जन सरोकार

चाडपर्व लक्षित सुरक्षा : सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन

दशैँ, तिहार तथा छठलगायतका प्रमुख चाडपर्वलाई लक्षित गरी काठमाडौँ उपत्यकामा तीन हजार ५०६ जना प्रहरी परिचालन गरिएको छ । चाडपर्वका समयमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गरी नागरिकलाई सुरक्षित र निधक्कसँग पर्व मनाउने वातावरण बनाउन प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार चाडपर्वको समयमा बजार, सार्वजनिकस्थल, यातायात तथा नागरिकको बढी आवतजावत हुने क्षेत्रमा हुनसक्ने चोरी, लुटपाट, ठगीलगायतका आपराधिक गतिविधि नियन्त्रण गर्न विशेष योजनाकासाथ प्रहरी परिचालन गरिएको छ ।

चाडपर्व मनाउन घरबाहिर निस्कने, किनमेलका लागि बजार जाने तथा विभिन्न स्थानमा यात्रा गर्ने नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर सुरक्षा व्यवस्था मिलाइएको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार चाडपर्व लक्षित सुरक्षा व्यवस्थाअन्तर्गत परिचालन गरिएका प्रहरीमध्ये एक सय जना सादा पोसाकमा छन् । उनीहरूले सार्वजनिकस्थल तथा भीडभाड हुने क्षेत्रमा निगरानी गर्ने, शङ्कास्पद गतिविधिको पहिचान गर्ने र सम्भावित आपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोग पुर्याउने छन् ।

प्रहरीले परम्परागत सुरक्षा गस्तीका अतिरिक्त प्रविधिको प्रयोगलाई समेत प्राथमिकता दिएको छ । सुरक्षा निगरानीका लागि सामुदायिक सेवा केन्द्र, ड्रोन क्यामेरा, सामाजिक सञ्जाल तथा तालिमप्राप्त कुकुरको प्रयोग गरिएको परिसरले जनाएको छ ।

प्रविधि र जनशक्तिको समन्वयबाट शङ्कास्पद गतिविधिको पहिचान तथा सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाइने उपरीक्षक थापाले बताउनुभयो ।

भीडभाड हुने क्षेत्र सुरक्षाको प्राथमिकतामा

चाडपर्वका समयमा सर्वसाधारणको चहलपहल बढ्ने भएकाले सार्वजनिकस्थल, बसपार्क, वित्तीय संस्था तथा तिनका आसपासका क्षेत्र, सरकारी कार्यालय र चाडपर्व लक्षित बजारमा विशेष निगरानी बढाइएको छ । नागरिकको बढी भीडभाड हुने स्थानमा नियमित प्रहरीसँगै सादा पोसाकका प्रहरीसमेत परिचालन गरिएको प्रवक्ता थापाले जानकारी दिनुभयो ।

दशैँ तथा तिहारका समयमा किनमेल गर्ने, घर फर्किने र आफन्तकहाँ जाने सर्वसाधारणको सङ्ख्या बढ्ने हुँदा बजार तथा यातायातका केन्द्रमा सुरक्षा चुनौतीसमेत बढ्न सक्ने प्रहरीको आकलन छ । त्यस्ता क्षेत्रमा चोरी, पाकेटमारी, ठगी तथा अन्य अवाञ्छित गतिविधि हुन नदिन प्रहरी टोलीलाई सक्रिय बनाइएको प्ररिसरले जनाएको छ ।

त्यस्तै वित्तीय संस्था तथा आर्थिक कारोबार हुने क्षेत्रको सुरक्षामा पनि ध्यान दिइएको छ । चाडपर्वका समयमा सर्वसाधारणले किनमेल तथा अन्य प्रयोजनका लागि रकम बोकेर हिँड्ने भएकाले सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्न निगरानी बढाइएको प्रहरीले जनाएको छ ।

