नेपाल ‘ए’ र ओमानको राष्ट्रिय टिमबीचको अभ्यास शृङ्खलाको अन्तिम खेलमा नेपाल ‘ए’ ले सानदार जित निकालेको छ । शुक्रबार भएको खेलमा नेपाल ‘ए’ ले ओमानमाथि १ सय १५ रनको सानदार जित निकालेको हो ।
काठमाडौंको माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८४ रन बनायो । नेपालको लागि तीन खेलाडीले अर्धशतकीय पारी खेले ।
नेपालको लागि इशान पाण्डेले ७८ बलको सामना गरेर ६ छक्का प्रहार गर्दै ६९, देव खनालले ९५ बलमा ५ चौकाको सहयोगमा ६४ र कुशल मल्लले ३२ बलमा ४ चौका र ४ छक्काको मद्दतमा ५७ रनको अर्धशतकीय इनिङ खेले । त्यस्तै सन्दीप जोराले २६ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ४२ रन जोड्दा सन्तोष यादव १५ रनमा अविजित रहे भने अर्जुन कुमालले १३ रन बनाए ।
ओमानका लागि जितेन रामनन्दीले दुई विकेट लिए भने तथा शकिल अहमद, नदिम खान, सिद्धार्थ भुकापटम र वासिम अलिको भागमा समान एक-एक विकेट रह्यो । नेपाल ‘ए’ले प्रस्तुत गरेको २ सय ८५ रनको लक्ष्य लिएर मैदान उत्रेको ओमान ३६ दशमलव ३ ओभरमा १ सय ६९ रनमा अल आउट भयो ।
ओमानको लागि मुजिबुर अलिले ४३ रन बनाए भने जितेन रामनन्दीले २४ रन जोडे । यस्तै विनायक शुक्लाले २१ रन जोडे । नेपालको लागि युवराज खत्रीले तीन विकेट लिए भने आकाश चन्द, हेमन्त धामी र शेर मल्लले समान दुई-दुई विकेट लिँदा सन्तोष यादवको भागमा एक विकेट रह्यो ।
भोलि शनिबारबाट नेपाल र युएईसँग विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न नेपाल आएको ओमानले अभ्यास खेल स्वरुप यो खेल खेलेको हो । यसअघि बुधबार भएको पहिलो अभ्यास खेलमा नेपाल ‘ए’ ओमानसँग ७० रनले पराजित भएको थियो ।





प्रतिक्रिया राख्नुहोस्