जापान–अमेरिका सैन्य अभ्यास थप युद्धकेन्द्रित बनाउने तयारी
चीनको बढ्दो सैन्य गतिविधि र पूर्वी एसियामा चुलिँदो सुरक्षा तनावलाई ध्यानमा राख्दै जापान र अमेरिकाले संयुक्त सैन्य अभ्यासलाई थप वास्तविक युद्धपरिस्थितिसँग मिल्दोजुल्दो बनाउने तयारी गरेका छन्।
जापानको संयुक्त सञ्चालन कमान्डका कमान्डर तथा मेरिटाइम सेल्फ–डिफेन्स फोर्सका एडमिरल तावारा तातेकिले अक्टोबर १९ मा ओकिनावा प्रिफेक्चरमा ‘कीन स्वर्ड–२७’ सैन्य अभ्यासको उद्घाटन समारोहमा मन्तव्य व्यक्त गर्दै।
दुवै देशले प्रत्यक्ष गोलीबारुद प्रयोग हुने अभ्यास विस्तार गर्नुका साथै थप उन्नत र शक्तिशाली हतियार प्रणाली समावेश गर्न सक्ने संकेत दिएका छन्।
जापानका रक्षामन्त्री सिन्जिरो कोइजुमी र अमेरिकी रक्षामन्त्री पिट हेगसेथले यसै साताको द्विपक्षीय भेटवार्तामा संयुक्त सैन्य तालिमलाई थप उन्नत र व्यावहारिक बनाउने सहमति गरेका हुन्। त्यसक्रममा प्रत्यक्ष गोलीबारुद प्रयोग हुने अभ्यासको संख्या र दायरा बढाउने विषयसमेत उठेको छ।
द जापान टाइम्सका अनुसार दुवै देशले वास्तविक सुरक्षा चुनौतीको सामना गर्नुपर्ने अवस्था आएमा अपनाउनुपर्ने रणनीति र सैन्य प्रतिक्रियाको अभ्यास गर्ने उद्देश्यले संयुक्त तालिमलाई थप व्यावहारिक बनाउन खोजेका हुन्। यसका लागि अहिलेसम्म संवेदनशील मानिँदै आएका शक्तिशाली हतियार प्रणालीसमेत अभ्यासमा प्रयोग हुन सक्ने सम्भावना छ।
स्थानीय विरोध र चीनको प्रतिक्रियाको चिन्ता
जापान र अमेरिकाले प्रत्यक्ष गोलीबारुद प्रयोग हुने अभ्यासलाई प्राथमिकता दिनुले यसअघि राजनीतिक तथा स्थानीय विरोधका कारण अभ्यासमा समावेश गर्न कठिन मानिएका उन्नत हतियार प्रणालीको प्रयोगसमेत सम्भव हुन सक्ने संकेत गरेको छ।
जापानमा अमेरिकी सैन्य अखडा र अभ्यासस्थल आसपासका स्थानीय बासिन्दाले सैन्य गतिविधि, आवाज, सुरक्षा जोखिम तथा वातावरणीय प्रभावलाई लिएर लामो समयदेखि विरोध गर्दै आएका छन्।
त्यस्ता क्षेत्रमा थप शक्तिशाली हतियार प्रयोग गर्दा स्थानीय असन्तुष्टि बढ्न सक्ने चिन्ता जापानी अधिकारीहरूलाई छ। अर्कोतर्फ चीनले जापानको सैन्य क्षमता विस्तार र अमेरिका–जापानको बढ्दो सैन्य सहकार्यलाई क्षेत्रीय सुरक्षा सन्तुलनमा असर पार्ने कदमका रूपमा व्याख्या गर्दै आएको छ।
त्यसैले जापानका लागि सैन्य अभ्यासलाई प्रभावकारी बनाउने आवश्यकता र स्थानीय तथा कूटनीतिक प्रतिक्रिया व्यवस्थापन गर्ने चुनौती दुवै छन्।
ताइवान र दक्षिणपश्चिमी टापुमा केन्द्रित सैन्य तयारी
जापानको दक्षिणपश्चिमी टापु शृङ्खला चीन र ताइवानसँगको भौगोलिक निकटताका कारण रणनीतिक रूपमा महत्वपूर्ण मानिन्छ। विशेषगरी ताइवान जलडमरूमध्यमा कुनै सैन्य संकट उत्पन्न भए जापानका दक्षिणपश्चिमी टापु, आसपासका समुद्री मार्ग र अमेरिकी सैन्य अखडाको सुरक्षा महत्वपूर्ण बन्न सक्छ।
