कर्णालीप्रदेश

खान नजान्दा पोषणयुक्त बाली उत्पादन हुने क्षेत्र कुपोषणको शिकार

कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्माले माथिल्लो कर्णाली पोषणयुक्त बाली उत्पादनको परिचित एवम् प्रचुर सम्भावनाको क्षेत्र भएको बताउनुभएको छ ।

नेपालकै दुर्गम हुम्लामा सञ्चालन हुने प्रथम अन्तर्राष्ट्रिय कोदो महोत्सव उद्घाटनका लागि त्यहाँ पुग्नुभएका मन्त्री शर्माले प्रेस सेन्टर हुम्लाद्वारा आयोजित पत्रकार भेटघाटका क्रममा पोषणयुक्त रैथानेबाली उत्पादन हुने क्षेत्रका बालबालिका कुपोषण हुनु दुर्भाग्यको विषय भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “जहाँ पोषणयुक्त बालीको भण्डारण छ, त्यहाँ कुपोषण हुन्छ कसरी ? तर, यहाँकै बालबालिकामा कुपोषण बढी छ भनेर खबर आइरहन्छन् र तथ्याङ्कमा पनि त्यस्तो देखिन्छ ।”

अर्कोतिर कोदो, फापर, चिनो, कागुनो जस्ता रैथाने बालीको उत्पादन बढाएर कुपोषण हटाउनुपर्ने मन्त्रालयको प्रतिवेदनमा रहेको उहाँले बताउनुभयो ।

कर्णालीमा पहिलो पटक अन्तर्राष्ट्रिय कोदो महोत्सव हुम्लामा हुनुले नयाँ सन्देश दिनुका साथै रैथाने बाली उत्पादनमा वृद्धि तथा बजारीकरणमा सहयोग पुग्ने मन्त्री शर्माको भनाइ थियो ।

उहाँले दक्षिण एशियामा सबैभन्दा कोदो उत्पादन हुने देश भारत र त्यसपछिको नेपाल भएको समेत दाबी गर्नुभयो ।

कर्णालीमा उपज हुने मूल्यवान वस्तु कोदो, चिनो, कागुनो, फापरलगायत बालीको उत्पादन तथा बजारीकरणमा समायोजन हुने जनाउँदै मन्त्री शर्माले भन्नुभयो, “रैथाने र पोषणयुक्त मूल्यवान वस्तु उपभोग गर्ने क्षेत्रलाई गरिब, पछि परेको भन्ने भाष्य अब सम्पन्नतामा परिणत गर्नुछ, कर्णाली गरिब होइन, मूल्यवान र औषधिजन्य बाली उत्पादन गर्ने देशको महत्वपूर्ण भूभाग हो, यसको विकासमा प्राथमिकता दिन अपरिहार्य छ भन्ने सन्देश सङ्घीय सरकारलाई महोत्सवले दिनेछ ।”

कृषि मन्त्रालयका सचिव डा नरहरिप्रसाद घिमिरेले रैथानेबाली उत्पादनसँगै यहाँका नागरिकहरुले उपभोग विधिमा विशेष ध्यान दिन सुझाउनुभयो ।

“कर्णालीको पोषणयुक्त उत्पादनको माग अन्तर्राष्ट्रिय बजारले गर्दैछ, तर यहीँ कुपोषण बढी छ”, उहाँले भन्नुभयो, “अब हामीले खानपान र हाम्रा उत्पादनको सही सदुपयोग गर्ने कुरामा ध्यान दिन आवश्यक छ ।”

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय आर्थिक सहयोगमा कृषि विकास कार्यालय हुम्लाद्वारा आयोजित महोत्वसमा कोदोबाट बनेका विभिन्न खाद्य परिकार र कोदोजन्य रैथाने अन्नबाली राखिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.