चौध सेक्टरमा सुरक्षा योजना लागू

चाडपर्वका समयमा सुरक्षा व्यवस्थालाई व्यवस्थित र प्रभावकारी बनाउन काठमाडौँ उपत्यकाका १४ वटा सेक्टरलाई लक्षित गरी सुरक्षा योजना लागू गरिएको प्रहरी उपरीक्षक थापाले बताउनुभयो । उहाँका अनुसार ती सेक्टरमा सम्बन्धित प्रहरी वृत्तका प्रमुखलाई परिचालन गरी सुरक्षा व्यवस्थाको प्रत्यक्ष निगरानी गर्ने व्यवस्था मिलाइएको छ ।

उहाँले भन्नुभयो, “हामीले उपत्यकाका १४ वटा सेक्टरलाई लक्षित गरी सुरक्षा योजना लागू गरेका छौँ । ती सेक्टरमा प्रहरी वृत्त प्रमुख खटिनेछन् भने त्यसको निगरानी परिसरले गर्नेछ । परिसर प्रमुख र सिनियर अधिकृत पनि उक्त सुरक्षा योजनाअनुसार खटिनुहुनेछ ।”

सेक्टरगत रूपमा जिम्मेवारीले सम्बन्धित क्षेत्रमा प्रहरीको उपस्थितिलाई प्रभावकारी बनाउन र घटनाको सूचना प्राप्त भएपछि तत्काल परिचालन हुन सहज हुने प्रहरीको भनाइ छ । प्रहरी वृत्तका प्रमुखले आफ्नो क्षेत्रको सुरक्षा अवस्थाबारे निगरानी गर्ने तथा जिल्ला प्रहरी परिसरले समग्र सुरक्षा व्यवस्थाको अनुगमन गर्नेछ ।

सुरक्षा योजनाअन्तर्गत प्रहरी जनशक्तिको परिचालन, नियमित गस्ती, शङ्कास्पद गतिविधिको निगरानी तथा आवश्यकताअनुसार तत्काल प्रहरी टोली परिचालन गर्ने व्यवस्थालाई प्राथमिकता दिइएको छ । सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन परिसर प्रमुखसहित वरिष्ठ प्रहरी अधिकृत पनि योजनाको अनुगमन तथा कार्यान्वयनमा संलग्न हुनेछन् ।

चाडपर्व ढुक्कसँग मनाउने वातावरण बनाउँदै प्रहरी

आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीको सक्रियता बढाइएकाले नागरिकले निर्धक्कसँग चाडपर्व मनाउन सक्ने वातावरण बनाउनु सुरक्षा योजनाको मुख्य उद्देश्य रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, दशैँ, तिहार र छठका अवसरमा बजारमा किनमेल गर्नेको चाप, सार्वजनिक यातायातमा बढदो यात्रुको आवागमन तथा विभिन्न स्थानमा धार्मिक र सांस्कृतिक गतिविधि सञ्चालन हुने भएकाले सुरक्षा व्यवस्थालाई चुस्त बनाइएको छ । त्यस अवधिमा सार्वजनिक स्थानको निगरानीदेखि शङ्कास्पद गतिविधिको पहिचानसम्मका काममा प्रहरीलाई परिचालन गरिएको छ ।

प्रहरीले जनशक्ति परिचालनसँगै प्रविधिको प्रयोग र विभिन्न निकायसँगको समन्वयलाई समेत प्राथमिकता दिएको छ । सादा पोसाकका प्रहरी, ड्रोन क्यामेरा तथा तालिमप्राप्त कुकुरको प्रयोगले सुरक्षा निगरानीलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको प्रहरीको भनाइ छ ।

यसैबीच, चाडपर्वमा हुने सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीको सक्रियता महत्त्वपूर्ण हुने भएकाले सर्वसाधारणलाई पनि सचेत रहन प्रहरीले आग्रह गरेको छ ।

आफ्नो घर तथा सम्पत्तिको सुरक्षामा ध्यान दिन, अपरिचित व्यक्तिको गतिविधिप्रति सचेत रहन र शङ्कास्पद गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.