यसै पृष्ठभूमिमा जापान र अमेरिकाले अक्टोबर १९ देखि २९ सम्म ‘कीन स्वर्ड–२७’ नामक ठूलो संयुक्त सैन्य अभ्यास गरेका थिए। उक्त अभ्यासमा जापानका करिब ४५ हजार सैनिक र अमेरिकाका १२ हजार सैन्य सदस्य सहभागी भएका थिए। फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स, न्युजिल्यान्ड र फिलिपिन्ससहित सात साझेदार राष्ट्रले पनि अभ्यासका विभिन्न गतिविधिमा सहभागिता जनाएका थिए।
अभ्यासमा जापानका दक्षिणपश्चिमी टापुको रक्षा, समुद्री तथा हवाई सुरक्षा, क्षेप्यास्त्र प्रतिरक्षा, उभयचर सैन्य अवतरण, सैन्य सामग्री आपूर्ति र उद्धारजस्ता विषय समेटिएका थिए।
ताइवान नजिकै रहेको योनागुनी टापुमा जापानले लामो दूरीको क्षेप्यास्त्र प्रणालीसमेत परिचालन गरेको थियो। अमेरिकी सेनाले पनि विभिन्न उन्नत सैन्य प्रणाली अभ्यासमा सहभागी गराएको थियो।
यद्यपि, उक्त अभ्यासमा प्रत्यक्ष गोलीबारुद प्रयोगका सबै गतिविधि समावेश थिएनन्। नयाँ सहमतिले आगामी अभ्यासमा त्यस्ता तालिमको दायरा थप विस्तार गर्ने सम्भावना देखाएको छ।
चीनको सैन्य गतिविधिले बढाएको सुरक्षा चासो
जापानले पछिल्ला वर्षमा चीनको सैन्य गतिविधि र समुद्री क्षेत्रमा बढ्दो उपस्थितिलाई आफ्नो सुरक्षाका लागि चुनौतीका रूपमा लिँदै आएको छ। पूर्वी चीन सागरमा सेनकाकु टापु (चीनले दियाओयु नामले दाबी गर्ने) आसपासको विवाद तथा ताइवानलाई लिएर बढेको तनावले टोकियोको सुरक्षा चासो थप बढाएको छ।
गत जुलाईमा चीनको एक युद्धपोतले जापानको विशेष आर्थिक क्षेत्रमा प्रत्यक्ष गोलीबारुद प्रयोग गरी सैन्य अभ्यास गरेको जापानी रक्षा मन्त्रालयले सार्वजनिक गरेको थियो।
ओकिनोटोरिशिमा टापु नजिक भएको उक्त अभ्यासलाई जापानले सार्वजनिक गरेको दुर्लभ घटनाका रूपमा लिइएको थियो। सो अभ्यासका क्रममा रुसी युद्धपोतसमेत उपस्थित रहेको जापानी पक्षको भनाइ थियो।
यसैबीच चीन र रुसबीचको सैन्य सहकार्य विस्तार तथा जापान आसपासका समुद्री क्षेत्रमा दुवै देशका नौसैनिक गतिविधि बढ्नुले टोकियोलाई आफ्नो प्रतिरक्षा क्षमता र सैन्य तयारी सुदृढ गर्न थप दबाब परेको छ।
जापान र अमेरिकाले संयुक्त सैन्य अभ्यास विस्तारलाई आफ्नो प्रतिरक्षा क्षमता, आपसी समन्वय र सम्भावित संकटको सामना गर्ने तयारीसँग जोड्दै आएका छन्।
तर चीनले यसलाई आफ्नो क्षेत्रीय सुरक्षा चासोविरुद्धको गतिविधिका रूपमा व्याख्या गर्ने सम्भावना रहन्छ। यसले पूर्वी एसियामा सैन्य प्रतिस्पर्धा र कूटनीतिक तनाव थप जटिल बनाउने जोखिम पनि बढाएको छ।
समाचार र तस्वीर स्रोत- द जापान टाइम्स




प्रतिक्रिया राख्नुहोस्