जन सरोकार

प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन

म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड १८ दिनपछि पुनःसञ्चालनमा आएको छ ।

असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढी र पहिरोले कुण्डका संरचनामा क्षति पुर्याएको थियो । म्याग्दी नदीको किनारमा रहेको कुण्डमा हिलो, बालुवा र गेग्रान थुप्रिएपछि स्नान सेवा बन्द गरिएको थियो ।

मुख्य पोखरी र परिसरमा थुप्रिएको लेदो श्रमदानबाट हटाएर स्नानयोग्य बनाएपछि बुधबारदेखि कुण्ड सञ्चालनमा ल्याइएको व्यवस्थापन समितिका सचिव अमर केसी (कुमार)ले जानकारी दिनुभयो ।

“पुनःसञ्चालन भएको पहिलो दिन २० देखि २५ जनाले स्नान गर्नुभएको छ”, उहाँले भन्नुभयो, “दशैंपछि स्नान गर्न आउनेको सङ्ख्या बढ्ने अपेक्षा गरेका छौँ ।”

असोज र कात्तिक तातोपानी कुण्डमा स्नान गर्ने मुख्य याम हो । यही समयमा कुण्ड बन्द हुँदा स्थानीय व्यापार व्यवसायसमेत प्रभावित भएको थियो । कुण्डमा तीन वटा पोखरी छन् ।

तीमध्ये उपचारका लागि बिरामीले स्नान गर्ने ठूलो र माथिल्लो पोखरीमा बाढी पसेर हिलो थुप्रिएको थियो । पर्यटकका लागि बनाइएको सानो पोखरी बाढीले भत्काएको थियो ।

कुण्ड परिसरका अन्य संरचनामा क्षति पुगेको छ । कपडा फेर्ने भवन र तातोपानी भण्डारण गर्ने ट्याङ्की रहेको भवन पहिरोले भत्काएको छ । खुला स्नानस्थल पनि पहिरोले पुरिएको छ ।

श्रमदानबाट मुख्य पोखरीमा थुप्रिएको हिलो र लेदो हटाइएको हो । अन्य पोखरी तथा क्षतिग्रस्त संरचना मर्मत गर्न समितिले आर्थिक स्रोत खोजिरहेको छ ।

कुण्डको पुनःनिर्माण र संरक्षणका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग सहयोग माग गरिएको व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले बताउनुभयो । उहाँका अनुसार बाढीपहिरोबाट रु दुई करोडभन्दा बढीको भौतिक क्षति भएको छ ।

“सिङ्गाका विभिन्न टोल, युवा क्लब, आमा समूह, नेपाली सेना र सशस्त्र प्रहरीले श्रमदान गरेका छन्”, उहाँले भन्नुभयो, “दाता तथा विभिन्न सङ्घसंस्थाको सहयोगमा पुनःनिर्माण गरिएको हो ।” पुनःनिर्माण अभियानमा एक हजार ३०० भन्दाबढी स्थानीयवासी, सुरक्षाकर्मी र सङ्घसंस्थाका प्रतिनिधिले श्रमदान गरेका थिए ।

गत आव २०८२/८३ मा २१ हजारभन्दा बढीले यस कुण्डमा स्नान गरेका थिए । नेपालका ७७ वटै जिल्लाका साथै विदेशबाट प्राकृतिक उपचारका लागि यहाँ मानिस आउने गरेका छन् ।

म्याग्दी नदी किनारमा प्राकृतिक रूपमा निस्कने तातोपानी सङ्कलन गरी पोखरीमा स्नान गर्ने व्यवस्था मिलाइएको छ । यहाँको पानीको तापक्रम करिब ५० डिग्री सेल्सियस रहेको छ । पानीमा बिरेनुनको जस्तो गन्ध आउने गर्छ ।

तातोपानीमा स्नान गर्दा छालासम्बन्धी समस्या, ग्यास्ट्रिक, बाथ तथा चोटपटकका समस्या निको हुने जनविश्वास र अनुभव छ । असोजदेखि वैशाखसम्म तातोपानी कुण्डमा स्नान गर्न उपयुक्त याम मानिन्छ । नौ दिन स्नान गर्नका लागि रु ५०० शुल्क तोकिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.