नुवाकोटकी सन्तमायालाई १० लाखको करदाता प्रोत्साहन उपहार
आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १६ देखि ३१ गतेसम्मका पाक्षिक उपहार विजेता घोषणा गरेको छ। उक्त अवधिको १० लाख रुपैयाँको बम्पर उपहार नुवाकोटकी सन्तमाया तामाङले जित्नुभएको छ ।
कात्तिक १ गते आइतबार काठमाडौंको विशाल बजारमा आयोजित कार्यक्रममा कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले कम्प्युटर प्रणालीको बटन थिचेर बम्पर तथा दैनिक उपहार विजेताको नाम घोषणा गर्नुभएको हो ।
दशैंका अवसरमा नुवाकोटस्थित एसएस फेन्सी हाउसबाट तीन हजार रुपैयाँका सामग्री खरिद गरी बिल लिनुभएकी तामाङको कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथाबाट बम्पर उपहारका लागि छनोट भएको हो।
विजेता घोषणा भएलगत्तै कलाकारद्वयले उनलाई फोन गरेर १० लाख रुपैयाँको उपहार जितेको जानकारी गराएपनि कसैले जिस्क्याएको ठान्नुभएकी तामाङले कलाकारद्वयले यो नेपाल सरकारको आधिकारिक कार्यक्रम भएको बताएपछि आफूले उपहार जितेको विश्वास गरेको बताउनुभयो ।
विभागका अनुसार असोज १६ देखि ३१ गतेसम्मका १६ जना दैनिक उपहार विजेताले जनही एक लाख ३३ हजार ३३४ रुपैयाँ प्राप्त गर्नेछन्। कर कट्टीपछि भने प्रत्येक विजेताको खातामा एक लाख रुपैयाँ जम्मा हुनेछ।
दैनिक उपहारका लागि छनोट भएका कुपन नम्बरहरू क्रमशः ०८८७९०१७०, ०९३८९८३१४८६८, ०८०१६२९७६९३४, ०८२८०८९७६३७२, ०८७६५१६९००५३, ०८९६९१८५५६७०, ०८१६०२३५५६४४, ०९०५७४८२३८५०, ०७८२२४८५८६८८, ०८६६२३०९९५१५, ०९२१५६३४५१४२, ०८५२९९४४०३१२, ०८९८६५३१०७२९, ०८४०८६००४००१, ०९१०१५६२६२४९ र ०८३६८९६७६१५३ रहेका छन्।
आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालका अनुसार असोज १६ देखि ३१ गतेसम्म २ लाख ७५ हजार ८८४ कारोबारका बिल प्रविष्ट गरेर उपभोक्ता कार्यक्रममा सहभागी भएका थिए। क्यूआर भुक्तानीमार्फत स्वतः दर्ता भएका ३ करोड ७४ लाख ७८ हजार ३८० कारोबारसमेत जोड्दा उपहार छनोट प्रक्रियामा कुल ३ करोड ७७ लाख ५५ हजार २६४ कारोबार समावेश भएका थिए।
सरकारले वस्तु तथा सेवा खरिद गर्दा बिल लिने र बिक्री गर्दा बिल दिने संस्कृतिको विकास गरी आर्थिक कारोबारलाई पारदर्शी बनाउने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गरेको हो। एक सय रुपैयाँभन्दा बढी मूल्यका वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता कार्यक्रममा सहभागी हुन सक्ने व्यवस्था छ।
महानिर्देशक भुसालले उपभोक्तामा सामान तथा सेवा खरिद गर्दा बिल लिने बानीको विकास गराउन कार्यक्रम सञ्चालन गरिएको बताउनुभभयो ।
विभागले बम्पर तथा दैनिक उपहारका सबै विजेतालाई आगामी कात्तिक १५ गतेभित्र आफूले सामान खरिद गर्दा प्राप्त गरेको सक्कल बिलसहित नजिकैको आन्तरिक राजस्व कार्यालयमा पुगेर पुरस्कार दाबी गर्न आग्रह गरेको छ।




प्रतिक्रिया राख्नुहोस्