देशलाई अस्थिरताको भुमरीमा नधकेलौँ : डा. भट्टराई
दसैँ, तिहार र छठलगायतका प्रमुख चाडपर्व सकिएपछि सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने र सरकार परिवर्तन गराउने विपक्षी दलका नेताहरूको अभिव्यक्तिप्रति पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चिन्ता व्यक्त गर्नुभएको छ।
निर्वाचनबाट बनेको सरकारलाई संविधानको सीमाभित्र रहेसम्म पूरा कार्यकाल काम गर्न दिनुपर्ने धारणा राख्दै उहाँले सरकार ढाल्ने राजनीतिक प्रतिस्पर्धाले देशलाई फेरि अस्थिरतातर्फ धकेल्न सक्ने चेतावनी दिनुभएको छ।
भट्टराईले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रमुख राष्ट्रिय चाडपर्व सकिएलगत्तै देशमा आन्दोलनको आँधीबेहरी ल्याउने र सरकार परिवर्तन गर्ने चर्चा सुरु हुनु विडम्बनापूर्ण तथा चिन्ताजनक भएको बताउनुभएको छ।
उहाँले सरकारको कामप्रति असन्तुष्टि जनाउने, आलोचना गर्ने र खबरदारी गर्ने अधिकार नागरिक तथा विपक्षी दललाई भए पनि निर्वाचित सरकारलाई निरन्तर सत्ताच्युत गर्ने प्रयासले देशको दीर्घकालीन हित नगर्ने उल्लेख गर्नुभएको छ।
उहाँको टिप्पणी यस्तो बेला आएको हो, जतिबेला नेकपा एमालेसहितका विपक्षी दलका नेताहरूले चाडपर्वपछि सरकारविरुद्ध आन्दोलन चर्काउने र सरकारलाई पराजित गर्ने घोषणा गरिरहेका छन्।
एमाले सचिव महेश बस्नेतले दसैँ, तिहार र छठपछि एमालेसहित अन्य दलको सहभागितामा मधेसदेखि देशभर आन्दोलन अघि बढाउने बताउनुभएको थियो।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि सरकारविरुद्ध विपक्षी दलहरूलाई एकजुट पारेर आन्दोलन गर्ने तयारी भइरहेको बताउनुभएको छ।
भट्टराईले बहुदलीय लोकतन्त्रमा सत्तापक्ष र प्रतिपक्षबीच प्रतिस्पर्धा तथा सहकार्य हुनु स्वाभाविक र आवश्यक भएको उल्लेख गर्नुभएको छ। संसद् र सडकमा सरकारका कामको आलोचना हुनु, विपक्षी दलले आफ्ना असहमति राख्नु र नागरिकले खबरदारी गर्नु लोकतान्त्रिक अभ्यासकै हिस्सा भएको उहाँको भनाइ छ।
तर निर्वाचन सम्पन्न भएको केही समयमै सरकार परिवर्तन वा सरकार ढाल्ने अभियान सुरु गर्नु विगतमा देखिएको राजनीतिक अस्थिरतालाई दोहोर्याउनु भएको उहाँको टिप्पणी छ।
नेपालले पटकपटक सरकार परिवर्तनको चक्र भोगिसकेको र त्यसका दुष्परिणाम पनि देखिसकेको उल्लेख गर्दै उहाँले फेरि त्यही बाटो समात्नु देशलाई अनिश्चितताको भुमरीमा फसाउनु भएको तर्क गर्नुभएको छ।
भट्टराईले राजनीतिक अस्थिरताको असर अर्थतन्त्र, रोजगारी र नागरिकको भविष्यमा पर्ने उल्लेख गर्नुभएको छ। देशभित्र अवसर सिर्जना हुन नसक्दा युवाहरू विदेशिनुपर्ने अवस्था कायम रहने र परिवारका सदस्य स्वदेशमै चिन्तित भएर बस्नुपर्ने विडम्बना नहट्ने उहाँको भनाइ छ।
त्यसमाथि बदलिँदो भूराजनीतिक परिस्थितिमा आन्तरिक अस्थिरताले देशलाई थप जोखिममा पार्न सक्ने उहाँले औँल्याउनुभएको छ।




प्रतिक्रिया राख्नुहोस्