जलवायु नेतृत्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा अर्थमन्त्री वाग्ले
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिकी पत्रिका टाइम ले सोमबार सार्वजनिक गरेको विश्वका १०० प्रभावशाली जलवायु नेताको सूची ‘टाइम १०० क्लाइमेट २०२६’ मा समेटिनुभएको छ। उक्त विधामा समेटिनुभएका १९ व्यक्तिमध्ये उहाँ एक मात्र अर्थमन्त्री हुनुहुन्छ।
जलवायु संकट समाधानमा योगदान पुर्याउने तथा विश्वव्यापी जलवायु नीति र बहसलाई प्रभावित गर्ने व्यक्तिहरूलाई विभिन्न विधाअन्तर्गत छनोट गरिन्छ। सूचीमा उहाँ ‘नेतृत्व’ विधाअन्तर्गत छनोट हुनुभएको हो।
टर्किएमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१) मा नेपालबाट सहभागी हुनुभएका अर्थमन्त्री वाग्लेको यो अन्तर्राष्ट्रिय पहिचानले जलवायु संकटबाट प्रभावित नेपालका मुद्दालाई विश्वमञ्चमा उठाउन उहाँले गर्नुभएको पहललाई थप महत्त्व दिएको छ।
सम्मेलनमा नेपालको सहभागितासँगै जलवायु न्याय, अनुकूलनका लागि वित्तीय सहयोग र जलवायुजन्य विपद्बाट भएको क्षतिको सम्बोधन नेपालको प्राथमिकताका विषय बनेका छन्।
टाइम १०० क्लाइमेट पत्रिकाले हरेक वर्ष सार्वजनिक गर्ने जलवायु नेतृत्वसम्बन्धी सूची हो। जलवायु परिवर्तनको चुनौती सामना गर्न नीति निर्माण, वित्त, विज्ञान, व्यवसाय, सामाजिक अभियान र सार्वजनिक नेतृत्वका क्षेत्रमा उल्लेखनीय प्रभाव पार्ने विश्वभरका १०० व्यक्तिलाई यसमा समेटिन्छ।
अमेरिकाको न्यूयोर्कबाट प्रकाशित हुँदैआएको खसोखास खबरका अनुसार यस वर्षको ‘नेतृत्व’ विधामा अर्थमन्त्री वाग्लेसहित १९ जना समावेश हुनुभएको छ। सूचीमा ग्लोबल इनर्जी एलायन्स फर पिपुल एन्ड प्लानेटका प्रमुख कार्यकारी अधिकृत उछोङ उम, अफ्रिकन एडाप्टेशन एक्सेलरेशन प्रोग्रामकी प्रमुख संयोजक एडिथ ओफोना अडेरा हुनुहुन्छ ।
यसै गरी युनिभर्सिडाड क्याटोलिका डे चिलेका प्राध्यापक हुआन कार्लोस मुन्योज, न्युयोर्कबाट अमेरिकी प्रतिनिधिसभा सदस्य निडिया भेलाज्क्वेज, युटाका गभर्नर स्पेन्सर कक्स, युरोपेली संसद् सदस्य मोहम्मद शाहिम, आरइएन२१ का अध्यक्ष रामन मेन्देज गालेन, क्यालिफोर्नियाका स्टेट सिनेटर बेन एलेन, द नेचर कन्जरभेन्सीका ग्लोबल बोर्ड अध्यक्ष बिल फ्रिस्ट र बर्कले, क्यालिफोर्नियाका दिगोपना कार्यक्रम संयोजक एमोन रेगनलगायत हुनुहुन्छ।
वाग्लेलाई उक्त सूचीमा समावेश गर्नुको प्रमुख आधार जलवायु संकटका कारण नेपालले भोगिरहेको क्षति र त्यसको क्षतिपूर्तिका लागि उहाँले अन्तर्राष्ट्रिय समुदायसमक्ष गर्नुभएको पहललाई मानिएको छ।
टाइममा सोमबार प्रकाशित उहाँको परिचयमा गत अगस्टमा नेपालको हिमाली क्षेत्रमा चट्टान र हिउँको पहिरोपछि आएको बाढीले एक हजार पाँच सयभन्दा बढी मानिसको ज्यान लिएको र हजारौँलाई विस्थापित बनाएको घटनालाई उल्लेख गरिएको छ।
विश्वको कुल हरितगृह ग्यास उत्सर्जनमा न्यून योगदान गर्ने नेपालजस्ता विकासोन्मुख मुलुकले जलवायु परिवर्तनको सबैभन्दा ठूलो असर भोग्नुपरेको वास्तविकतालाई पनि उहाँको परिचयमा औँल्याइएको छ।
जलवायु परिवर्तनमा नेपालको योगदान नगण्य भए पनि त्यसको असर नेपाली जनताले असमान रूपमा भोग्नुपरेको भन्दै अर्थमन्त्री वाग्लेले अन्तर्राष्ट्रिय समुदायलाई जिम्मेवार बन्न आग्रह गर्दै आउनुभएको छ।
विपद्पछि उहाँले विश्वका तीन ठूला हरितगृह ग्यास उत्सर्जक मुलुक चीन, अमेरिका र भारतसँग जलवायुजन्य क्षतिको क्षतिपूर्तिका लागि औपचारिक अनुरोधसमेत गर्नुभएको थियो।
बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि करिब पाँच अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरिएको छ। उक्त रकम जुटाउन अर्थमन्त्री वाग्लेले जलवायु परिवर्तनका कारण क्षति बेहोरेका मुलुकलाई सहयोग गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघअन्तर्गत स्थापना गरिएको ‘हानि तथा क्षति कोष’ बाट नेपाललाई सहायता उपलब्ध गराउन पहल गर्नुभएको थियो।
उहाँको पहलपछि अक्टोबर २२ मा संयुक्त राष्ट्रसंघले उक्त कोषबाट नेपालका लागि २१.६ मिलियन अमेरिकी डलर अस्थायी रूपमा स्वीकृत गरेको थियो। कुनै निश्चित विपद्का लागि उक्त कोषबाट रकम स्वीकृत गरिएको यो पहिलो घटना हो।
टर्किएमा जारी कोप–३१ सम्मेलनमा नेपालको सहभागिताले पनि जलवायुजन्य विपद्बाट बढी प्रभावित मुलुकका रूपमा नेपालले उठाउँदै आएको जलवायु न्याय र क्षतिपूर्तिको मुद्दालाई अन्तर्राष्ट्रिय तहमा थप स्थापित गर्ने अवसर प्रदान गरेको छ। अर्थमन्त्री वाग्लेको अन्तर्राष्ट्रिय पहिचानलाई नेपालको जलवायु कूटनीति र जलवायु वित्त प्राप्तिका लागि भइरहेका प्रयाससँग जोडेर हेरिएको छ।
दिगो आर्थिक विकासका क्षेत्रमा करिब २८ वर्षदेखि सक्रिय रहनुभएका वाग्लेले अध्येता, नीतिनिर्माता र निर्वाचित जनप्रतिनिधिका रूपमा काम गर्नुभएको छ। उहाँले विश्व बैंक र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) मा समेत उच्च तहमा रहेर जिम्मेवारी सम्हाल्नुभएको छ।




प्रतिक्रिया राख्नुहोस्