जन सरोकार

घ्यूको नाममा प्रतिबन्धित रसायन मिसिएको चिल्लो पदार्थ जफत जफत गरी नष्ट

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित एक पसलबाट प्रतिबन्धित चिल्लो पदार्थ जफत गरी नष्ट गरेको छ । उक्त कार्यालयबाट शुक्रबार बजार अनुगमन तथा निरीक्षणमा गएको टोलीले वीरेन्द्रनगरको पुजा पसल तथा स्टोरबाट पुजामा प्रयोग गर्ने घ्यूको नाममा प्रतिबन्धित रसायन मिसिएको चिल्लो पदार्थ जफत गरेको थियो ।

उक्त जफत गरिएको चिल्लो पदार्थका करिब दुई दर्जन श्रीकृष्ण पुजा घ्यू लेखिएका सबै बट्टा जफत गरी आजै नष्ट गरिएको कार्यालयका सूचना अधिकारी सन्तोष दाहालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “दशैं तिहारलाई लक्षित गरेर खाद्य प्रविधि तथा गुण नियन्त्रण प्रविधि विभागले पुजा, होम, हवन तथा दीप प्रज्ज्वलनका लागि तयार गरिने चिल्लो पदार्थलाई घ्यूका रूपमा उत्पादन गरी बिक्री वितरणकार्यलाई प्रतिबन्ध लगाइएको सूचना जारी गरेको छ । यद्यपि देशका विभिन्न सहर तथा बजारमा सो प्रतिबन्धित पदार्थ बेचिएको छ । यो अवैधकार्य हो, जुन सुर्खेत वीरेन्द्रनगरमा पनि भेटिएको छ ।”

पहिलो पटक भएकोले पसल धनीलाई सचेत बनाइएको र पुनः भेटिएमा कारवाहीका लागि सिफारिस गरिने चेतावनी दिइएको सूचना अधिकारी दाहालले बताउनुभयो ।

चाडपर्वका बेला मान्छेको भीड धेरै हुने र त्यस्तो चापाचापको बेलो व्यापारीले कालो बजारी गर्ने अवस्थालाई ध्यानमा राखेर बजार अनुगमनलाई नियमित र तीव्र बनाइएको उहाँको भनाइ थियो ।

उक्त कार्यालयका प्रमुख श्रीराम न्यौपानेका अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले सीमित जनशक्ति र स्रोत साधनका बाबजुद पनि कर्णाली प्रदेशका दशमध्ये सात जिल्लालाई आफ्नो कार्य क्षेत्र बनाएर खाद्य स्वच्छता कायम गर्ने अभियानलाई स्थानीय तह तथा अन्य सरोकारवालासँगको समन्वयमा अगाडि बढाउँदै मिति नाघेका एवं अखाद्य वस्तु बिक्री वितरण हुन नदिन नियमित अनुगमन तथा निरीक्षण गर्दै आइरहेको छ । जुम्ला कार्यालयले भने जुम्ला, मुगु र कालीकोट जिल्लालाई हेर्दै आएको जनाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.