तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत मंगलबार साँझ भएको खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३२ रन बनाएको थियो। जवाफमा जनकपुर १९ ओभर ३ बलमा ११३ रनमै अलआउट भयो।
कर्णालीका लागि अरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाउनुभयो। उहाँले २९ बलमा चार चौका प्रहार गर्नुभयो। पवन सर्राफले ३७ बलमा ३७ रन जोड्नुभयो। दीपक डुम्रेले १३ र गुल्सन झाले १२ रन बनाउनुभयो।
कर्णालीले सुरुदेखि नै विकेट गुमाए पनि अरिफुल र पवनले चौथो विकेटका लागि ४२ रनको साझेदारी गर्दै टोलीलाई सम्हाल्नुभयो। ओपनर मार्क वाट एक रनमा आउट हुनुभयो भने दीपक डुम्रे १३ र हुसेन तलत तीन रनमा पवेलियन फर्किनुभयो।
त्यसपछि अक्बर अली र कप्तान सोमपाल कामीले समान एक रन बनाउनुभयो। नन्दन यादवले नौ रन जोड्दा युवराज खत्री र युनिस ठकुरी अविजित रहनुभयो।
जनकपुरका कप्तान हर्मीत सिंहले चार ओभरमा २२ रन खर्चेर तीन विकेट लिनुभयो। राहुल यादव र मोइन अलीले समान दुई तथा ललित राजवंशीले एक विकेट लिनुभयो।
१३३ रनको लक्ष्य पछ्याएको जनकपुरका लागि अभिषेक तिवारीले सर्वाधिक २० रन बनाउनुभयो। कप्तान हर्मीत सिंह र मोइन अलीले समान १९, जिमी निशमले १५ तथा मायन यादवले १४ रन जोड्नुभयो। अनिलकुमार शाहले ११ रन बनाउनुभयो।
अन्य ब्याटरले उल्लेख्य योगदान दिन नसक्दा जनकपुर लक्ष्यसम्म पुग्न सकेन। कर्णालीका बलर युनिस ठकुरी र हुसेन तलतले समान तीन विकेट लिनुभयो।
युनिसले चार ओभरमा एक मेडन राख्दै तीन विकेट लिनुभयो। उहाँले एउटै ओभरमा जनकपुरका कप्तान हर्मीत सिंह र जिमी निशमलाई आउट गरेपछि खेल कर्णालीको पक्षमा गएको थियो। नन्दन यादवले दुई तथा कप्तान सोमपाल कामीले एक विकेट लिनुभयो।




प्रतिक्रिया राख्नुहोस्