विश्व समाचार

सिनेटर स्यान्डर्सको आग्रह- ‘मस्कलाई रोकौँ, धनाढ्यको राजनीतिक एकाधिकार अन्त्य गरौँ’

अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले स्पेसएक्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा अर्बपति इलन मस्कले आगामी अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीलाई सहयोग गर्न ३६ करोड ६० लाख अमेरिकी डलर खर्च गरेको भन्ने विवरणप्रति सोमबार आलोचना गर्नुभएको छ।

उहाँले मस्कले आफ्नो विशाल सम्पत्ति प्रयोग गरेर अमेरिकी राजनीतिमा प्रभाव पार्न खोजेको आरोप लगाउँदै धनाढ्यहरूको राजनीतिक एकाधिकार अन्त्य गर्न आह्वान गर्नुभएको छ।

सामाजिक सञ्जाल एक्समा लेख्दै स्यान्डर्सले मस्कको राजनीतिक खर्चलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष निर्वाचन जितेपछि मस्कको सम्पत्तिमा भएको वृद्धिसँग जोड्नुभएको छ।

मस्कले आर्थिक रूपमा ठूलो लाभ हासिल गरिसके पनि संसद्मा रिपब्लिकन पार्टीको नियन्त्रण कायम राख्न थप रकम खर्च गरिरहेको उहाँको भनाइ छ।

स्यान्डर्सले लेख्नुभएको छ, “ट्रम्पलाई निर्वाचित गराउन इलन मस्कले २९ करोड अमेरिकी डलर खर्च गर्नुभयो। त्यसको प्रतिफल पनि पाउनुभयो। ट्रम्प निर्वाचित भएयता मस्कको सम्पत्ति ६ खर्ब ९६ अर्ब डलरले बढ्यो र उहाँ विश्वकै पहिलो ट्रिलियनेयर (एक हजार अर्ब डलरभन्दा बढी सम्पत्ति भएका व्यक्ति) बन्नुभयो।

तर, त्यो पनि पर्याप्त भएन। अहिले मस्कले संसद्मा रिपब्लिकनहरूको नियन्त्रण कायम राख्न ३६ करोड ६० लाख डलर खर्च गरिरहनुभएको छ। मस्कलाई रोकौँ, धनाढ्यहरूको एकाधिकार अन्त्य गरौँ।”

अमेरिकामा मध्यावधि निर्वाचनको तयारी भइरहेका बेला मस्कको राजनीतिक खर्चबारे चर्चा बढेको छ। द न्युयोर्क टाइम्सले सोमबार प्रकाशित गरेको समाचारअनुसार, मस्कले जुलाईयता मात्रै २७ करोड ६० लाख अमेरिकी डलर खर्च गरिसक्नुभएको छ।

त्यसमध्ये १५ करोड ८० लाख डलर रिपब्लिकन सिनेट उम्मेदवारलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको ‘सुपर पीएसी’ मा खर्च गरिएको छ। यसले उहाँलाई यस वर्षको सबैभन्दा ठूलो एकल राजनीतिक दाता बनाएको समाचारमा उल्लेख छ।

‘अमेरिका पीएसी’ का प्रवक्ता एन्ड्र्यु रोमियोले द न्युयोर्क टाइम्स सँग भन्नुभएको छ, “यी ठूला लगानीले रिपब्लिकन पार्टीको संयन्त्रलाई आफ्नो सन्देश जनतासम्म पुर्‍याउन सहयोग गरेका छन्, जसले गर्दा रिपब्लिकनहरूले विगतका निर्वाचनको प्रवृत्तिलाई उल्ट्याउन प्रतिस्पर्धा गर्ने अवसर पाएका छन्।”

भारतमा पनि एकाधिकारको आरोप

स्पेसएक्सका सीईओ तथा विश्वकै धनी प्रविधि उद्यमी मस्क भारतमा पनि चर्चामा हुनुहुन्छ। उहाँले भारतको स्याटेलाइट सञ्चार बजारमा आफ्नो कम्पनी स्टारलिंकको प्रवेश रोक्न शक्तिशाली व्यावसायिक समूहहरूले अवरोध गरिरहेको आरोप लगाउनुभएको छ।

