खेलफूटबल

विश्वकप फुटबल : मोरक्को र क्रोयसिया विजयी हुँदा स्पेन र जर्मनी बराबरी

कतारमा जारी फिफा विश्वकप फुटबलमा आइतबार भएको दोस्रो खेलमा मोरक्कोले बेल्जियम तथा क्रोएसियाले क्यानडालाई पराजित गरेको छ । त्यस्तै आइतबार विहान सम्पन्न अर्को खेलमा विश्वकपका दावेदार स्पेन र जर्मनीले बराबरी खेलेका छन् ।

समूह चरणको दोस्रो खेलमा मोरक्कोले बेल्जियमलाई पराजित गर्दै विश्वकपमा पहिलो जीत दर्ता गरेको छ । मोरक्कोले बेल्जियमलाई २-० गोलअन्तरले पराजित गरेको हो ।

मोरक्कोका लागि अब्देलहामिद साबिरीले खेलको ७३औँ मिनेटमा ‘फ्रि किक’मार्फत् गोल गरेका हुन् । खेलको दोस्रो हाफको अतिरिक्त समयमा जाकारिया अबोउखलालले गोल गरेपछि मोरक्कोले २-० को जीत हात पार्यो । जीतसँगै समूह एफमा मोरक्को शीर्षस्थानमा उक्लिएको छ । मोरक्कोले दुई खेलमा चार अङ्क जोडेको छ ।

त्यस्तै कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा भएको खेलमा क्रोएसियाले क्यानडालाई ४–१ गोल अन्तरले हराउँदै पहिलो जित दर्ता गरेको हो । क्रोएसियाको जितमा आन्द्रेज क्रमारिचले दुई गोल गरे भने मार्को लिभाजा र लेभ्रो माजेरले समान एक एक गोल थपे गरे ।

यसैगरी क्यानडाका अल्फान्सो डाभिसले एक गोल फर्काए । खेलमा सुरुआती अग्रता भने क्यानडाले बनाएको थियो । खेलको दोस्रो मिनेटमा डाभिसले गोल गर्दै क्यानडालाई अग्रता दिलाएका थिए तर, खेलको ३६ औँ मिनेटमा क्रोएसियाका क्रमारिचले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

यसपछि खेलको ४४ औँ मिनेटमा लिभाजाले गोल गर्दै क्रोएसियालाई २–१ को अग्रता दिलाए । खेलको ७० औँ मिनेटमा क्रमारिचले व्यक्तिगत दोस्रो गोल गर्दै क्रोएसियालाई ३– १ को अग्रता दिलाए । यसपछि खेलको इन्जुरी समयमा माजेरले गोल गर्दै क्रोएसियालाई ४–१ को जित दिलाए ।

यस जितसँगै समूह ‘एफ’ को क्रोएसियाले दुई खेलमा चार अङ्क जोडेको छ । क्यानडाको यो लगातार दोस्रो हार हो र क्यानडा प्रतियोगिताबाट बाहिरिएको छ ।

उता अल बेयत रङ्गशालामा बिहान सम्पन्न खेलमा स्पेन र जर्मनीले १–१ गोलको बराबरी खेल्दै अङ्क बाडेका हुन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलको ६२ औँ मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई १–० को अग्रता दिलाएका थिए ।

यसपछि खेलको ८३ औँ मिनेटमा जर्मनीका खेलाडी निकलस फूलक्रुगले गोल गर्दै खेललै १–१ गोलको बराबरी ल्याए । यस बराबरीसँगै समूह ‘ई’ बाट दवबै टोलीको नकआउट सम्भावना कायम रहेको छ । स्पेनले दुई खेलमा चार अङ्क जोडेको छ भने जर्मनी दुई खेलमा एक अङ्क जोडेर पुछारमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.