चितवनमा ३० करोडभन्दा बढी खसीको व्यापार
बडादशैंमा चितवन जिल्लामा रु ३० करोडभन्दा बढीको खसी बोकाको व्यापार हुने व्यवसायीले जनाएका छन् । यो पर्वमा खसी, बोका, राँगा, बङ्गुर र कुखुराको बलि दिने गरिन्छ ।
दशैंको सुरुआतसँगै जिल्लामा खसी, बोकाको मासुको व्यापार वढेको छ । मासु व्यवसायी सङ्घ चितवनका अध्यक्ष गणेशप्रसाद कँडेलका अनुसार यो वर्षको दसैँमा मात्र व्यावसायिक रुपमा १५ हजार बढी खसी काटिने छ ।
अध्यक्ष कँडेलका अनुसार दशैंमा मात्रै रु ३० करोडको कारोबार हुने अनुमान गरिएको छ । जिल्लामा रहेका एक हजार बढी मासु पसलमध्ये १५० वटा खसी मात्र काट्ने मासु पसल रहेका छन् । अन्यमा कुखुरा र खसीसँगै काट्ने गरिएको उहाँले जानकारी दिनुभयो । यो तथ्याङ्कमा दसैँका लागि घरमै उत्पादन गरी घरमै खपत भएका खसीबोकालाई जोडिएको छैन ।
गत वर्षको दशैंमा १० हजार बढी खसी–च्याङ्ग्रा बिक्री भएको थियो । यस पटक बिक्री बढ्ने देखिएको उहाँले बताउनुभयो । १५ हजारसम्म खसी–च्याङ्ग्रा (बनाएर वा जिउँदो) बिक्री हुने अनुमान गरिएको उहाँले बताउनुभयो । कँडेलका अनुसार १५ हजार खसी–च्याङ्ग्रा बिक्री भएको खण्डमा रु ३० करोडको कारोबार हुन्छ ।
विगत पाँच वर्षदेखि चितवनका मासु व्यवसायीले दसैँमा भारतीय खसीबोका आयात गरेका छैनन् । चितवनमा सञ्चालनमा आएका सहकारीहरुले खसीबोका उत्पादन गर्न थालेपछि भारतबाट खसीबोका नझिकाइएको अध्यक्ष कँडेलले बताउनुभयो । उहाँका अनुसार यसपटक चितवनका खसीहरु कठमाडौँ पठाइएको छ ।
चितवनमा गोरखा, धादिङ, नवलपरासी, तनहुँलगायत जिल्लाहरुबाट खसी आउने गरेको उहाँले जानकारी दिनुभयो । जिउँदो खसीको मूल्य रु ७०० भन्दा माथि पर्ने गर्दछ । तयारी प्रतिकिलो रु एक हजार दुई सयमा खसीको मासु चितवनको बजारमा बिक्री भइरहेको छ ।
कुखुराको मासु भने खासै दसैँमा बिक्री नहुने उहाँको भनाइ छ । उहाँका अनुसार रु चार करोड हाराहारीको कुखुराको मासु बिक्री हुने अनुमान गरिएको छ ।
गत वर्षको तुलनामा दशैंका लागि चितवनमा च्याङ्ग्रा मागभन्दा बढी आएको छ । पहिला मुस्ताङबाट मात्र च्याङ्ग्रा आउने चितवनमा यसपटक जुम्ला, बझाङ, डोल्पाबाट पनि चितवनको बजारमा च्याङ्ग्रा आइरहेको छ ।
यस वर्षको दशैंमा चितवनमा तीन हजारभन्दा बढी च्याङ्ग्रा आएको उहाँले बताउनुभयो । जसका कारण व्यापार वढ्ने आकलन छ । यस अघिका दशैंमा फूलपातीबाट मासुको व्यापार बढ्ने भए पनि यस वर्ष घटस्थापनाबाटै बढेकाले खपत बढ्ने अनुमान गरिएको उहाँको भनाइ छ ।




प्रतिक्रिया राख्नुहोस्