अर्थकृषि

चितवनमा उत्पादित सयपत्री र मखमली फूलको माला बेलायत, हङ्कङ र दुबई निर्यात

चितवनमा उत्पादित सयपत्री र मखमली फूल तथा माला बेलायत, हङ्कङ र दुबई निर्यात हुन थालेको छ । पूर्वी चितवनको कालिका नगरपालिका–पदमपुरका चार दाजुभाइले व्यावसायिक रूपमा उत्पादन गरेको फूल तथा माला ती देशमा पठाइएको हो ।

स्थानीय गोविन्द बाँस्तोलाको परिवारले उत्पादन गरेका तीन हजार सयपत्री र दुई हजार मखमलीका माला हङ्कङ पठाएको छ । यसैगरी, ५०० वटा विशिष्ट व्यक्तिका लागि तयार गरिएका (भिआइपी) माला र ५०० किलो सयपत्री फूलका थुङ्गा पनि हङ्कङ पठाइएको बाँस्तोलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार एक हजार सयपत्रीका माला र एक हजार किलो फूलका थुङ्गा दुबई तथा ५०० वटा मखमलीका माला बेलायत पठाइएको छ । ती देशमा रहेका नेपाली व्यवसायीले चितवनबाट माला खरिद गरेर लगेका हुन् ।

सात वर्षअघि पाँच कठ्ठा जमिनबाट सुरु गरिएको व्यावसायिक फूलखेती अहिले १० बिघामा विस्तार भएको छ । त्यसमध्ये पाँच बिघामा तिहारलाई लक्षित गरी फूलखेती गरिएको छ भने बाँकी जमिनमा बेमौसमी फूल उत्पादन हुँदै आएको छ ।

बाँस्तोलाका अनुसार उत्पादित माला नेपाली बजारमा प्रतिगोटा रु ८० र विदेशमा रु १०० मा बिक्री हुने गरेको छ । परिवारका चार दाजुभाइमध्ये तीन जनाले विभिन्न विषयमा स्नातकोत्तर गरेका छन् । गोविन्द चितवन मेडिकल कलेजमा अध्यापन गर्नुहुन्छ ।

कोरोना महामारीका कारण रोजगारी गुमेपछि सुरु गरिएको फूलखेतीबाट अहिले वार्षिक रु ७० देखि ८० लाखसम्मको कारोबार हुने गरेको उहाँले बताउनुभयो ।

सुरुमा तीन जनाको समूहले फूलखेती थालेको भए पनि अहिले परिवारका चार दाजुभाइ मिलेर व्यवसाय सञ्चालन गरिरहेका छन् । “सुरुमा सहकार्य गर्नुभएका साथीहरू परिस्थिति सहज भएपछि आआफ्नो कार्यक्षेत्रमा फर्किनुभयो । अहिले हामी परिवारका चार दाजुभाइ मिलेर व्यवसाय सञ्चालन गरिरहेका छौँ,” उहाँले भन्नुभयो ।

विसं २०८० बाहेक अन्य वर्षमा फूलखेतीबाट राम्रो आम्दानी भएको बाँस्तोलाले बताउनुभयो । यस वर्ष तिहारलाई लक्षित गरी पाँच बिघा जमिनमा लगाइएको फूलबाट ३० देखि ४० हजार माला र ५०० किलो फूल उत्पादन गर्ने लक्ष्य राखिएको छ । अन्य समयमा मासिक छ हजारभन्दा बढी माला उत्पादन हुने गरेको उहाँले जानकारी दिनुभयो ।

यस वर्षको तिहारमा २० देखि २५ जनालाई रोजगारी दिएर करिब रु २५ लाख आम्दानी गर्ने लक्ष्य राखिएको छ । चितवनमा उत्पादित फूलको मुख्य बजार काठमाडौँ, पोखरा, हेटौँडा, बुटवल, धनगढी, नेपालगञ्ज र बागलुङलगायत सहर हुन् ।

उत्पादित फूलमध्ये करिब ४० प्रतिशत चितवनमै खपत हुने र बाँकी अन्य जिल्लामा बिक्रीका लागि पठाइने बाँस्तोलाले बताउनुभयो ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.