क्रिकेटखेल

न्युजिल्यान्डलाई २२ रनले हराउँदै भारतले जित्यो एकदिवसीय शृङ्खला

तीव्र गतिका बलर अर्शदीप सिंहले तीन विकेट लिएपछि, भारतले आइतबार न्युजिल्यान्डविरुद्धको निकै प्रतिस्पर्धात्मक पाँचौं तथा अन्तिम एकदिवसीय अन्तरराष्ट्रिय खेल २२ रनले जितेको छ । यस जितसँगै भारतले शृङ्खला ३–१ ले आफ्नो पक्षमा पारेको छ ।

दुई सय १० रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्यान्डले महत्वपूर्ण समयमा विकेट गुमायो । टोली १८७ रनमा समेटियो र सात वर्षयता पहिलो पटक घरेलु मैदानमा एकदिवसीय शृङ्खला हार्न पुग्यो ।

माउन्ट माउन्गानुईको बलरहरूलाई सहयोग पुग्ने वातावरणमा भारतीय तीव्र गतिका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे । यसमा अर्शदीप सिंहको भूमिका मुख्य रह्यो; उनले १० ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । कम स्कोर बनेको यस शृङ्खलामा उनले कुल आठ विकेट हात पारे ।

सत्ताईस वर्षीय अर्शदीपले चौथो खेलमा शतक प्रहार गरेका विल योङ (२२ रन) र निक केली (२४ रन) लाई सस्तैमा आउट गर्दै घरेलु टोलीलाई दबाबमा पारे ।

त्यसपछि उनले अलराउन्डर क्रिस्टियन क्लार्क (१६ रन) लाई पनि पेभेलियन फर्काए । न्युजिल्यान्डले अन्तिमतिर खेल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन; टोलीका लागि डिन फक्सक्रोफ्टले सर्वाधिक ३१ रन बनाए ।

न्युजिल्यान्डका बलरहरू ज्याकब डफी र मिचेल सान्टनरले समान तीन–तीन विकेट लिए । भारतीय टोली ४२.१ ओभरमा २०९ रन बनाएर अलआउट भएको थियो ।

रोहित शर्मा र विराट कोहली जस्ता दिग्गज खेलाडीहरू सस्तैमा आउट भएपछि भारत ३४–३ को कमजोर स्थितिमा पुगेको थियो । तर, अक्षर पटेल र इशान किशनले समान ४६ रन बनाउँदै टोलीको इनिङ्स सम्हाले । पूरा शृङ्खलाभरि नै ब्याट्सम्यानहरू रन बनाउन सङ्घर्षरत देखिए ।

वर्षाले प्रभावित दुई खेल जितेर भारत २–० ले अघि थियो, जबकि तेस्रो खेल वर्षाका कारण रद्द भएको थियो । त्यसपछि शुक्रबार भएको चौथो खेलमा न्युजिल्यान्डले भारतलाई ८९ रनमै समेट्दै २४४ रनको विशाल जित निकालेको थियो ।

आइतबारको खेलमा न्युजिल्यान्डले केही कमजोर टोली मैदानमा उतारेको थियो । बिहीबार वेलिङ्टनमा सुरु हुने दुई खेलको टेस्ट शृङ्खलाको तयारीका लागि न्युजिल्यान्डका धेरै प्रमुख खेलाडीहरूलाई विश्राम दिइएको थियो ।(रासस/एएफपी)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.