काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताममा चितवन राइनोजले विजयी सुरुवात गरेको छ । मंगलबार भएको पहिलो खेलमा खेलमा विराटनगर किङ्सलाई आठ रनले पराजित गर्दै चितवनले प्रतियोगितामा विजयी सुरुआत गरेको हो ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनायो । उसका लागि ओपनर डेविड मलानले अर्धशतकीय पारी खेले । उनले ५० बलमा ५ चौका र ५ छक्कासहित ७० रनको पारी खेलेका हुन् ।
यस्तै, अविजित रहेका कप्तान रवि बोपाराले ३२ र ड्यान मोस्लीले २९ जोडे । यता देव खनाल १२ रनमा आउट भए । विराटनगरका लागि बलिङतर्फ एन्जेलो म्याथ्युज, आन्द्रे रसेल र चरिथ असालङ्काले समान १-१ विकेट लिए । चितवनले दिएको १५८ रनको लक्ष्य लिएर मैदान उत्रेको विराटनगर १९ दशमलव ३ ओभरमा १४९ रनमा अलआउट भयो ।

विराटनगरको लागि आन्द्रे रसेलले ३३ रन बनाए भने लोकेश बमले २६ रन जोडे । त्यस्तै एन्जेलो म्याथ्युजले १४, बसिर अहमदले १३ र शुबम रन्जानेले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । चितवनको लागि कमल सिंह ऐरीले ४ विकेट लिए भने रिजन ढकालले दुई विकेट लिँदा टम टेलर, रंजित कुमार, ड्यान मोस्ली र मौसम ढकालले समान १-१ विकेट लिए ।
यसैगरी आज नै हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स खेल्दै छन् ।जनकपुर र कर्णालीबीचको खेल अपराह्न ५ः०० बजेदेखी सुरु हुनेछ ।




प्रतिक्रिया राख्नुहोस्