कृषि

पानी पर्ने डरले किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

वर्षभरि हिलोमा पसिना बगाएर उब्जाएको धानबाली पानी नपर्दै सकुशल भित्र्याउन बाँकेका किसान जुटेका छन् ।

धान काटिसकेका तर अहिलेसम्म भण्डारण गर्न नपाएका किसानलाई पानी परे खेतको बाली भिज्ने डर छ । काट्न बाँकी रहेकालाई पनि हावाहुरी र पानीले धान ढाल्ने चिन्ता छ ।

धानको बाला लामो समयसम्म भिजे बिग्रने जोखिम हुने भएकाले अहिले धान भित्र्याउन भ्याइनभ्याई भएको बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ सुइयागाउँका किसान ध्रुवकुमार थापा क्षेत्रीले बताउनुभयो ।

“विगतमा पनि असोज र कात्तिक महिनामा बेमौसमी बाढी र वर्षाले तयारी अवस्थाको धानबाली नष्ट गर्दा किसानले क्षति बेहोर्नु परेकाले अहिले सजक भएर बेलैमा धान भित्र्याउन लागि परेका छौँ”, उहाँले भन्नुभयो, “पानी पर्ने सूचनाले अहिले बिहानदेखि रातिसम्म खेतमै धानबाली स्याहार्न हामीलाई भ्याइनभ्याई छ ।”

चाडबाडको मौसम भएकाले खेताला वा मजदुर पाउन निकै मुस्किल छ । थ्रेसर, ट्याक्टर जस्ता आधुनिक उपकरणको सुविधा लिन सहज छैन । हतार–हतार काटिएको धान राम्रोसँग सुकाउन र सुरक्षित भण्डारण गर्न पनि समस्या भएको उहाँको भनाइ छ ।

गत असारमा लगाइएको धान पाकेर यतिबेला खेतमा पहेँलपुर झुलेको छ । अब वर्षा भए धानबालीमा ठूलो क्षति हुने भएकोले किसानलाई अहिले सबै काम छोडेर धान भित्र्याउन भ्याइनभ्याई भएको खजुराका अगुवा किसान कृष्णविक्रम केसीले बताउनुभयो ।

विगतका वर्षहरूमा प्रायः दसैं सकिएपछि मात्रै धान भित्र्याउने समय आउँथ्यो । तर, यसपालि दसैं केही ढिलो परेकाले धान पाक्ने र दसैं मनाउने समय एकैपटक जुध्न पुगेको छ । यसले गर्दा गाउँघरमा खेतबारीको कामको हतारो भएको केसीले बताउनुभयो ।

“आकाशमा थोरै बादल मडारिँदा पनि किसानको धड्कन बढ्ने गर्छ । मेहनतअनुसार धान राम्रो त भएको छ, तर समयमै घर भित्र्याउन नसके असिना वा पानीले नोक्सान पुर्या उन सक्छ”, केसीले भन्नुभयो, “बाँकेका किसान यतिबेला चाडपर्व बिर्सिएर धान भित्र्याउन लागेका छन् ।”

कृषि ज्ञान केन्द्र बाँके सूचना अधिकारी वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले पाकेर स्याहर्ने बेला पानी पर्ने डरले यतिबेला किसान धमाधम धान भित्र्याउन लागेको बताउनुभयो ।

बाँकेमा कुल ५४ हजार ५२६ हेक्टर खेतीयोग्य जमिनमध्ये ३३ हजार ५७० हेक्टरमा धान रोपाई हुने गरेको छ । यो वर्ष ३३ हजार ५०३ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी शर्माले जानकारी दिनुभयो ।

वर्षाको त्रासले किसानलाई धान भित्र्याउने चटारो 

मौसम पूर्वानुमान महाशाखाले आजदेखि मौसम बदली भइ वर्षा हुने चेतावनी दिएपछि दाङका किसानलाई पाकेको धान भित्र्याउन चटारो परेको छ । बेमौसमी वर्षाले धान भिजाउने र कुहाउने डरले किसान थप श्रमिक खोजेर तथा सामूहिक रूपमा बाली भित्र्याउन जुटेका हुन् ।

दाङ तुलसीपुर उपमहानगरपालिका वडा नंं ७ वेत्रावतीका साउने चौधरीले वर्षाले धान भिजाउला भन्ने त्रासका कारण बाहिरबाट चार जना खेताला मगाएर धान भित्र्याउनु भयो । “पहिले परिवारका सदस्यले मात्रै भित्र्याउँथ्यौँ”, उहाँले भन्नुभयो“ यस वर्ष वर्षा हुने भनेपछि बुधबार नै भित्र्यायौँ ।”

त्यस्तै, सोही स्थानका किसान टोपकुमारी पोखरेलले पनि वर्षाको डरले छिटो–छिटो धान भित्र्याउनुभयो  । गत वर्ष यस्तै मौसमका कारण धान कुहिएर पुनः सुकाउनु परेको स्मरण गर्दै उहाँले यसपालि छिट्टै भित्र्याएको बताउनुभयो ।

“गत वर्ष पानीले धान कुहिएको थियो”, उहाँले भन्नुभयो, “यस पटक नाति–नातिनी, बुहारी, इष्टमित्र र गाउँले गरी १५–१६ जनाको सहयोगमा धान काटेर भित्र्यायौँ ।”

उहाँहरु मात्रै होइन, बुधबार दाङका किसानलाई धान भित्र्याउने चटारो थियो । खेतमा धान पाकिसकेको छ । आजदेखि वर्षा हुने पूर्वानुमान सार्वजनिक भए पनि बुधबार नै जसरी पनि धान भित्र्याउने दबाबमा किसान थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.