भारतमा स्टारलिंकको आवश्यकता रहेको विषयमा एक्समा भएको छलफलको जवाफ दिँदै मस्कले आफ्नो कम्पनीलाई बजारमा प्रवेश गर्न नदिएर केही शक्तिशाली व्यावसायिक समूहले आफ्नो बजार हिस्सा जोगाउन खोजेको आरोप लगाउनुभएको हो।

मस्कले लेख्नुभएको छ, “दुर्भाग्यवश, भारतीय जनतामाथि आफ्नो एकाधिकार कायम राख्न केही धनाढ्य समूहले हामी (स्टारलिंक) लाई रोकिरहेका छन्। ती को हुन् भन्ने तपाईंले अनुमान गर्न सक्नुहुन्छ… यो भारतीय जनताविरुद्धको अपराध हो।”

तर, भारतको सञ्चार मन्त्रालयले भने स्याटेलाइट सञ्चार सेवाका लागि देशको नियामकीय व्यवस्था निष्पक्ष र भेदभावरहित रहेको जनाएको छ। मन्त्रालयका अनुसार, सबै अनुमतिप्राप्त सेवा प्रदायकले प्राधिकरण प्रक्रियाको अर्को चरणमा प्रवेश गर्नुअघि लागू सुरक्षा मापदण्ड पूरा गर्नुपर्छ।

मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ, “सरकारले स्याटेलाइट सञ्चार सेवासहित सबै दूरसञ्चार सेवाका लागि निष्पक्ष र भेदभावरहित अनुमति प्रणाली लागू गरेको छ।”

मन्त्रालयले गैरभूस्थिर उपग्रह कक्ष प्रविधिमा आधारित मोबाइल व्यक्तिगत स्याटेलाइट सञ्चार सेवा प्रदान गर्ने तीनवटा अन्तर्राष्ट्रिय कम्पनीलाई दूरसञ्चार अनुमतिपत्र दिइसकेको पनि स्पष्ट पारेको छ। ती तीनै कम्पनीको सुरक्षा मूल्याङ्कन भइरहेको मन्त्रालयको भनाइ छ।

प्रयोगकर्ता र उनीहरूको तथ्याङ्कको सुरक्षा सुनिश्चित गर्न प्रत्येक अनुमतिपत्र प्राप्त कम्पनीले निर्धारित सुरक्षा सर्त पूरा गरेको प्रमाणित गर्नुपर्ने मन्त्रालयले जनाएको छ। सम्बन्धित मूल्याङ्कन प्रक्रिया पूरा भएपछि रेडियो स्पेक्ट्रम प्राप्त गर्ने प्रक्रिया अघि बढाउन सकिने पनि मन्त्रालयले स्पष्ट पारेको छ।

मस्ककै राजनीतिक खर्चमाथि प्रश्न

भारतमा बजारमाथि एकाधिकार कायम राख्न खोजेको भन्दै अज्ञात व्यावसायिक समूहको आलोचना गरिरहेका मस्कको आफ्नै राजनीतिक खर्चले भने अमेरिकामा धनाढ्यहरूको प्रभावबारे प्रश्न उठाएको छ।

मस्कले भारतमा केही शक्तिशाली व्यावसायिक समूहले बजारमा आफ्नो प्रभुत्व जोगाउन खोजेको आरोप लगाइरहँदा अमेरिकामा रिपब्लिकन उम्मेदवार र संसद्मा उक्त पार्टीको नियन्त्रण कायम राख्ने प्रयासलाई सहयोग गर्न करोडौँ डलर खर्च गरेको विवरण सार्वजनिक भएको छ।

स्यान्डर्सले आफ्नो आलोचनामार्फत राजनीतिक प्रभाव केही धनी व्यक्तिको हातमा केन्द्रित हुँदै गएको विषय उठाउनुभएको छ। मस्कको बढ्दो सम्पत्ति र निरन्तरको राजनीतिक खर्चले अमेरिकी राजनीतिक प्रणालीमा अर्बपतिहरूको आर्थिक शक्तिले पार्ने प्रभाव देखाएको उहाँको तर्क छ।

समाचार स्रोत- एएनआई, तस्वीर एआई सिर्जित

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.