विश्व समाचार

युरोपको अशान्ति आप्रवासी र खुकुलो सीमाका कारण ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्समा जारी अशान्तिबीच युरोपको भविष्यबारे कडा चेतावनी दिनुभएको छ। उहाँले फ्रान्ससहित समग्र युरोपले तत्काल सीमा बन्द गरेर आफ्ना देशलाई घृणा गर्ने आप्रवासीलाई देशनिकाला नगरे पूर्ण पतनको सामना गर्नुपर्ने दाबी गर्नुभएको छ।

ह्वाइट हाउस बाहिर सोमबार पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले फ्रान्समा भइरहेको अशान्तिको मुख्य कारण आप्रवासन भएको बताउनुभयो। उहाँले यसलाई शिक्षा वा घरेलु नीतिसम्बन्धी समस्यासँग जोड्ने तर्क अस्वीकार गर्नुभयो।

“फ्रान्समा जे भइरहेको छ, त्यो निकै दुःखद अवस्था हो। यसको सम्बन्ध आप्रवासनसँग छ, विद्यालयसँग वा अरू कुनै कुरासँग होइन। यो आप्रवासनकै समस्या हो,” ट्रम्पले भन्नुभयो।

उहाँले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंलाई आफ्नो पहिलो कार्यकालमै सीमा बन्द गर्न सुझाव दिएको बताउनुभयो।

“मैले उनलाई पहिलो पटक भेट्दा, धेरै वर्षअघि नै सीमा बन्द गर्न भनेको थिएँ। नत्र समस्या मात्रै आउनेछ भनेको थिएँ। अहिले उनीहरूले धेरै समस्या भोगिरहेका छन्। उनीहरूले आफ्नो देशलाई माया नगर्ने मानिसलाई भित्र्याए। उनीहरूलाई देशका भवन र कलासमेत मन पर्दैन,” उहाँले भन्नुभयो।

अमेरिकी नीतिका कारण उत्पन्न ऊर्जा सङ्कट र व्यापक भूराजनीतिक प्रभावले फ्रान्समा दङ्गा भड्किएको भन्ने म्याक्रोंको भनाइबारे प्रतिक्रिया दिँदै ट्रम्पले फ्रान्सेली नेताप्रति आफूले पहिलेदेखि दिँदै आएको सुझावको बचाउ गर्नुभयो। साथै, उहाँले जनसाङ्ख्यिक परिवर्तनप्रति चिन्ता व्यक्त गर्नुभयो।

“इमानुएल मेरा मित्र हुन्। मैले उनलाई धेरैअघि नै फ्रान्समा ठूलो गल्ती गरिरहेको बताएका थिएँ। तिमीले संसारभरका सबैलाई देशमा आउन दिइरहेका छौ। पूरै संसार त्यहाँ आइरहेको छ,” ट्रम्पले भन्नुभयो।

उहाँले थप्नुभयो, “तपाईंलाई थाहै छ, पेरिस चाँडै मुस्लिम सहर बन्नेछ। हाम्रो सहमति यस्तो थिएन। मैले इमानुएललाई आफ्नो सीमा बन्द गर्नुपर्छ भनेको थिएँ।”

अमेरिका र फ्रान्सको सीमा नीतिको तुलना गर्दै ट्रम्पले भन्नुभयो, “हामीले आफ्नो सीमा बन्द गर्‍यौँ, तर उनले गरेनन्। अब उनका लागि सीमा समस्या बनेको छ।

ऊर्जा क्षेत्रमा पनि उनलाई केही समस्या छ। यद्यपि, उनीहरूको अवस्था अरूको तुलनामा राम्रो हुँदै गएको छ। तर इमानुएलले धेरैअघि नै सीमा बन्द गर्नुपर्थ्यो। मैले उनलाई त्यसो गर्न भनेको थिएँ।”

युरोपको भविष्यबारे सोधिएको प्रश्नमा ट्रम्पले युरोपेली मुलुकहरूले आफ्नो सार्वभौमिकता जोगाउन हिंसात्मक प्रदर्शनमा संलग्न व्यक्ति र अपराधीलाई ठूलो सङ्ख्यामा देशनिकाला गर्नुपर्ने बताउनुभयो।

“यदि युरोपले आफ्नो सीमा बन्द गर्दैन र प्रदर्शन गर्ने मानिसजस्ता अपराधीलाई बाहिर निकाल्दैन भने युरोप समाप्त हुन्छ,” उहाँले भन्नुभयो, “मैले १० वर्षदेखि भन्दै आएजस्तै युरोपले आफ्नो सीमा बन्द गर्नुपर्छ। आफ्नै देशलाई घृणा गर्ने मानिसलाई बाहिर निकाल्नुपर्छ। नत्र उनीहरूको अस्तित्व समाप्त हुनेछ। बाँच्ने कुनै सम्भावना रहने छैन।”

फ्रान्स, इटाली र अन्य युरोपेली मुलुकमा भइरहेको अशान्तिको उदाहरण दिँदै ट्रम्पले हिंसाको जिम्मेवार आप्रवासन नै भएको आफ्नो धारणा दोहोर्‍याउनुभयो।

“फ्रान्स, इटाली र अन्य ठाउँमा भइरहेको अशान्ति तथा घृणालाई हेर्दा यो विद्यालयको समस्या होइन। यो ती देशमा आउने तर त्यही देशलाई घृणा गर्ने मानिसको समस्या हो। उनीहरूलाई त्यहाँका भवन, मानिस र कला मन पर्दैन। उनीहरूले सीमा बन्द गर्नुपर्छ र त्यस्ता खराब मानिसलाई बाहिर निकाल्नुपर्छ,” उहाँले भन्नुभयो।

