जापान

नेपाल फर्किए पनि जापानको पेन्सन लिन पाइने !

जापान बाट स्वदेश फिर्ती भैसकेपछि पनि पेन्सन फिर्ता र त्यसमा लाग्ने करको मागदाबी गर्न मिल्ने भएको छ । नेपाली समुदाय लाइ लक्षित गरि टोकियोको मिनातोकुमा अवस्थित आशा एण्ड कम्पनीले २०७८ साल श्रावण महिनाबाट स्वदेश फिर्ती भैसकेपछि पेन्सन फिर्ता र त्यसमा लाग्ने करको मागदाबी गर्नका लागि सहयोग गर्न अनलाइन नेनकिन सेवा डटकम शुरु गरेको छ।

जापानमा फुलटाइम काम गर्दा धेरै जसो कम्पनीमा कर्मचारीहरूले पेन्सन अनिवार्य रूपमा तिर्नुपर्ने हुन्छ र कम्पनीले कर्मचारीको तलबबाट प्रत्येक महिना केही रकम काट्ने गर्छ। तर धेरै नेपालीहरुलाई जापानको यो सेवाबारे राम्रोसँग थाहा नभएको भनेर नेनकिन सेवा डटकमकी माया ओगासावाराले बताइन।

उनले भनिन “म जापानको सामाजिक सहकार्य संस्थामा नेपाली प्राविधिक प्रशिक्षार्थीहरुलाई जापानी कम्पनीहरूमा पठाउने काम गर्दैछु। मैले काम गर्दै जाँदा नेपाली कामदारहरूलाई जापानको पेन्सन प्रणालीको बारेमा राम्रोसँग थाहा नभएको कुरा बुझेँ र आफैँ जापानी नागरिक भएपनि जापानको पेन्सन प्रकृयाबारे बुझ्न गाह्रो भएको अनुभव छ ।”

“एकपटक मलाई एकजना नेपाली कामदारले “पेन्सन फिर्ता” (Pension Refund) कति आउँछ भनेर सोधे । त्यसबेला मलाई अनुमान लगाउन गाह्रो भयो। यदि तपाईँहरू १० वर्षभन्दा बढी जापान बसेर पेन्सन तिर्नु भएको छ भने, सेवा निवृत्ति भइसकेपछि पेन्सन पाउने तपाईँको अधिकार हुन्छ र नेपाल फर्किसकेपछि पेन्सन बाट केही रकम पाउन सकिन्छ। तर धेरै नेपालीहरु १० वर्षसम्म काम नगरी नेपाल फर्किन्छन् र त्यस अवधिभर पेन्सन तिर्छन् । १० वर्ष पुरा नभएको कारणले निवृत्तिपछि पेन्सन पाइँदैन।

त्यसैले जापान सरकारले १० वर्ष नपुग्दै स्वदेश फर्किसकेका व्यक्तिहरूका लागि स्वदेश फिर्ती हुँदाको “एकमुष्ठ रकम मागदाबी” (दात्ताई इचिजिकिन) गर्ने अधिकार दिएको छ। यसको मतलब तपाईँले तिरेको पेन्सन बाट केही रकम फिर्ता हुन्छ। तर धेरैलाई यो कुराको जानकारी नभएको अनि मागदाबीको आवेदन दिने म्याद नाघेर पेन्सन फिर्ता पाउन नसक्ने अवस्था रहेको छ।”

पेन्सन फिर्ता कति आँउछ भन्ने कुराको अनुमान लगाउन तपाईले पेन्सन तिर्नुभएको कुल महिना अनि साललाई आधार मानिन्छ (वर्ष अनुसार हिसाब दर फरक पर्नसक्छ)। पेन्सन फिर्ता मागदाबी गर्नको लागि तपाईँ स्वदेश फर्किसकेको हुनुपर्नेछ, अनि स्वदेश फर्केको २ वर्ष भित्रमा आवेदन दिनुपर्ने हुन्छ। २ वर्ष नाघेपछि तपाईँले पेन्सन फिर्ता पाउनुहुन्न।

ओगासावाराका अनुसार “पाउनुपर्ने पेन्सन फिर्तामा ८०% “एकमुष्ठ रकम मागदाबी” (दात्ताई इचिजिकिन) हुन्छ भने २०% ट्याक्स अफिसले करको रुपमा कटाएको हुन्छ र यो दुबै फिर्ता पाउनको लागि फरक फारम भर्नु पर्ने हुन्छ। धेरैलाई यो कुराको जानकारी नभएको कारण पेन्सन फिर्ता आउँदा पाउनुपर्ने रकम भन्दा २०% कम आएको कुरा थाहा हुँदैन।

के तपाइले बाँकी २०% रकमको मागदाबी आवेदन पनि नेपालबाट नै गर्न सक्नुहुन्छ?
सक्नुहुन्न्, त्यसका लागि आवेदक जापानमा नै हुनुपर्छ। त्यसैले यसका लागि नेनकिन सेवा डटकमले एजेन्टको रुपमा जापानबाट आवेदन गरिदिने सेवा सुचारू गरेको हो । धेरै नेपालीहरुलाई आफ्नो तलबबाट पेन्सन कटाएको छ-छैन भन्ने कुरा पनि थाहा नभएको हुनसक्छ। पेन्सन फिर्ती मागदाबी आवेदन फारम भर्न गाह्रो हुने र अतिरिक्त कागजातहरू पनि तयार गर्नुपर्ने भएकोले आवेदन दिन गाह्रो भएको अनुभव छ ।

नोट : उक्त सेवा र नेपाल जापान जापान डटकम बीच कुनै सम्बन्ध छैन जनचेतनाको लागी मात्र हामीले यो सामग्री प्रकाशित गरेका हौँ । सो सेवा बारे बिस्तृत जानकारीका लागि यो लिंक क्लिक गरेर बुझ्न सक्नुहुनेछ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.