वनमा आगो लगाउने खाेज्न देवताको शरण
जाजरकोटको नगरपालिका–८ स्थित बतासे चिउरी सामुदायिक वन समूहमा अघिल्लो वर्ष आगो लगाइयो । आगो लगाउने व्यक्ति पत्ता नलाग्दा स्थानीयवासीलाई महादेवको मन्दिरबाट एकमुठ्ठी ध्वाजा लिएर गाउँभरिका स्थानीयवासीलाई आगो लगाएको हो वा होइन भनी बकाउन लगाइयो ।

आगो लगाएका व्यक्तिले नलगाएको भनी झुटा कुरा गरेर उक्त ध्वाजा छोएमा अनिष्ट हुने र दुःख पाउँछन् भन्ने विश्वासका साथ ध्वाज छुन लगाएको थियो । त्यस्तै बारेकोट गाउँपालिका–८ लैखममा आइती खत्रीको जमिनमा रोपिएको मकैबाली स्थानीयवासीका पशुचौपायाले खाएको भन्दै सत्यतथ्य पत्ता लगाउन महादेवकै ध्वाजाको सहारा लिइएको थियो ।
सबै छिमेकीलाई ध्वाजा छुवाउन लगाउँदा पनि मकै खुवाउने पत्ता नलागेकाले उक्त ध्वाजा मन्दिरमै लगेर सक्कल–भक्कलका साथ जसको पशु चौपायाले खाएको उसैको नास होस् भनी मन्दिरमा राखियो ।अहिले पनि जिल्लाका अधिकांश गाउँमा पशु चौपायाले अन्नबाली खाएमा, चोरी भएमा वा झुट बोलेमा समेत देवताको ध्वाजाकै सहरा लिन थालिएको छ ।
स्थानीयस्तरमा रहेका भलादमीले समेत देवताकै सहारा लिन आग्रह गर्दै आएको नलगाड नगरपालिका–८ स्थित पञ्च भयार माविका शिक्षक वीरबहादुर खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँलेमा जे विश्वास लाग्छ त्यही गर्छन् । दैनिक देवीदेवताकै पूजाआजा गरिन्छ ।
देखिनेभन्दा नदेखिने वस्तुकै बढी डरलाग्दो रहेछ, त्यसैले पनि विश्वास बढी लागेको होला ।” गाउँमा बिरामी पर्नेबित्तिकै सुरुको अस्पताल भनेकै देवताका धामी हुन् । प्रहरी र स्थानीय न्यायिक समितिभन्दा अगाडि धामी र देवताको मन्दिरमै पुग्ने गरेको उहाँले बताउनुभयो ।
आफूलाई मन नपरेको व्यक्तिले छोरी, बहिनी बिहे गरेमा समेत देवीदेवताको मन्दिरमै गएर न्याय माग्ने चलन बढ्दै गएको छ । जमिनमा लगाएको अन्नबाली भित्र्याउनसमेत देवताकै आशीर्वाद लिनुपर्ने चलनसमेत बाध्यकारी हुँदै आएको छ ।
अशिक्षित परिवारमा मात्र होइन, शिक्षक, कर्मचारीको घरमा समेत यस्ता खालका चलनले अझै जरो गाडेर बसेको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले बताउनुभयो ।
उहाँले भन्नुभयो, “बिरामी हुँदा अस्पताल ल्याउनाको साटो धामीकहाँ लैजाने चलनले गर्दा समस्या थपिँदै आएको छ । हाम्रा पढेलेखेका बुद्धिजीवी भनिनेहरूले समेत त्यस्तै गर्न सल्लाह दिन्छन्, हाम्रो समाज अझै पनि १८औँ शताब्दीमा रहेको छ ।” चोरीपैठारी भएमा प्रहरीको सहयोग लिनाको साटो देवताको शरणमा पुगेर कहाँबाट न्याय पाइन्छ उहाँले भन्नुभयो ।
“हामीले समाज परिवर्तनको खोक्रो नारा लगाएर मात्र हुँदैन, गाउँ बस्तीमा पनि त्यो कुराले छुनुपर्ने हुन्छ,” नागरिक समाजका अगुवा राजेन्द्रविक्रम शाहले भन्नुभयो, “सदरमुकाममै ठूलो मात्रामा छुवाछूतदेखि देवताको शरणमा पुगेर न्याय माग्नेको चलन छ, गाउँमा त झन् बढ्ने नै भयो ।” रु ५०० को क्षति हुँदा रु तीन हजारको बोको मन्दिरमा चढाएर न्याय माग्ने चलनले गर्दा हामी र हाम्रो मानसिकता नै खस्केकोे उहाँको तर्क थियो ।
प्रतिक्रिया राख्नुहोस्