जापान

इरान युद्ध, प्रतिकूल मौसम र भूकम्पले जापानी अर्थतन्त्रमा सुस्तता

इरान युद्धका कारण बढेको मुद्रास्फीति, प्रतिकूल मौसम र भूकम्पको प्रभावले जापानको अर्थतन्त्र चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा सुस्ताएको सरकारी तथ्याङ्कले देखाएको छ ।

सोमबार सार्वजनिक तथ्याङ्कअनुसार जुलाईदेखि सेप्टेम्बरसम्मको अवधिमा जापानको अर्थतन्त्र अघिल्लो त्रैमासिकको तुलनामा शून्य प्रतिशतले वृद्धि भएको छ ।

यो अर्थतन्त्र शून्य दशमलव १ प्रतिशतले विस्तार हुने विश्लेषकहरूको अनुमानभन्दा कमजोर हो । यसअघि अप्रिलदेखि जुनसम्मको तीन महिनामा अर्थतन्त्र शून्य दशमलव ४ प्रतिशतले विस्तार भएको थियो ।

मध्यपूर्वको द्वन्द्वका कारण निरन्तर बढिरहेको मुद्रास्फीति उपभोक्ताको खर्चमा आएको सुस्तताको प्रमुख कारण बनेको छ । कमजोर येनका कारण आयातित वस्तुको मूल्यसमेत बढेको छ ।

वार्षिकीकृत आधारमा जापानको अर्थतन्त्र शून्य दशमलव १ प्रतिशतले संकुचित भएको छ । जबकि विश्लेषकहरूले शून्य दशमलव २ प्रतिशतले वृद्धि हुने अनुमान गरेका थिए ।

तेलको मूल्यमा भएको वृद्धिले जापानको आयात खर्च बढाउनुका साथै उपभोक्ताले खरिद गर्ने वस्तुको मूल्यसमेत महँगो बनाएको छ ।

ताजा खाद्यवस्तुको मूल्यलाई बाहेक गरेर गणना गरिएको मुद्रास्फीति दर सेप्टेम्बरमा तीव्र रूपमा बढ्दै जापानको केन्द्रीय बैंकले निर्धारण गरेको दुई प्रतिशतको लक्ष्यभन्दा माथि पुगेको छ ।

यसले तेस्रो त्रैमासिकमा वास्तविक निजी उपभोग शून्य दशमलव ३ प्रतिशतले घट्नुको कारण आंशिक रूपमा स्पष्ट पार्छ । यसअघि अप्रिलदेखि जुनसम्मको अवधिमा पनि निजी उपभोगमा समान दरले गिरावट आएको थियो ।

तर, प्रतिकूल मौसमले पनि उपभोक्ताको खर्च घटाउन भूमिका खेलेको हुन सक्ने ब्लुमबर्ग इकोनोमिक्सका तारो किमुराले बताउनुभएको छ । उहाँका अनुसार आँधी र भारी वर्षाका कारण उपभोक्ता किनमेलका लागि पसलसम्म जान सकेनन् ।

यसैगरी, खुद निर्यातमा पनि गिरावट आएको छ । यसले आर्थिक वृद्धिमा थप दबाब सिर्जना गरेको छ । जुलाईमा जापानको दक्षिणपश्चिमी टापु क्युशुमा गएको भूकम्पका कारण केही उद्योगका कारखाना बन्द हुँदा निर्यात प्रभावित भएको थियो ।

सरकारले अघि सारेका आर्थिक सहयोगका कार्यक्रम र व्यावसायिक लगानीमा आएको सुधारले पनि अर्थतन्त्रलाई सकारात्मक वृद्धिको अवस्थामा पुर्‍याउन सकेनन् ।

क्यापिटल इकोनोमिक्सका मार्सेल थिलियन्टले तेस्रो त्रैमासिकमा वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) स्थिर रहनु विश्लेषकहरूको औसत अनुमानभन्दा केही कमजोर भएको बताउनुभएको छ । उहाँका अनुसार तथ्याङ्कका विस्तृत विवरण पनि निराशाजनक छन् ।

यद्यपि, तथ्याङ्क सार्वजनिक हुनुअघि मित्सुबिसी यूएफजे रिसर्च एन्ड कन्सल्टिङका प्रमुख अनुसन्धानकर्ता शुम्पेई फुजिताले इरानको बिग्रँदो परिस्थितिबाट उत्पन्न चुनौतीका बाबजुद जापानको आन्तरिक अर्थतन्त्रले आफ्नो लचिलोपन कायम राखेको बताउनुभएको थियो ।

विश्लेषकहरूका अनुसार पछिल्लो आर्थिक वृद्धिदर कमजोर भए पनि बढ्दो मुद्रास्फीतिको दबाबका कारण जापानको केन्द्रीय बैंकले डिसेम्बरमा पुनः ब्याजदर बढाउने सम्भावना घट्ने देखिँदैन ।

थिलियन्टले मुद्रास्फीति तीव्र रूपमा बढ्न लागेको अवस्थामा केन्द्रीय बैंकले आफूहरूले अनुमान गरेभन्दा पनि आक्रामक रूपमा मौद्रिक नीति कसिलो बनाउनुपर्ने अवस्था देखिएको बताउनुभएको छ ।

जापानको केन्द्रीय बैंकले गत महिना मुद्रास्फीति दर दुई प्रतिशतको लक्ष्यमा पुगेको जनाएको थियो । अर्थतन्त्रलाई अपस्फीतिको अवस्थाबाट बाहिर निकाल्ने उद्देश्यले उक्त लक्ष्य निर्धारण गरेको १३ वर्षभन्दा बढी समयपछि जापानले यो उपलब्धि हासिल गरेको हो ।

यसैबीच, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को प्रक्षेपणअनुसार सन् २०२७ मा विश्वका ठूला अर्थतन्त्रको सूचीमा जापान छैटौँ स्थानमा झर्ने सम्भावना छ । त्यसबेला भारत र जर्मनीले जापानलाई उछिन्ने अनुमान गरिएको छ । (एएफपी)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.