कतारमा जारी फिफा विश्वकप फुटबलमा आश्चर्यजनक नतिजा निकाल्ने क्रममा एसियाली मुलुक जापानले आज चारपटकको विश्वकप विजेता जर्मनीलाई पराजित गरेको छ ।
यसपटकको विश्वकप विजेताको भविष्यवाणी गरिएको अर्जेन्टिना साउदी अरेबियासंग पराजित भए जस्तै जर्मनी जापानसंग २(१ले पराजित हुन पुगेको हो ।
खालिफा इन्टरनेशनल मैदानमा भएको समूह इ को खेलमा एसियाली राष्ट्र जापानले एक गोलले पछि परेको स्थिति उल्टाउँदै जर्मनीमाथि शानदार जित निकालेको हो । जापानले अन्तिम १५ मिनेटमा दुई गोल फर्काउँदै ३ अंक जोडेको हो ।
वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका रित्सु दोअन र ताकुमा असानोले जापानको लागि गोल गरे । जापान र जर्मनी विश्वकपमा पहिलो पटक भिड्दा नै जापानले जित हात पारेको हो । यसअघि भएका दुई मैत्रीपूर्ण खेलमा भने जर्मनी जापानसँग अपराजित थियो ।
खेलको ३३औं मिनेटमा एल्काए गुन्डागोनको पेनाल्टी गोलमा जर्मनीले पहिले अग्रता लिएको थियो । पहिलो हाफकै इन्जुरी टाइममा काइ हाभार्टले गरेको गोल भिएआरले अफसाइड दियो । पहिलो हाफमा अग्रता बनाएको जर्मनीले त्यसलाई कायम राख्न सकेन भने जापानले उत्कृष्ट पुनारगमन गर्यो ।
७१औं मिनेटमा मैदान प्रवेश गरेका दोअनले ७५औं मिनेटमा गोल गर्दै खेल १(१ को बराबरीमा ल्याए । त्यसपछि ८३औं मिनेटमा असानोले को इटाकुराको पासमा उत्कृष्ट गोल गर्दै जापानलाई अग्रता दिलाए । असानो ५७औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।




प्रतिक्रिया राख्नुहोस्