नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको चुनाव चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गरेका व्यक्ति अर्को पार्टीमा आबद्ध भए विधानअनुसार कारबाही गरिने चेतावनी दिनुभएको छ ।
पार्टी केन्द्रीय कार्यालयमा आजदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै उहाँले पार्टीभित्र समानान्तर गतिविधि सञ्चालन नगर्न र विधानको पालना गर्न आग्रह गर्नुभयो ।
एकै पार्टीका दुईवटा महाधिवेशन हुन नसक्ने उल्लेख गर्दै उहाँले छुट्टै महाधिवेशनको गतिविधिमा संलग्न हुने तथा पार्टी सदस्य रहेर अर्को पार्टीको निर्वाचनमा सहभागी हुनेहरूलाई विधानअनुसार कारबाही गरिने बताउनुभयो ।
सभापति थापाले भन्नुभयो, “अहिले यहाँ भइरहेको कांग्रेसको अधिवेशन हुँदै होइन। एउटै पार्टीको दुई वटा अधिवेशन हुँदैन । एक पछि अर्को मान्दै साथीहरूको कुरा पनि सुन्दै जोडेर यहाँसम्म पुगेको हो। अझै पनि जोड्छु। तर यसको एउटा सीमा हुन्छ। कांग्रेसमा अहिलेसम्म समस्या थिएन। तर अब कांग्रेस छोडेर अर्को पार्टीको सदस्या लिने हो भने विधानले प्रष्ट बनाउँछ।”
राष्ट्रिय सभा तथा स्थानीय तहमा कांग्रेसको चुनाव चिह्नबाट निर्वाचित भएर अर्को पार्टीतर्फ खुलेका जनप्रतिनिधिप्रति लक्षित गर्दै उहाँले पार्टी विधान कार्यान्वयन गर्नु आफ्नो जिम्मेवारी भएको स्पष्ट पार्नुभयो ।
सभापति थापाले पार्टीभित्र असन्तुष्ट रहेका नेता तथा कार्यकर्तालाई एकताबद्ध गर्ने प्रयास जारी रहेको बताउँदै त्यसको पनि सीमा हुने उल्लेख गर्नुभयो ।
साथीहरूको कुरा सुन्दै र उनीहरूलाई समेट्दै यहाँसम्म आइपुगेको भन्दै उहाँले पार्टी छाडेर अर्को दलको सदस्यता लिने गतिविधि भने विधानले स्पष्ट रूपमा सम्बोधन गर्ने बताउनुभयो ।
देउवाको षड्यन्त्रपूर्वक पार्टी कब्जा भएको आरोप

यसअघि कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन पक्षधरले षड्यन्त्रपूर्वक पार्टी कब्जा गरेको आरोप लगाउँदै गत वर्ष भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आफू र पत्नी आरजु राणा देउवामाथि आक्रमण भएको तथा जेनजी युवाहरूले आफूहरूलाई बचाएको दाबी गर्नुभएको थियो ।
देउवाले आफूहरूलाई मार्ने प्रयास भएको तर जेनजी युवाहरूले उद्धार गरेको बताउँदै घटनामा ५० वर्षमाथिका केही व्यक्तिहरू संलग्न रहेको आरोप लगाउँदै विशेष महाधिवेशन पक्षधरले आफूलाई मार्न खोज्नेहरूलाई टिकट दिएको आरोप लगाउनुभयो ।
देउवाले सनाखत नगरी सदस्यहरूको यकिन गरेर गरिएको महाधिवेशन वैधानिक नभएको जिकिर गर्नुभएको थियो । उहाँले कांग्रेस षड्यन्त्रपूर्वक कब्जा गरिएको दाबी गर्दै पार्टीभित्रको विवादलाई थप चर्काउनुभएको छ ।




प्रतिक्रिया राख्नुहोस्