हिरोसिमामा परमाणु बम पीडितहरूको नामावली अद्यावधिक गर्ने वार्षिक कार्य सुरु
हिरोसिमा नगरपालिकाले सन् १९४५ मा खसालिएको परमाणु बमका पीडितहरूको अभिलेखमा नयाँ नाम समावेश गर्ने वार्षिक कार्य सुरु गरेको छ। यी नयाँ अभिलेखकर्ताहरू आगामी आइतबारदेखि औपचारिक रूपमा नामावली अद्यावधिक गर्ने कार्यमा सहभागी हुनेछन्।
नगरपालिकाले प्रत्येक वर्ष बितेको एक वर्षभित्र मृत्यु भएको पुष्टि भएका परमाणु बम पीडित तथा जीवित बचेका व्यक्तिहरूको नाम आधिकारिक सूचीमा थप्ने परम्परा कायम राख्दै आएको छ।
यस वर्षको अद्यावधिक प्रक्रिया बिहीबार हिरोसिमा सिटी हलबाट सुरु भएको हो। यो कार्य आगामी अगस्ट ५ सम्म जारी रहनेछ।
संशोधित नामावलीलाई अगस्ट ६ मा आयोजना हुने शान्ति स्मृति समारोहका क्रममा परमाणु बम पीडितहरूको स्मारक (सेनोटाफ) भित्र राखिनेछ। अगस्ट ६ हिरोसिमामाथि अमेरिकाले परमाणु बम खसालेको ऐतिहासिक तथा दुःखद दिन हो।
कार्यक्रमको सुरुवातमा सहभागीहरूले शान्तिका लागि प्रार्थना गरेका थिए। त्यसपछि ८३ वर्षीया परमाणु बमबाट जीवित बचेकी नाकामोटो नोबुको र ८४ वर्षीया ओकावा जुन्कोले विशेष ब्रस प्रयोग गरी पीडितहरूको नाम हस्तलिखित रूपमा अभिलेखमा लेख्न सुरु गरे।
विगत धेरै दशकदेखि यही कार्य परमाणु बमबाट बचेका व्यक्तिहरूले गर्दै आएका छन्। तर उनीहरूको उमेर बढ्दै जाँदा र जीवित साक्षीहरूको संख्या घट्दै गएकाले यस वर्ष हिरोसिमा नगरपालिकाले सर्वसाधारणबाट आवेदन दिएका व्यक्तिमध्ये १४ जना नयाँ अभिलेखकर्तालाई छनोट गरेको छ। उनीहरूले वरिष्ठ पीडितहरूबाट यो जिम्मेवारी ग्रहण गर्ने तयारीस्वरूप नाम लेख्ने प्रक्रिया अवलोकन गरेका छन्।
नगरपालिकाका अनुसार यस वर्ष थप ३ हजार ३५ जना पीडितहरूको नाम अभिलेखमा समावेश गरिने अपेक्षा गरिएको छ। तीमध्ये एक हुन् मोरी शिगेआकी, जसले हिरोसिमाको परमाणु विस्फोटमा ज्यान गुमाएका अमेरिकी युद्धबन्दीहरूको विषयमा लामो समयसम्म अनुसन्धान गरेर अन्तर्राष्ट्रिय रूपमा परिचित बनेका थिए। मोरीको गत मार्च महिनामा ८८ वर्षको उमेरमा निधन भएको थियो।
अभिलेख अद्यावधिक कार्यमा सहभागी ओकावा जुन्कोले परमाणु बमको विकिरणको प्रभाव सहँदै लामो जीवन बिताएका पीडितहरूलाई सम्झिएको बताइन्। उनका अनुसार ती व्यक्तिहरूको शान्तिप्रतिको आकांक्षा र प्रार्थनालाई अब नयाँ पुस्तासम्म पुर्याउनु अत्यन्त आवश्यक छ।
त्यस्तै नाकामोटो नोबुकोले प्रत्येक वर्ष जीवित बचेका पीडितहरूको संख्या घट्दै गइरहेको उल्लेख गर्दै नयाँ पुस्ताले शान्ति र आणविक हतियारविरुद्धको सन्देशलाई निरन्तर अघि बढाउनुपर्ने बताउनुभयो ।
उहाँले यस वर्ष छनोट भएका १४ जना नयाँ अभिलेखकर्ताले यो ऐतिहासिक जिम्मेवारीलाई निरन्तरता दिने विश्वास व्यक्त गर्नुभयो ।
सन् १९४५ अगस्ट ६ मा दोस्रो विश्वयुद्धको अन्तिम चरणमा अमेरिकाले हिरोसिमा शहरमा ‘लिटिल ब्वाय’ नामक परमाणु बम खसालेको थियो।
त्यस विस्फोट र त्यसपछिको विकिरणका कारण तत्काल तथा दीर्घकालीन रूपमा लाखौं मानिस प्रभावित भएका थिए। तीन दिनपछि अगस्ट ९ मा नागासाकीमा अर्को परमाणु बम खसालिएको थियो।

हिरोसिमा र नागासाकी आज पनि विश्व शान्ति, आणविक निःशस्त्रीकरण तथा युद्धविरुद्धको चेतनाका प्रतीकका रूपमा चिनिन्छन्। प्रत्येक वर्ष अगस्ट ६ मा आयोजित शान्ति स्मृति समारोहमा विश्वभरबाट प्रतिनिधिहरू सहभागी हुने गर्छन् र परमाणु हतियाररहित विश्वको आह्वान दोहोर्याइन्छ।
हिरोसिमाको यो नामावली अद्यावधिक कार्यक्रम केवल प्रशासनिक प्रक्रिया मात्र नभई युद्धका पीडा र शान्तिको सन्देशलाई पुस्तान्तरण गर्ने महत्वपूर्ण मानवीय अभियानका रूपमा पनि हेरिन्छ।




प्रतिक्रिया राख्नुहोस्