राजनीति

नागरिकको विश्वास जित्ने पार्टी बनाउँछु : सभापति थापा

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्र बनाउँदै लोकतन्त्र, सामाजिक न्याय र नागरिकको गरिमाका पक्षमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

पार्टीको केन्द्रीय निर्वाचन समितिद्वारा शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित शपथग्रहणपछि सम्बोधन गर्दै सभापति थापाले आगामी चार वर्ष पार्टीका आन्तरिक गतिविधिभन्दा नागरिकका मुद्दा, समस्या र अपेक्षालाई प्राथमिकता दिने बताउनुभयो।

उहाँले बदलिँदो नेपाली समाजका प्रश्नको जवाफ दिन सक्ने वैचारिक नेतृत्व निर्माण गर्नुका साथै पार्टी सङ्गठनलाई आधुनिक, पारदर्शी र जवाफदेही बनाउने प्रतिबद्धता जनाउनुभयो।

“आगामी चार वर्षमा पार्टीका आन्तरिक गतिविधिभन्दा नागरिकका मुद्दा र समस्यालाई प्राथमिकता दिने छौँ। कांग्रेसलाई आजको नेपाली समाजका प्रश्नको जवाफ दिन सक्ने वैचारिक नेतृत्वका रूपमा अघि बढाउने र सङ्गठनलाई आधुनिक बनाउने छौँ,” उहाँले भन्नुभयो।

युवादेखि किसानसम्मलाई सामाजिक आन्दोलनमा जोड्ने तथा पार्टीभित्र सहमत र असहमत सबै पक्षलाई समेटेर अघि बढ्ने उहाँको भनाइ थियो।

सभापति थापाले नेतृत्वको पदलाई अधिकारभन्दा जिम्मेवारीका रूपमा लिनुपर्ने उल्लेख गर्दै आफ्नो गल्तीको भार पार्टीलाई बोक्न नदिने स्पष्ट पार्नुभयो। व्यक्तिका कमजोरीको जिम्मेवारी सम्बन्धित व्यक्तिले नै लिनुपर्ने भन्दै उहाँले नेतृत्वमा पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्व कायम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कांग्रेसलाई केवल चुनावमा प्रतिस्पर्धा गर्ने राजनीतिक सङ्गठनका रूपमा सीमित नराखी नागरिकका दैनिक समस्या सम्बोधन गर्ने र सामाजिक परिवर्तनको नेतृत्व गर्ने संस्थाका रूपमा विकास गर्नुपर्ने उहाँको भनाइ थियो।

पार्टीको वैचारिक स्पष्टता, सङ्गठनात्मक सुधार र नागरिकसँगको सम्बन्धलाई प्राथमिकतामा राख्ने प्रतिबद्धताले नयाँ नेतृत्वसामु पार्टीलाई जनविश्वासको केन्द्रमा स्थापित गर्ने चुनौतीसमेत देखाएको छ।

हालैको प्राकृतिक विपत्तिका कारण धेरै परिवार शोक र अभावमा रहेकाले यस वर्ष दसैँ तडकभडकपूर्ण रूपमा नमनाउने निर्णय गरिएको पनि सभापति थापाले जानकारी दिनुभयो।

विपत्तिबाट प्रभावित तथा आफन्त गुमाएका परिवारको पीडामा साथ दिन र सामाजिक सद्भाव कायम राख्न उहाँले पार्टीका नेता–कार्यकर्ता तथा आमनागरिकलाई आग्रह गर्नुभयो।

कार्यक्रममा केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले छोटो समयमा तय गरिएको कार्यतालिकाअनुसार निर्वाचन प्रक्रिया सम्पन्न भएको बताउनुभयो। उहाँले कांग्रेसको इतिहासमा १६५ वटै निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न गरी केन्द्रीय महाधिवेशन गर्न सफल भएको जानकारी दिनुभयो।

संयोजक खड्काले नवनिर्वाचित सभापति थापालाई देशमा बढ्दो राजनीतिक अनुशासनहीनतालाई सही दिशामा ल्याउन, सार्वभौम सत्ताको संरक्षण गर्न तथा नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकार र मानव अधिकारको रक्षाका लागि प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो।

सभापति थापाको नेतृत्वमा कांग्रेसले नागरिकका मुद्दालाई केन्द्रमा राख्ने, आन्तरिक एकता कायम गर्ने र सङ्गठनलाई समयानुकूल रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। अब ती प्रतिबद्धतालाई व्यवहारमा उतार्दै नागरिकको विश्वास जित्नु नयाँ नेतृत्वको प्रमुख चुनौती हुनेछ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.