जयन्ती मावि आवासीयमा रुपान्तरण
म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा सामुदायिक विद्यालयलाई आवासीय रुपमा सञ्चालन गर्न थालिएको छ ।
भकिम्लीमा रहेको जयन्ती माविलाई समुदायको अगुवाइ, सक्रियता र बेनी नगरपालिकाको सहयोगमा आवासीयमा रुपान्तरण गरिएको हो । जयन्ती माविका प्राधानाध्यापक मनबहादुर पुनले अपायक पर्ने टोल, विपन्न र अनाथ बालबालिकालाई छात्रावास सञ्चालन गरेर आवासीय सुविधा दिन थालिएको बताउनुभयो ।
कमजोर विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गर्नु पनि आवासीय विद्यालय सञ्चालन गर्नुको अर्को उद्देश्य रहेको उहाँले बताउनुभयो । “अभिभावक नभएका, पारिवारिक समस्यामा परेका र विपन्न समुदायका बालबालिकालाई निशूल्क खाने, बस्ने ब्यवस्थासहित छात्रावास सञ्चालन गरेका हौँ,” प्रअ पुनले भन्नुभयो, “नयाँ शैक्षिक सत्रदेखि सुरु भएको छात्रावास र आवासीय सुविधा नगरपालिकाले सिफारिस गरेका अन्य वडाका बालबालिकालाई पनि दिने व्यवस्था मिलाइएको छ ।”
विद्यालय भवनको भुई तलाको दुई वटा कोठालाई छात्र र छात्राहरुको लागि फरक फरक आवासको व्यवस्था मिलाइएको छ । हाल दुई जना छात्रासहित आठ जना छात्रावासमा बस्ने गरेका छन् ।
विद्यालय वरपरका इच्छुक विद्यार्थीहरुलाई लक्षित गरेर बिहान ६ः०० देखि साँझ ६ः०० बजेसम्म अतिरिक्त कक्षा सञ्चालन तथा दिवा छात्रावास सञ्चाल गरिएको प्रअ पुनले बताउनुभयो ।
दिवा छात्रावासमा ३० जना विद्यार्थी छन् । छात्रावासमा बस्न थालेपछि दैनिक दुई घण्टा पैदल हिँडेर घरबाट विद्यालय जानुपर्ने समस्या हटेको बेनी नगरपालिका–३ हल्लेगौडाकी अस्मी घर्तीमगरले बताउनुभयो । अस्मी जयन्ति माविको कक्षा ८ का छात्रा हुनुहन्छ ।
कक्षा १० सम्म पठनपाठन हुने विद्यालयमा कूल विद्यार्थी सङ्ख्या एक सय २१ जना छन् । छात्रावासमा बस्ने विपन्न विद्यार्थीका लागि खाने, बस्ने सहित पोशाक, सरसफाइ सामग्री, झोला, कापी कलम पनि निःशुल्क उपलब्ध गराइएको प्रअ पुनले बताउनुभयो ।
दुई जना शिक्षकलाई अतिरिक्त सुविधा दिएर छात्रावास व्यवस्थापनको जिम्मेवारी दिइएको छ । विद्यालय नजिक घर भएका शिक्षकहरुले आलोपालो गरेर छात्रावासका विद्यार्थीलाई पढाउने गर्नुभएको छ । हालसम्म समुदायस्तरमा सहयोग जुटाएर एक जना भान्छेको तलब, खाद्यान्न र तरकारीको व्यवस्थापन गरिएको छ ।
छात्रावास र दिवा खाजाका लागि एक वटा प्लास्टिक घर बनाएर तरकारीखेती पनि गरिएको शिक्षक डेक घर्तीले बताउनुभयो । बेनी नगरपालिकाले जयन्ती माविलाई आवासीय विद्यालयको रुपमा सञ्चालनका लागि निरन्तरता दिने योजना बनाएको छ ।
बेनी –३ का वडाध्यक्ष पदम पुनले जयन्ती माविको छात्रावास सञ्चालन र व्यवस्थापनका लागि नगरपालिकाले यस आर्थिक वर्ष २०८३/८४ मा रु सात लाख विनियोजन गरेको जानकारी दिनुभयो ।




प्रतिक्रिया राख्नुहोस्