मलेसियामा सम्पन्न अन्तराष्ट्रिय महिला टि–ट्वान्टी शृङ्खला नेपालले जितेको छ । पाँच खेलको शृङ्खला ३–२ ले आफ्नो पक्षमा पार्दै नेपालले ट्रफी हात पारेको हो ।
शृङ्खलाको अन्तिम दिन बुधबार मलेसियाको बायोमास क्रिकेट ओभल मैदानमा भएको पाँचौँ खेलमा मलेसियालाई पाँच विकेटले पराजित गरेसँगै नेपालले शङ्खला जितेको हो ।
आज टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १०३ रनको योगफल बनाएको थियो ।मलेसियाले प्रस्तुत गरेको १०४ रनको लक्ष्य पच्छाएको नेपालले १८ ओभरमा पाँच विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।
नेपालका लागि रुवि पोदारले २६, पूजा महतोले २३, रुविना क्षेत्रीले अविजित १५ तथा सम्झना खड्काले १३ रन बनाउनुभयो । मलेसियाका लागि आइन हामिजा हसिम, नुर डानिया स्युहदा, आइसा एलिसा फिर्डाजु र नुर आल्याले समान एकएक विकेट लिनुभयो ।
मलेसियाका लागि विनिफ्रेड दुराइसिंघमले सर्वाधिक ४० रनको योगदान दिँदा माहिरा इज्जती इस्माइलले १९, आइन हामिजा हसिमले १५ र नुर डानिया स्युहदाले ११ रन बनाउनुभयो ।
नेपालका लागि कविता कुँवर र राजमति ऐरीले समान तीन/तीन विकेट लिनुभयो भने रचना चौधरीले एक विकेट हात पार्नुभयो । यसअघिको खेलमा मलेसिया तीन र १३ रनले विजयी हुँदा नेपालले दुवै खेलमा ६ विकेटको जित हासिल गरेको थियो ।





प्रतिक्रिया राख्नुहोस्