राजनीति

आफूहरु अभिभावक बनेर नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्न डा. लोहनीको आग्रह

पार्टीको राष्ट्रिय महाधिवेशनको एकदिन अघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पार्टी अब नयाँ पुस्तामा हस्तान्तरण गरेर आफूहरु अभिभावकीय भूमिकामा बस्नुपर्ने बताउनुभएको छ ।

मंगलबार पत्रकार सम्मेलन गर्दै डा. लोहनीले राप्रपा अध्यक्षका उम्मेदवार राजेन्द्र लिङ्देनको समर्थन गर्दै नयाँ नेतृत्वलाई काम गर्ने मौका दिन अर्का दुई अध्यक्षलाई आग्रह गर्नुभएको हो ।

राप्रपाको अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गर्नुभएको छ । वर्तमान अध्यक्ष पशुपतिशम्शेर जबराले चुनाव नलड्ने घोषणा गर्नुभएको छ भनेअर्का अध्यक्ष डा. लोहनीले लिङ्देनलाई समर्थन गर्नुभएको छ ।

यसैको औपचारिक जानकारी दिन मंगलबार आयोजित कार्यक्रममा अध्यक्ष लोहनीले भन्नुभयो “म अन्य दुई अध्यक्षलाई पनि पार्टीको हितमा अभिभावकीय भूमिका निर्वाह गर्न र नयाँ नेतृत्वलाई काम गर्ने मौका दिन अनुरोध गर्दछु ।”

मुलुकका प्रमुख राजनीतिक दलहरुमा दशकौंदेखि एकै नेतृत्वबाट चलिरहँदा पार्टीहरु गतिशील हुन नसकेको र नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण हुनुपर्ने माग पनि भैरहेका बेला प्रायःजसो पार्टीमा पुरानै नेतृत्वको निरन्तरताले गति लिइरहेको छ ।

केही दिनअघि नेकपा मालेको महाधिवेशन सकियो र सो पार्टी स्थापनाकालदेखि सिपी मैनालीकै नेतृत्वमा चलिरहेको छ । त्यस्तै नेकपा एमालेको अध्यक्षमा केपी ओलीकै निरन्तरता हुनेमा शंका छैन ।

एमालेमा ओलीलाई सर्वसम्मत बनाउने प्रयासमा डा. भीम रावलले चुनौति दिएर नयाँ सुरुवात गरेको भए पनि रावलले गुट खडा गरेको आरोप लगाउनेहरुको कमी छैन ।

राप्रपाका शीर्ष नेताहरु अभिभावकको भूमिकामा बसेर नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने हो भने यो एउटा नयाँ युगको सुरुवात हुनेछ । महाधिवेशन गर्न लागेको कांग्रेसका नेता, कार्यकर्तामा पनि नयाँ नेतत्व चयनका लागि हिम्मत मिल्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.