हतियारसहित नेपाल पसेका एसएसबीलाई स्थानीय युवाले लखेटे
शनिबार बन्दोबस्तीका सामानसहित नेपाल प्रवेश गरेका भारतीय सीमा सुरक्षा बल (एसएसबी)का ६ जनालाई स्थानीयबासीले धपाइदिएका छन् । समाचार अनुसार सुदूरपश्चिमको कञ्चनपुरको दक्षिणी सीमावर्ती क्षेत्रमा डोरी, क्यामेरा र हतियारसहित रहेका उनीहरूलाई स्थानीयवासीले अनुमति बिना नेपाल प्रवेश गरेको भन्दै आइतबार फिर्ता पठाएका हुन् ।
उनीहरु जिल्लाको बेलौरी नगरपालिका–१० भुडास्थित नेपाल–भारत सीमा क्षेत्रबाट नेपाल प्रवेश गरेका थिए । भारतीय सुरक्षाकर्मीहरु हतियारसहित नेपाल प्रवेश गरेपछि बेलौरी नगरपालिका–१० का वडा सदस्य रामनाथ चौधरीले अनुमति लिएको छ कि छैन भनेर सोध्दा कसैलाई सोधेका छैनौँ भनेपछि युवाहरू मिलेर लखेटेको बताउनुभयो ।
नेपाली प्रशासनसँग समन्वय नगरी सीमा स्तम्भ निरीक्षण गर्ने भन्दै हतियारसहित एसएसबीका सुरक्षाकर्मी नेपाल प्रवेश गरेका थिए । बेलौरी नगरपालिका वडा नम्बर १० को नेपाल भारत सीमा स्तम्भ नम्बर ३५ देखि नाप्दै आइरहेको एसएसबी ३४ र ३३ नम्बर सीमा स्तम्भ भएको क्षेत्रमा हतियारसहित पुगेपछि धपाएको वडासदस्य चौधरीले बताउनुभयो ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले भारतीय पक्षले समन्वय नै नगरी नेपाली भूमिमा प्रवेश गरेको बताउँदै नेपाल भारत सीमा स्तम्भको निरीक्षण गर्दा नेपाली पक्षसँग समन्वय गर्नुपर्नमा भारतीय पक्षले समन्वय नगरेको जानकारी दिनुभयो ।
यद्यपि प्रमुख जिल्ला अधिकारी महतोले उनीहरु नेपाल पस्नुको कारण सामान्य रहेको बताउँदै नेपाल–भारतका सीमामा रहेका सीमा स्तम्भहरू हेरफेर भएको छ कि छैन भनेर निरीक्षण गरेका र एसएसबीले गर्ने नियमित गस्ती भएको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्