निर्वाचनमा सहभागी नहुने एमाले निर्णयप्रति राष्ट्रपति असन्तुष्ट, बौद्धिक जगतसंग छलफल
जेनजी आन्दोलनका कारण विघटित भएको प्रतिनिधिसभाको फागुन २१ गते तय भएको निर्वाचनमा प्रमुख दुई दलको स्पष्ट धारणा बाहिर नआउँदा राष्ट्रपति रामचन्द्र पौडेलले सक्रियता बढाउनुभएको छ ।
दलहरुका शीर्ष नेताहरु निर्वाचनभन्दा संसद पुनःस्थापनाका कुरा बढी गर्न थालेपछि राष्ट्रपति पौडेलले यसप्रति असन्तुष्टि जनाउँदै बौद्धिक व्यक्तिहरुसंग छलफल गर्नुभएको छ ।
शनिबार राष्ट्पति भवन शितल निवासमा बौद्धिक समुदायका ११ जना अगुवाहरूलाई छलफलका लागि बोलाएर सरकार र राजनीतिक दलहरूलाई खबरदारी गरिदिन आग्रह गर्नुभएको छ ।
छलफलका क्रममा राष्ट्रपति पौडेल नेकपा एमालेको केन्द्रीय कमिटीले शुक्रबार गरेको निर्णय र पूर्व प्रधानमन्त्री केपी ओलीले निर्वाचनमा नजाने घोषणाप्रति बढी असन्तुष्ट हुनुहुन्थ्यो ।
एमाले अध्यक्ष ओलीले शुक्रबार केन्द्रीय कमिटी बैठकको समापनमा सम्बोधनका क्रममा आगामी २१ फागुनका लागि तय भएको निर्वाचनमा सहभागी नहुने घोषणा गर्नुभएको थियो ।
छलफलका क्रममा राष्ट्रपति पौडेलले ओलीकै सिफारिसमा आफूले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको स्पष्ट पार्नुभएको थियो ।
छलफलमा राष्ट्रपतिले दलहरूलाई आगामी २१ फागुनका लागि निर्धारण भएको निर्वाचनमा जानका लागि र सरकारलाई समयमै निर्वाचन गर्न तथा जनता र जेनजी पुस्ताको भवनाअनुसार सरकार सञ्चालन गर्न खबरदारी गरिदिन आग्रह गर्नुभएको छ ।
छलफलमा सहभागी राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेले भन्नुभयो, ‘सरकारलाई निर्वाचन गर्न, जनता र जेनजी पुस्ताको भावनाअनुसार सरकार सञ्चालन गर्न खबरदारी गर्नुस् भन्ने कुरा गर्नुभयो ।’
राष्ट्रपति पौडेलले छलफलका लागि त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा, राजनीतिक शास्त्रीहरू लोकराज बराल, कृष्ण खनालसँगै हरि शर्मा, गेजा शर्मा वाग्ले, इन्द्र अधिकारी, मुमाराम खनाल, केशव दाहाल, तुलानारायण साह, कसमस विश्वकर्मा र उद्धव प्याकुरेललाई बोलाउनुभएको थियो ।




प्रतिक्रिया राख्नुहोस्