभिन्न सहयोग अभियान सञ्चालन हुँदै आएका छन्। ‘पेन्सनपट्टा’ चलचित्र प्रदर्शन पनि त्यही अभियानको निरन्तरताका रूपमा आयोजना गर्न लागिएको हो।

टोकियोबाहेक जापानका अन्य सहरमा पनि ‘पेन्सनपट्टा’ प्रदर्शन गर्न सकिने आयोजकले जनाएको छ। आफ्नो सहरमा चलचित्र प्रदर्शन गर्न चाहने नेपाली संघसंस्था, सामाजिक संस्था वा समूहले आयोजकसँग सम्पर्क गरी प्रदर्शनको व्यवस्थापन गर्न सक्नेछन् ।

यसअघि एनआईटिभी नेपालरन्यू आईटी भेन्चर तथा नेपालजापान डटकम तथा परिवारका तर्फबाट पहिलो चरण अन्तर्गत भदौ १६ गते मंगलबार विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसमक्ष रु. १ लाख ११ हजार १११ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.