बिचार

‘जेनजी सरकार पनि उही ड्याङका मूला !’

‘नेपो बेबी’हरूको सरकार, भ्रष्टहरूको सरकार, बेथितिको सरकार, असक्षम सरकार भन्याजस्ता अनेकौँ विभूषणले सत्तोसराप गरेर पुराना दलको सरकारको खेदो खनेर नथाकेका जेनजीहरू अहिले तिनैको सरकार छ।

मूल्यवृद्धिले आकाश छोइसक्यो। नुनदेखि सुनसम्मका अर्थात् मानिसले प्रयोग गर्ने हरेक वस्तुमा सयदेखि तीन सय प्रतिशतसम्म मूल्य बढ्या छ। दशैँको बेला मूल्यवृद्धि गर्न दिन्नँ भन्नेदेखि दैनिक बजार अनुगमनका समाचार तिनै जेनजीका सञ्जालमा भाइरल बनिराछन्।

तर मूल्यवृद्धि गर्ने तिनै व्यापारीलाई कारबाही गरेको र मूल्य घटाएको समाचार कैल्यै आउन्न। तर उल्टै दूरसञ्चारले दिने नेटको सेवामा समेत धान्न नसकिने मूल्यवृद्धि गरेर अनर्गल प्रचार गरिएको छ। तर, सरकार भने मूल्यवृद्धि भा’ छैन भन्ने प्रेस विज्ञप्ति भाइरल गर्न लाउँछ।

अनि दूरसञ्चार पुराना सम्पूर्ण प्याकेज हटाएर नयाँ प्याकेज जारी गर्छ। पुरानै प्याकेजको क्षमताले प्रशस्त पुग्ने वाईफाई चलाउने ग्राहक जबर्जस्ती नयाँ प्याकेज लिन बाध्य छन्। जुन सामान्य जनताले त्यो प्याकेज प्रयोग गर्न पनि सक्दैनन्। र, उनीहरूलाई त्यो प्याकेज आवश्यक पनि छैन।

जनताको क्रयशक्ति बढाउने कुनै पनि काम यो सात महिनाको सरकारले कहीँकतै गर्न सक्या छैन। खाली बजार मूल्यवृद्धि नगर्नु, गरे कारबाही हुन्छ भन्ने उर्दी जारी गरेको गर्‍यै छ।

यै सूचना गरेपछि सरकारको जिम्मेवारी पूरा भएको सम्झने यो सरकारले आफ्नो भान्छा र वरिपरि मूल्यवृद्धि भएको देखेको होला कि नाइँ, जनताहरू दिक्क छन्।

अहिलेको बजारको मूल्यवृद्धिले “जति जोगी आए नि कानै चिरिएका” भन्ने उखानलाई ठ्याक्कै चरितार्थ गरेको छ। आखिर जसरी हिजोको सरकार जनताप्रति जिम्मेवार थिएन र जिम्मेवार बनाउने सरकार ल्याउँछम् भनेर जेनजीको रूप धारण गरेर जसरी अहिलेको सरकारको नेतृत्व गर्नेहरू आए, तर यो नै सरकारले पनि जनताप्रतिको जिम्मेवारी सम्झेको कतै देखिएन।

जताततै हिजोको जस्तै अस्थिरता छ। सरकारी कार्यालय वा सङ्घसंस्थामा काम गराइको तौरतरिका र प्रोसेसहरू हिजो जस्ता थिए, आज पनि त्यस्तै छन्।

हिन्दु नेपाली मात्रको महान् चाड दशैँको मुखैमा बजारको मूल्यवृद्धिले जनतालाई थला पारेको छ। चाडबाड भनेर जनतामा कुनै उत्साह र केटाकेटीमा कुनै उमङ्ग र खुसीयाली छैन। हरेक नेपालीले दशैँमा राम्रो लाउने, मिठो खाने ख्वाब पालेर वर्ष दिनदेखि कुरेर बसेको हुन्छ।

तर, यै दशैँको मुखमा आएर व्यापारीहरूले मूल्यवृद्धि गरेर रातारात कमाउने अवसर खोज्दा जनता देशमा सरकारै नभएजसरी मूल्यवृद्धि सहन बाध्य छन्। सरकार भने यो अवस्थालाई रोक्नुको सट्टा टुलुटुलु हेरेर बसिरहेको छ।

र, पनि सरकारका दासहरू भने आँखा चिम्लिएर लम्पसार परेर सरकारको गुणगानमा मस्त छन् भने सरकारको वाहवाही नगर्नेहरूप्रति आक्रामक शैलीमा खनिएको खनियै छन्।

यही अवस्था देशमा रहिरह्यो भने केही महिनाभित्रै मान्छेहरू दुई छाक खान नपाएर मर्ने अवस्थामा पुग्नेछन् भने समाजमा अहिले देखिएको अस्थिर अवस्था र सर्वसाधारणप्रति सरकारले सुरक्षा दिन नसकेर दैनिक समाजमा जसरी घटना घटिरहेका छन् र सामान्य नागरिकले असुरक्षाको महसुस गरिरहेका छन्, यसले जेनजी सरकारको असफलताको बाटोबाहेक अरू केही कोरिरहेको छैन।

सरकारको गिर्दो साखलाई बचाउने हो भने सरकार सचेत बनोस् र जनताका आवश्यकताका काम गरोस्। हैन भने जनताले यो सरकारलाई पनि तिनै पुराना दलको कोटिमा पुर्‍याउनेछन्। प्रधानमन्त्रीज्यू, हेक्का रहोस् ! पुराना दललाई लखेट्ने जनताले नयाँलाई लखेट्दैनन् भन्ने के ग्यारेन्टी छ र?

चेतना भया!

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.