बोर्डोमा नाबालिगलाई राति बाहिर निस्कन प्रतिबन्ध

ट्रम्पको यस्तो भनाइ सार्वजनिक भइरहेका बेला फ्रान्सको बोर्डो सहरका स्थानीय अधिकारीहरूले सहरको केन्द्रमा व्यापक लुटपाट र गम्भीर अशान्ति भएपछि अभिभावक वा कानुनी संरक्षकबिना रहेका नाबालिगका लागि एक सातासम्म रात्रीकालीन कर्फ्यु लागू गरेका छन्।

गिरोन्द र नोभेल–एकितेन क्षेत्रकी प्रिफेक्ट सोफी ब्रोकाासले सोमबार उक्त आदेश घोषणा गर्नुभयो। मङ्गलबारदेखि अक्टोबर २६ सोमबार बिहानसम्म लागू हुने प्रतिबन्धअनुसार १८ वर्षमुनिका व्यक्तिले राति १० बजेदेखि बिहान ७ बजेसम्म अभिभावक वा कानुनी संरक्षकको साथबिना सार्वजनिक स्थानमा उपस्थित हुन पाउने छैनन्।

अक्टोबर १७ शनिबार भएको दङ्गापछि यो कदम चालिएको हो। अधिकारीहरूले उक्त घटनालाई “अहिलेसम्मकै अभूतपूर्व स्तरको हिंसा” भनेका छन्। हजारौँको सङ्ख्यामा रहेका प्रदर्शनकारीले बोर्डोको मध्यभागमा रहेका व्यावसायिक क्षेत्रमा आक्रमण गर्दै पसलका सिसा फुटाएका र पसलहरूमा लुटपाट गरेका थिए।

अशान्ति नियन्त्रण गर्न सुरक्षा निकायले व्यापक कारबाही सञ्चालन गरेको थियो। चार सय प्रहरी तथा जाँदार्म (फ्रान्सको राष्ट्रिय सुरक्षा बल) परिचालन गरिएका थिए।

उनीहरूलाई दुईवटा पानीको फोहोरा प्रहार गर्ने सवारीसाधन र दुईवटा सशस्त्र सवारीसाधनले सहयोग गरेका थिए। शनिबार र आइतबार गरी अधिकारीहरूले करिब १२० जनालाई पक्राउ गरेका थिए। पक्राउ परेका सबैमाथि कानुनी कारबाही अघि बढाइने जनाइएको छ।

हिंसाबाट बढी प्रभावित प्रमुख व्यापारिक सडक र सार्वजनिक चोकलाई लक्षित गरी कर्फ्यु लागू गरिएको हो। ती स्थानमा र्यु सेन्ट–क्याथरिन, र्यु द ला पोर्त–दिजो, कूर्स द लँतेँदान्सी, प्रोमेनाद सेन्ट–क्याथरिन, प्लास सेन्ट–प्रोजे र प्लास द्यु जेनेरल–सारेललगायत क्षेत्र छन्।

तोडफोड र लुटपाटको निन्दा गर्दै प्रिफेक्ट ब्रोकासले प्रभावित व्यवसायीलाई साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

“शनिबार बोर्डोका पसलेहरूले भोगेको अवस्था अस्वीकार्य छ। हामी मिलेर ठोस समाधान निकाल्नेछौँ,” उहाँले भन्नुभयो, “प्रदर्शन गर्ने स्वतन्त्रताले लुटपाट गर्ने छुट दिँदैन।”

बोर्डोका मेयर थोमा काजेनाभ र क्षेत्रीय व्यापारिक सङ्घहरूसँग परामर्श गरेर कर्फ्युको निर्णय गरिएको हो। प्रभावित व्यवसायको आर्थिक क्षतिको मूल्याङ्कन गर्न र पुनःस्थापनाका उपाय समन्वय गर्न सरकारी अधिकारी तथा नगर नेतृत्वले मङ्गलबार नगरपालिकाको कार्यालयमा संयुक्त बैठक गर्ने कार्यक्रम छ।

फ्रान्सका विभिन्न सहरमा आंशिक कर्फ्यु

यसअघि सोमबार फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले क्षेत्रीय अधिकारीहरूलाई सोमबार साँझ केही सहरी क्षेत्रमा “आंशिक कर्फ्यु” लागू गर्न निर्देशन दिनुभएको थियो।

फ्रान्स २४ का अनुसार ‘अति वामपन्थी समूह’बाट प्रेरित हिंसात्मक घटनाले लगातार दोस्रो दिन पनि देश प्रभावित भएको थियो। घटनाका क्रममा नगरपालिकाका कार्यालयमा आगजनी गरिएको र सयौँ व्यवसायमा लुटपाट भएको थियो।

सङ्कट गहिरिँदै जाँदा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले देशभर व्यापक प्रदर्शन र अशान्ति फैलिनुमा सुरक्षा व्यवस्थाका “विफलता” जिम्मेवार रहेको भन्दै सोमबार आलोचना गर्नुभयो। तर उहाँले गृहमन्त्री लोरेन नुनेजको राजीनामा अस्वीकार गर्नुभयो।

फ्रान्स २४ का अनुसार अशान्तिपछि कम्तीमा २ हजार ४०० जना पक्राउ परेका छन्। घटनाका क्रममा नगरपालिकाका कार्यालयमा आगजनी गरिएको थियो भने सयौँ व्यवसायमा लुटपाट तथा तोडफोड भएको थियो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.